देवकोटाको जन्मघरलाई सङ्ग्रहालय बनाउने प्रधानमन्त्रीको घोषणा

बिहिबार, कार्तिक २२, २०७५



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले महाकवि लक्ष्मीप्रसाद देवकोटाको काठमाडौँ डिल्लीबजार, धोबीधारास्थित जन्मघर किनेर सङ्ग्रहालय बनाउने घोषणा गरेका छन् । देवकोटा जयन्त्तीको अवसरमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको शालिकमा माल्यार्पण गरिंदै ।

प्रधानमन्त्री ओलीको अग्रसरतामा महाकवि देवकोटाको ११०औँ जन्मजयन्तीका अवसरमा मदन भण्डारी कला, साहित्य प्रतिष्ठानले बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरेको कार्यक्रममा उनले देवकोटा विलक्षण प्रतिभा र बौद्धिक व्यक्तित्व भएकाले उनको कृतित्व र व्यक्तित्वबारे भावी पुस्तालाई जानकारी दिनका लागि सङ्ग्रहालयको आवश्यकता रहेको बताएका हुन् ।

प्रधानमन्त्री ओलीले देवकोटाका परिवारसँग कुरा गरेर उपयुक्त मूल्यमा भग्नावशेषको अवस्थामा रहेको सो घर खरिद गरी ‘रोक्टोफिटिङ’ गरेर देवकोटा कसरी पलेटी कसेर लेख्थे भन्नेसम्मका स्मृति झल्काउन सरकारले सङ्ग्रहालय बनाउने उद्घोष गर्दा सहभागी स्रष्टाहरुले तालीले स्वागत गरेका थिए ।

महाकविको उक्त जन्मघर हाल जीर्ण अवस्थामा छ भने नजिकैको नयाँ घरमा उनका छोरा डा पदमप्रसाद देवकोटा बस्दै आएका छन् । विसं १९६६ कात्तिक २७ गते लक्ष्मीपूजाका दिन जन्मिएका र विसं २०१६ भदौ २९ गते निधन भएका महाकावि देवकोटाका ‘मुनामदन’, ‘सुलोचना’, ‘शाकुन्तल’ ‘पहाडी पुकार’ लगायत दर्जनौँ लोकप्रिय कृति प्रकाशित छन् । उनी पूर्व शिक्षामन्त्रीसमेत हुन् ।

46 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank