केपी ओली आज प्रधानमन्त्री, देउवाले आजै राजीनामा दिने

बिहिबार, फाल्गुन ३, २०७४



काठमाडौं  ।

एमाले अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्रीमा नियुक्ति गर्न वाम गठबन्धनले बिहीबार राष्ट्रपतिसमक्ष दाबी प्रस्तुत गर्ने भएको छ। निर्वाचन आयोगले प्रतिनिधिसभा समानुपातिकतर्फको नतिजा बुधबार राति राष्ट्रपतिलाई बुझाएसँगै वाम गठबन्धनले सरकार गठनका लागि आफूसँग स्पष्ट बहुमत रहेको भन्दै राष्ट्रपतिसमक्ष प्रधानमन्त्री पदमा दाबी गर्न लागेको हो।

राष्ट्रपतिबाट ओलीलाई बिहीबार नै प्रधानमन्त्रीमा नियुक्त गर्ने एमाले उच्च स्रोतको दाबी छ। एमाले र माओवादी केन्द्रको एकता संयोजन समितिले एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्रीमा नियुक्तिका लागि बिहीबार राष्ट्रपतिसमक्ष दाबी गर्ने र पार्टी एकताका बाँकी काम टुंग्याउन बिहीबार पुनः समितिको बैठक बस्ने निर्णय गरेको थियो। एमाले र माओवादीबीच पार्टी एकतासँगै पहिलो तीन वर्ष ओली र त्यसपछिको दुई वर्ष माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउने सहमति भएको छ।

उक्त सहमतिअनुसार एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष दाहाल बिहीबार बिहान ९ बजे राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटघाट गरी ओलीलाई प्रधानमन्त्री बनाउन दाबी गर्ने तयारी भएको ओलीको सचिवालयले जनाएको छ।

विगतमा संसद्बाट मात्र नयाँ सरकार गठन हुने व्यवस्था रहेकोमा नयाँ संविधानले राष्ट्रपतिबाट प्रधानमन्त्रीको नियुक्तिसम्बन्धी व्यवस्था गरेको छ। संविधानको धारा ७६ मा प्रतिनिधिसभामा बहुमत प्राप्त संसदीय दलको नेता, त्यो नभए दुई वा दुई दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गर्ने व्यवस्था छ।

देउवाले राजीनामा दिने 

प्रधानमन्त्री शेरबहादुर देउवाले आज राष्ट्रका नाममा सम्बोधन गरेर राजीनामा दिने भएका छन् । निर्वाचन आयोगले बुधबार प्रतिनिधिसभाको निर्वाचन परिणाम राष्ट्रपतिसमक्ष पेस गरेपछि प्रधानमन्त्रीले बिहीबार राजीनामा दिने भएका हुन् । कानुनतः निर्वाचन आयोगले राष्ट्रपतिसमक्ष निर्वाचन परिणाम बुझाएपछि स्वतः नयाँ सरकार गठन प्रक्रिया सुरु हुन्छ ।

देउवाले  बिहान ९ बजे मन्त्रिपरिषद्को अन्तिम बैठक बोलाएका छन् । प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारका अनुसार अन्तिम मन्त्रिपरिषद्को बैठकलगत्तै प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्ने तय भएको छ । ‘प्रधानमन्त्रीज्यूले बिहीबार बिहान ९ बजे मन्त्रिपरिषद्को अन्तिम बैठक बोलाउनुभएको छ, त्यसलगत्तै राष्ट्रका नाममा सम्बोधन गरेर नयाँ सरकारका लागि मार्गप्रशस्त गर्नुुहुनेछ,’ परियारले भने ।

नयाँपत्रिकाका अनुसार बुधबार नै मन्त्रिपरिषद्को बैठक बस्ने र प्रधानमन्त्रीले राजीनामा दिने तयारी भए पनि बिहीबारका लागि सारिएको उनले बताए । प्रधानमन्त्रीको सचिवालय स्रोतका अनुसार निर्वाचन आयोगले निर्वाचन परिणाम राष्ट्रपतिसमक्ष पेस गर्न ढिलाइ गरेका कारण बिहीबारको मन्त्रिपरिषद्को बैठक स्थगित गरिएको हो ।

अब सरकार गठन प्रक्रिया अघि बढ्छ : राष्ट्रपति
निर्वाचन परिणाम प्रतिवेदन बुझ्दै राष्ट्रपति विद्यादेवी भण्डारीले अब नयाँ सरकार गठन प्रक्रिया अघि बढाउने बताएकी छिन् । उनले निर्वाचन परिणाम प्राप्त भइसकेकाले सरकार गठन प्रक्रिया सुरु हुने बताएको निर्वाचन आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

228 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank