प्रदेश ४ ले अाज संसदमा सयबुँदे नीति तथा कार्यक्रममा ल्याउदै

सोमवार, बैशाख ३, २०७५



पोखरा । प्रदेश नं ४ को सरकारले आज नीति तथा कार्यक्रम ल्याउँदै छ । प्रदेश सरकार गठन भएको २ महिनापछि असारसम्मका लागि नीति तथा कार्यक्रम संसदमा पेश हुन लागेको हो । दिउँसो २ बजे बस्ने संसदमा सयबुँदे नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ ।

प्रदेश प्रमुख बाबुराम कुँवरले संसदमा पेश गर्ने उक्त नीति तथा कार्यक्रमले प्रदेश ४ को विकास र समृद्धि सम्बोधन गरिने छ । प्रदेश ४ को समृद्धिका लागि पर्यटन, ऊर्जा, कृषि र उद्योग मुख्य आधार मानिएको छ । प्रदेश ४ का आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानले मुख्य ४ आधारलाई प्राथमिकतामा राखेर प्रदेशले अन्य कुरालाई पनि कसरी समेट्छ भन्ने सन्देश नीति तथा कार्यक्रमको सयवटा बुँदाले समेट्ने बताए ।

आइतबार बसेको प्रदेश मन्त्रीपरिषदको बैठकले नीति तथा कार्यक्रमलाई अन्तिम रुप दिएको हो । प्रदेशले अंगाल्ने भावी नीति र विकास कार्यक्रममाथि छलफल भएको कानुनमन्त्री चुमानले जानकारी दिए । उनका अनुसार, प्राथमिकताका चार आधारसँगै खनिज, लोकसंस्कृति, खेलकुद, शिक्षा, स्वास्थ्य, खानेपानी लगायतका विषयलाई नीति तथा कार्यक्रममार्फत जोड दिएको छ ।

‘अहिले हामीसँग ठूलो बजेट छैन, असारमा आउने नीति तथा कार्यक्रम र बजेटलाई बल पुग्नेगरी अहिलेको नीति तथा कार्यक्रम प्रस्तुत हुनेछ,’ मन्त्री चुमानले भने, ‘अहिले सकारात्मक सन्देश दिनका लागि मात्रै नीति तथा कार्यक्रम आउने हो ।’ केन्द्रले छुट्याएको १ अर्ब २ करोड रुपैयाँको बजेटमाथि नै अहिलेको नीति तथा कार्यक्रम आउने उनले जानकारी दिए ।

प्रदेश सरकारले राजस्व संकलन, कुल ग्राहस्र्थ उत्पादन, रोजगार लगायतका कुरालाई पर्यटनसँग जोडेर गाउँदेखि सहरसम्मको नागरिकको जीवनस्तरमा सुधार ल्याउन पर्यटनलाई पहिलो प्राथमिकतामा राखेको छ । प्रदेश ४ मा ऊर्जाको अथाह सम्भावना गरेकाले समृद्ध प्रदेशको दोस्रो आधार ऊर्जालाई लिइएको छ । उत्पादनमुखी र व्यावसायीकरण गर्दै र कृषि र उद्योगमार्फत रोजगार सिर्जना गरेर प्रदेशलाई गति दिने प्रदेश सरकारको नीति तथा कार्यक्रममा छ ।

पहिलो मन्त्रिपरिषदको पहिलो बैठकले घोषणा गरेका ८ बुँदे कार्ययोजनालाई सम्बोधन गर्ने काम नीति तथा कार्यक्रमले गर्ने पनि मन्त्री चुमानले जानकारी दिए । मन्त्रिपरिषदको पहिलो बैठकले ५ वर्षभित्र सुविधासम्पन्न अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बनाउने, उज्यालो प्रदेशअन्तर्गत २ वर्षभित्र प्रत्येक गाउँबस्तीमा बिजुली पुर्‍याउने, ५ वर्षभित्र सुविधासम्पन्न क्यान्सर, मुटु र मिर्गौला उपचार केन्द्र स्थापना गर्ने, ५ वर्षभित्र स्थानीय तहको केन्द्रलाई प्रदेश राजधानीसँग स्तरीय सडक सञ्जालले जोड्ने योजना सार्वजनिक गरेको थियो ।

168 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank