प्रधानमन्त्री ओलीको एपेन्डिसाइटिस फुटेको थियो, इलेक्टिभ भेन्टिलेटरमा उपचार हुँदै

बुधबार, मंसिर ११, २०७६



काठमाडौं । सोमबार रातीबाटै स्वास्थ्यमा समस्या आएपछि  हिजो(मंगलबार) बिहानै अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओली अहिले त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरको आईसीयूमा छन् । प्रधानमन्त्री पूर्ण होसमा रहेको र स्वास्थ्य अवस्था स्थिर रहेको सोमबार साँझ प्रधानमन्त्रीलाई भेट्न पुगेका स्वास्थ्य मन्त्री भानुभक्त ढकालले जानकारी दिएका छन् ।

पेटमा समस्या देखिएपछि मंगलबार बिहानै अस्पताल भर्ना भएका ओलीको दिउँसो १२ः४५ बजे एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो । शल्यक्रियापछि प्रधानमन्त्री ओलीलाई सघन उपचार कक्षको भेन्टिलेटरमा राखिएको छ । र, यो इमर्जेन्सी भेन्टिलेटर नभएर इलेक्टिभ भेन्टिलेटर मात्र हो ।

चिकित्सकहरुकाअनुसार इलेक्टिभ भेन्टिलेटरमा इमर्जेन्सी अवस्थामा राखिने नभएर इमर्जेन्सी अवस्था आउनुअघिको पूर्व तयारीका लागि राखिन्छ । शरीरका अंगहरुले राम्रो काम गरिरहेपनि कुनै बेला इमर्जेन्सी अवस्था आइलागे शरीरका अंगहरुलाई सहयोग पुगोस् भनेर इलेक्टिभ भेन्टिलेटर राखिन्छ । साथै जटिल अप्रेसनपछि इलेक्टिभ भेन्टिलेटरमा राख्दा संक्रमण कम हुने सम्भावना हुन्छ ।

यसअघि अस्पतालले विज्ञप्तीमार्फत् नै ओलीमा एपेन्डिसाइटिस तथा पेरिटोनाइटिस भएको जानकारी दिएको थियो ।  ग्यास्ट्रोइटेस्टाइनल  सर्जन प्रा. डा. कमल कोइरालाका अनुसार पेरिटोनाइटिस भनेको एपेण्डिसाइटिसको जटिल अवस्था हो । यो रोगभन्दा पनि इमर्जेन्सी अवस्था हो।

एपेण्डिस फुटेर पिप तथा अन्य विकार पदार्थहरु पेटभरि पुगेको अवस्थालाई पेरिटोनाइटिस भनिन्छ । अर्थात एपेण्डिसबाहिर तर पेटभित्र संक्रमण फैलिनुलाई पेरिटोनाइटिस भनिन्छ । यो सामान्यतया एपेण्डिसाइटिस भन्दा जटिल हो ।  डा. रमेशसिंह भण्डारीसहितको टोलीले ओलीको एपेन्डिसाइटिसको शल्यक्रिया गर्नुका साथै लेपेरोटोमी पनि गरेको थियो ।

“प्रधानमन्त्री अस्पताल आइपुग्दा एपेन्डिक्सको वरिपरी पीप थियो,” उपचारमा संलग्न एकजना चिकित्सकले भने, “एपेन्डिक्स फुटेको अवस्थामा यस्तो हुन्छ । उहाँलाई तत्कालै शल्यक्रिया गर्नुपर्ने भन्दा उहाँले अहिले पर्दैन होला भन्नुभएको थियो । उहाँलाई यसबारेमा जानकारी गराएपछि तयार हुनुभएको हो । अहिले उहाँको स्वास्थ्य अवस्था स्थिर छ ।”

उपचारमा संलग्न चिकित्सकले थप समस्या आउन सक्ने सम्भावना औल्याउँदै अझै ३ दिन अस्पतालमै राख्नु पर्ने बताएका छन् । अस्पतालले  मंगलबार साँझ ७ः३० बजे पुन: एकपटक विज्ञप्ती निकाल्दै प्रधानमन्त्रीको स्वास्थ्य अवस्था स्थिर रहेको जानकारी दिएको छ ।

सामान्य विरामीलाई पनि शल्यक्रियापछि गाह्रो हुने बताउँदै स्वास्थ्य मन्त्री ढकालले प्रधानमन्त्रीको भर्खरै मिर्गौलाको डायलाइसिस गरिएकोले विशेष सावधानी अपनाइएको जानकारी दिए । प्रधानमन्त्री ओलीको तीन दिनअघिमात्र ग्राण्डी अस्पतालमा तेस्रो डायलाइसिस गरिएको थियो ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata