दुई किलो अफिम र बाइस किलो चरेससहित दुई पक्राउ

मङ्लबार, अशोज २४, २०७४



काठमाडौँ । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले दुई किलो अफिम र २२ किलो चरेससहित दुईजनालाई पक्राउ गरेको छ ।

ब्युरोबाट खटिएको टोलीले अफिम र चरेसहित सोमबार धादिङका दर्जबहादुर तामाङ र मकवानपुरका राजकुमार मोक्तानलाई पक्राउ गरेको हो ।

ब्युरोले आज पत्रकारसम्मेलन गरी तामाङसँग एक किलो अफिम, १२ किलो चरेस, दुई हजार नेपाली रुपैयाँ र तौल गर्ने मेसिन एक थान तथा मोक्तानसँग एक किलो अफिम, १० किलो चरेस, सात हजार नेपाली रुपैयाँ र ५८ हजार भारतीय रुपैयाँसहित पक्राउ गरिएको जानकारी दिएको छ ।

सम्मेलनमा ब्युरोका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक ठूले राईले तामाङ र मोक्तान लामो समयदेखि लागुऔषध कारोबारमा सक्रिय रहेको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको जानकारी दिए ।

यसैगरी महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले लागुऔषधसहित तीनजनालाई पक्राउ गरेको छ । प्रभागबाट खटिएको टोलीले बारादेखि काठमाडौँ आउँदै गरेको ना७ख ८७९ नंको यात्रुवाहक बसमा लागुऔषध लिएर आउँदै गरेको अवस्थामा बाराका लक्ष्मण शाह, जोगिन्दर सहर्नी र काभ्रेका गोपाल श्रेष्ठलाई पक्राउ गरेको हो ।

प्रभागका प्रमुख ऋषिराम घर्तिमगरले दुईवटा झोलामा कम्बलभित्र लुकाएर ल्याएको अवस्थामा प्रहरीले जाँच गर्दा फेला पारेको बताउनुभयो । पक्राउ परेकासँग ५६२ एम्पुल लागुऔषध तथा एक हजार ४०८ ट्याब्लेट नाइट्रेपाम बरामद गरिएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata