प्रधानमन्त्री र मुख्यमन्त्रीहरूबीच असमझदारी किन ?

मङ्लबार, भदौ २६, २०७५



काठमाडौँ । मुलुकमा तीन तहका सरकार छन् । केन्द्र, प्रदेश र स्थानीय तहका सरकारका आ–आफ्नै सीमा र कर्तव्य छन् । कतिपय विषय संविधानमै स्पष्ट गरिएका छन् भने कतिपय विषय कानुनद्वारा स्पष्ट पार्नुपर्नेछ । तर, यही बेलामा प्रधानमन्त्री र मुख्यमन्त्रीबीच असमझदारी देखिएको छ ।

मुख्यमन्त्रीहरूको चिन्ता छ–‘कतै काम गर्न नसकेर राजनीतिक भविश्य नै धरापमा पर्ने त होइन ?’ फाट्टफुट्ट असन्तुष्टि आइरहेका बेला प्रधानमन्त्री केपी ओलीले सात वटै प्रदेश सभामा संबोधन गरे । प्रदेशको विकास र केन्द्र सरकारको भूमिकाबारे प्रधानमन्त्रीले बताइरहँदा मुख्यमन्त्रीहरूलाई लाग्यो –‘केन्द्रीय सरकारको छायाँमा प्रदेश सरकार पर्न सक्छ ।’
मुख्यमन्त्रीहरूले पोखरामा भेला नै गरेर केन्द्र सरकारसँगको असहमतिको सूची नै तयार पारे । अन्तर प्रदेश परिषद बैठकमा ती असहमति राख्ने तयारी मुख्यमन्त्रीहरूको रहेपनि अचानक परिषद बैठक स्थगित भयो ।

केन्द्र सरकार र प्रदेशबीच पछिल्लो समय कर्मचारी खटनपटन, सुरक्षा निकाय परिचालनलगायत विषयमा असमझदारी बढदै गएको छ । परिषद् बैठक अनिश्चितकालका लागि सरेपछि संघ र प्रदेशबीचको दूरी झन् बढेको छ । परिषदको अध्यक्ष प्रधानमन्त्री हुने संवैधानिक व्यवस्था छ ।

७ मध्ये ६ प्रदेशमा मुख्यमन्त्री नेकपाकै नेता छन् । प्रदेश २ मा पनि सत्तारुढ दल संघीय समाजवादी फोरमका नेता मुख्यमन्त्री छन् । एउटै पार्टीका नेताहरूबीच अविश्वास किन भन्ने प्रश्न गहन रुपमा उठेको छ ।

अहिले आरोपप्रत्यारोप र अविश्वास बढाउने भन्दा काम गरेर देखाउने बेला छ । संवैधानिक अड्चन समेत तोड्न सक्ने जनमत पाएको सरकार सानातिना विवादमा फस्दा वा काममा अल्मलिदा जनतामा विस्तारै निराशा छाउन थालेको छ ।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले संघीय प्रणाली कागजमा मात्र लागू हुँदा जटिलता उत्पन्न भएको बताउँछन् । व्यवहारमा लागु नभएसम्म प्रदेश सरकारले सोचे अनुसारको काम गर्न नसक्ने उनको तर्क छ । पोखरा भेलापछि अविश्वास बढेको उनले स्वीकारे ।

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सञ्चालनमा देखिएका समस्या समाधानका लागि परिषद् उपयुक्त थलो हुने बताउँछन् ।

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले भने प्रधानमन्त्रीलाई अप्ठ्यारो पर्ने ढंगले मुख्यमन्त्रीहरूको भेलाले निर्णय नगरेको दावी गरे ।

401 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank