पशुपतिको साँझको आरति अघि राष्ट्रगान बजाउन छाडियो

मङ्लबार, भदौ २४, २०७६



काठमाडौं ।  पशुपतिनाथ मन्दिर परिसरमा हुने साँझको आरतीमा अघि राष्ट्रगान बजाउन छाडिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको निर्देशनमा आरती अगाडि राष्ट्रगान बजाउन थालिएको थियो । तर संस्कृतिविदहरुले नै त्यसको आलोचना गरे ।

नजिकै घाटमा शवहरु जलिररहेका बेला छेवैमा राष्ट्रिय गान किन गाउनुपर्‍यो भन्ने प्रश्न धेरैले गरेका छन् । पर्यटनमन्त्री भट्टराई पनि यो तर्क नाजायज नभएको बताउँछन् ।

 मन्त्री भट्टराई भन्छन्, ‘राष्ट्रिय गान नगाउँदा पनि त्यहाँ आरती भइरहेको थियो । तलतिर शव पनि जलिरहेकै हुन्थ्यो । आरती एक प्रकारले उत्सव नै हो । त्यसैले आरतीको पार्ट अलग हो, तलको दुःख अलग्लै पार्ट हो । दुबैलाई एक ठाउँमा राखेर हेर्न भएन ।’

पशुपति आरती समितिले सोमबार भने आरती अगाडि राष्ट्रगान बजाएन । ‘पशुपति विकास कोषले निर्देशन आयो भनेपछि हामीले राष्ट्रगान बजाएर परीक्षण गरेका थियौं’, समितिका सदस्य रमेश पोखरेल भने, ‘तर, विभिन्न टिकाटिप्पणी भएकाले बजाउन छाडिएको हो ।’

पशुपति क्षेत्र विकास कोषका पूर्वसदस्य सचिव गोविन्द टण्डनका अनुसार साँझको आरती गर्ने ठाउँको तल्लोपट्टि अर्धजल दिने ठाउँ छ । त्यसैको पारिपट्टि घाट छ । कुनै पनि मानिस जीवनको अन्तिम अवस्थामा पुगेको छ भने गोडा बाग्मती नदीमा डुबाएर मुखमा पशुपतिको जल खुवाउन अर्धजल दिने ठाउँमा राखिन्छ । त्यसैको पारि एक र दुई नम्बरको घाट छ ।

‘कुनै व्यक्ति जीवनको अन्तिम क्षणमा भएका बेला होस् वा चितामा जलिरहेको अवस्थामा होस्, आफन्तजन शोकाकुल अवस्थामा हुन्छन्,’ पूर्वसदस्य सचिव टण्डन भन्छन्, ‘त्यहीबेला आरती गर्नुपूर्वको राष्ट्रिय गान बज्यो भनेर के गर्ने ?’

जब कि राष्ट्रिय गान बजेका बेला सबैजना उभिएर दायाँ हात देब्रे छातीमा राखेर राष्ट्रप्रति सम्मान प्रकट गर्ने गरिन्छ । ‘राष्ट्रिय गान बजेपछि अब ती मानिसहरु रुन छोडेर उभिन सक्छन् ?,’ टण्डन भन्छन्, ‘यसरी राष्ट्रगानको महत्व बढ्दैन ।’

उनले भने, ‘२०६४ सालदेखि बाग्मतीप्रति सचेतना, पशुपतिप्रति सम्मान गर्न शुरु गरिएको हो र, त्यही रुपमा चलिआएको थियो । हामी विवादमा फस्न चाहन्नौं ।’

उनकाअनुसार अहिलेसम्म यसबारे समितिले लिखित निर्देशन समेत पाएको छैन । राष्ट्रगानप्रति आफूहरुको सम्मान रहेको भन्दै उनले लिखित निर्देशन आएको अवस्थामा पनि विज्ञहरुसँग परामर्श गरेर मात्र निर्णय लिइने बताए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments