राष्ट्रिय सुरक्षाको सबैभन्दा बलियो किल्ला जनता हुन्ः प्रम ओली

सोमवार, बैशाख २४, २०७५



काठमाडौँ
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको राष्ट्रिय सुरक्षाको प्रश्न उन्नत स्तरमा पुगेको बताएका छन ।

राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयको सोमबार आयोजित १७ वार्षिकोत्सव समारोहमा उनले नागरिक, देश र स्वाभिमान लगायत समग्र सुरक्षासम्बन्धी अवधारणामा नेपाल उन्नत स्तरमा पुगेको स्पष्ट पारेका हुन् ।

राष्ट्रिय सुरक्षा र विकासको प्रश्नमा जनताको अवधारणा र मानसिकता के छ भन्ने कुरा महत्वपूर्ण हुने बताउँदै प्रधानमन्त्री ओलीले हाम्रा सुरक्षा अंगले निकै महत्वपूर्ण योगदान गरेको उल्लेख गरेका छन्।

राष्ट्रिय सुरक्षा बलियो बनाउन सबैभन्दा पहिला जनतामा राष्ट्रियताको भावना प्रवद्र्दन गर्न आवश्यक रहेको बताउँदै उनले “राष्ट्रिय सुरक्षाको सबैभन्दा बलियो किल्ला भनेका जनता भएकाले राष्ट्रिय हित र सार्वभौमसत्ता प्रतिको अडान तथा भौगोलिक अखण्डता र स्वाभिमानप्रति दृढ हुनुपर्नै बताए ।

जानेर होस् वा नजानेर जुनसुकै उद्देश्य लिएको भए पनि राष्ट्रिय सुरक्षा र आन्तरिक अमनचयनमा खलल पार्नेजस्ता नेपालको हित नहुने काम कारवाही भइरहेको बताउँदै प्रधानमन्त्री ओलीले राष्ट्रिय अखण्डतामाथि समेत धावा बोल्ने देशद्रोही आपराधिक र अनुचित क्रियाकलाप देखापरेको उल्लेख गरे।

कहिलेकाहीँ जनताको नाममा, स्वभाविक असन्तुष्टिका रुपमा, इतिहासमा विभिन्न कारणले पछि परेको बहानामा, विगतमा भएका असमानताको जगमा टेकेर भड्काउने, बिथोल्ने र उत्तेजना फैलाउन सक्नेप्रति सजग र सचेत भएर काम गर्न सुरक्षा परिषद् सचिवालयलाई निर्देशन दिँदै प्रधानमन्त्री ओलीले सुरक्षा भनेको भूमि र मानवको सुरक्षा भन्ने बुझेर काम गर्न सुझावसमेत दिएका छन ।

हाम्रो देश निर्भय वातावरणमा रहेको, निर्भय अवस्थामा रहने, हाम्रो भूमि मिच्न, नदिने थिचोमिचो र हेपाइमा पर्न नदिने उनको भनाई थियो ।

राष्ट्रिय सुरक्षालाई नीतिगत, व्यवहार र प्रयासबाट थप सुदृढ तुल्याउने प्रतिबद्धता जनाउँदै प्रधानमन्त्री ओलीले राष्ट्रिय सुरक्षाको विषय अघि बढाउँदा आर्थिक, सामाजिक र वातावरणीय पक्षलाई पनि हेक्का राखेर काम गर्ने प्रतिबद्धता जनाएका छन।

कसैको दासत्व, पराधीन र उपनिवेश नस्वीकारेका कारण नेपाल गौरव गर्ने हैसियत राख्दछ भन्दै प्रधानमन्त्री ओलीले “हाम्रो गौरवपूर्ण परम्परा, दासत्व स्वीकार गर्न नजान्ने परम्परा, हार्न नजान्ने र नमान्ने परम्परा नेपालले सदैव कायम राख्ने बताएका हुन् ।

रक्षामन्त्री एवं सुरक्षा परिषद्का सदस्य ईश्वर पोखरेलले राष्ट्रिय सुरक्षा नीतिको परिमार्जन, राष्ट्रिय प्रतिरक्षा नीति र राष्ट्रिय सुरक्षा परिषद् ऐन निर्माण तथा सचिवालय सुदृढीकरणका कामलाई रक्षा मन्त्रालयले उच्च महत्वका साथ अगाडि बढाइरहेको जानकारी दिए ।

सुरक्षा परिषद् सचिवालयका सदस्य–सचिव एवं रक्षा मन्त्रालयका सचिव विष्णुप्रसाद लम्सालले संविधानको मर्म र भावनाअनुरुप राष्ट्रिय सुरक्षा परिषद् र यसको सचिवालयको सुदृढीकरण आवश्यक रहेको बताएका हुन ।

परिषद्ले नेपालको समग्र राष्ट्रिय हित, सुरक्षा र प्रतिरक्षासम्बन्धी नीति तर्जुमा गर्न तथा नेपाली सेनाको परिचालन वा नियन्त्रण गर्नका लागि नेपाल सरकारलाई सिफारिस गर्ने कार्यदिशा पाएको छ ।

राष्ट्रिय सुरक्षा परिषद् सचिवालयको स्थापना २०५८ फागुन २७ गते भएको थियो । नेपालको संविधानको धारा २६६ मा राष्ट्रिय सुरक्षा परिषद्को व्यवस्था रहेको छ ।

53 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank