पाँचथर कारुणिक नरसंहार, के आत्महत्या गर्ने ज्वाइँ नै थिए त हत्यारा ?

बुधबार, जेष्ठ ८, २०७६



फिदिम  । सोमबार राती पाँचथरको मिक्लाजुङ गाउँपालिका–३ आरुबोटेमा  कारुणिक नरसंहार भयो ।  विभत्स तरिकाले दुई परिवारको ९ जनाको सामूहिक हत्या गरियो । दुई परिवारको वंश नास गर्ने गरी एक युवकद्वारा भएको ९ जनाको सामूहिक हत्याले धेरैलाई स्तब्ध बनाइरहेको छ ।

फ्ग्ग्ग

खुकुरीले हानेर ९ जनाको हत्या भएको केही घन्टा नबित्दै संदिग्ध व्यक्ति पनि रुखमा झुण्डिएको अवस्थामा फेला परे । जसका कारण घटना झन्  रहस्यमय बनेको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानले घटनाको कारण पारिवारिक कलह देखाएको छ । श्रीमती मनकुमारी शेर्मासँग सम्बन्धविच्छेद गर्नुपरेको बदलामा पाँचथरको मिक्लाजुङ–७ लिम्बाका मानबहादुर माखिमले ससुराली र साढु दाइका दुई परिवारका सबै सदस्यको हत्या गरेको प्रहरीको प्रारम्भिक अध्ययनले देखाएको छ ।

सम्बन्धविच्छेदले उब्जाएको द्वन्द्व:

बमबहादुर फियाककी कान्छी छोरी मनकुमारीको पाँच वर्षअघि मानबहादुर माखिमसँग राजीखुशी विवाह भएको थियो । उनीहरुबाट जुम्लाहा बच्चा भए पनि शिशु अवस्थामै मरेका थिए । यसपछि मनकुमार माइतीमै बस्न थालिन् । मनकुमारीले मानबहादुर आफूसँग सम्बन्धविच्छेद गर्न दबाब दिँदै आएकी थिइन् । मृतक मनकुमारीका जेठा भिनाजु रणबहादुर लिम्बूले भने, “सालीले सम्बन्धविच्छेद गर्न चाहने, साढु भाइले नमान्ने । यही कारण द्वन्द्व उब्जिएको थियो ।”

वडाध्यक्ष हस्तराज फियाकका अनुसार उनीहरुबीच हालैमात्र सम्बन्धबिच्छेदको प्रक्रिया अघि बढेको थियो । “मानबहादुरले सम्बन्धविच्छेद गर्न चाहेको थिएनन् तर पनि उनी केही साताअघि सम्बन्धविच्छेदका लागि तयार भएका थिए”, वडाध्यक्ष फियाकले भन्नुभयो, “यो अकल्पनीय घटना सम्बन्धविच्छेद स्वीकारोक्तिको परिणाम हो । हाम्रो सिङ्गो गाउँ आँशुमा डुबेको छ ।”

वडाध्यक्ष फियाकका अनुसार मानबहादुर तीन वर्षदेखि माइतीमा रहेकी श्रीमतीसँग सम्बन्धविच्छेद गर्न नमान्नुको कारण आश्चर्यजनक छ ।

“यता नआए पनि एकोहोरो भएका छन् भन्ने सुनेका थियौँ”, वडाध्यक्ष फियाकले भने, “पछिल्लो पटक उनी लुकिछिपी यहाँ हिँड्ने गरेको सुनिएको थियो ।”

क-कसको हत्या भयो ?

हत्या हुनेहरुमा ३६ वर्षीया जस्मिता फियाक, ४१ वर्षीय धनराज शेर्मा, २६ वर्षीया मनकुमारी फियाक, ६ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, आठ वर्षीया मुना शेर्मा, ७४ वर्षीय बमबहादुर फियाक, बमबहादुरकी श्रीमती र १२ वर्षीया आशिका खजुम लिम्बू रहेका छन् ।

Hatya

बमबहादुरसहित उनकी श्रीमती फुर्चीमाया फियाक, कान्छी छोरी मनकुमार फियाक (माखिम) र बमबहादुरकी साइली छोरीकी छोरी आसिका खजुम, बमबहादुरको घरमा हत्या भएको थियो । यस्तै बमबहादुरका जेठा ज्वाइँ धनराजसहित उनकी श्रीमती अस्मिता फियाक (शेर्मा), उनीहरुका दुई छोरी युहाना र मुना शेर्मा तथा धनराजका भाइकी छोरी इक्सा शेर्माको धनराजको घरमा वीभत्स हत्या भएको थियो । घटनामा आशिकाकी दिदी सीता भने भागेर बाँच्न सफल भएकी छन् । उनको झापामा उपचार भइरहेको छ ।

भागेर ज्यान जोगाउन सफल सीता खुजुमको अवस्था कस्तो छ ?

आक्रमणमा १२ वर्षीया किशोरी सीता खुजुमले भने भागेर ज्यान जोगाउन सफल भइन् । आक्रमणकारीको पञ्जाबाट भागेर ज्यान जोगाउन सफल भएकी किशोरी सीताले मुकुन्डो लगाएर आएको व्यक्तिले हत्या गरेको प्रहरी समक्ष बयान दिइन् ।

कारुणिक नरसंहार : जो भागेर बाँचिन

सीता बमबहादुर फियाकको नातिनी हुन् । सीता मामाघर आएकी थिइन् । आक्रमणबाट सीता पनि गम्भीर घाइते भएकी छिन् । उनको दायाँ हात भाँच्चिएको छ । उनको हाल दमकमा उपचार भइरहेको छ । उनी मानसिक रूपमा विक्षिप्त छिन् ।शरीरका अन्य कुनै पनि भागमा चोट नरहेको प्रहरीले जनाएको छ । चिकित्सक र सुरक्षाकर्मीले उनलाई भेट्न कडाइ गरेका छन् । उनी आत्तिएको अवस्थामा रहे पनि शारीरिक रूपमा भने खतरामुक्त रहेको अस्पताल स्रोतले जनाएको छ ।

प्रहरीले हत्याबारे बिहान मात्र खबर पायो:

राती नै हत्या भए पनि प्रहरीले हत्याबारे बिहान मात्र खबर प्राप्त गरेको थियो । खबर प्राप्त हुनासाथ नजिकैको प्रहरी टोली घटनास्थल पुगेको थियो । घटनास्थलमा पुगेको प्रहरी टोलीले घटनाको सामान्य अनुसन्धान गरिरहँदा सोही गाउँपालिकामा अर्को खबर आयो – वडा नम्बर ७ मा एक युवक झुण्डिएको अवस्थामा भेटियो ।

प्रहरीको एउटा टोली त्यतैतिर सोझियो । प्रहरीले मिक्लाजुङ गाउँपालिका –७ मा एक युवकको झुण्डिएको अवस्थामा शव देख्यो । प्रहरीले लगत्तै अनुसन्धान थाल्यो ।

ह्गध्ग्फ़

प्रहरी अनुसन्धानको क्रममा झुण्डिएर आत्महत्या गर्ने व्यक्तिको पहिचान भयो  –मानबहादुर माखिम । मानबहादुर हत्या गरिएका ७४ वर्षीय बमबहादुर फियाकका कान्छा ज्वाइँ रहेको खुल्यो ।

प्रहरीका अनुसार घटनामा बाँच्न सफल सीता मानबहादुरको सालीकी छोरी हुन् ।

संदिग्ध व्यक्ति रुखमा झुण्डिएको भेटिए:

हत्याका घटनामा प्रहरीले रिसिबीको पक्षलाई विश्लेषण गरेर अनुसन्धान थालेको छ । यो सामूहिक हत्यामा अनुसन्धान ‘न्यारो डाउन’ गर्ने ठाउँ के थियो भने एकआपसमा नाता सम्बन्ध भएका दुई परिवारमा घटना भएको थियो ।

वंश नास गर्ने योजनाका साथ भएको हत्याकाण्डहरुमा पारिवारिक कारण देखिन्छ । ‘हाम्रो प्रारम्भिक आशंका परिवारिक विवादतिर थियो’, एक अनुसन्धान अधिकारी भन्छन् । भागेर ज्यान जोगाएकी सीताले दिएको बयानअनुसार प्रहरीले संदिग्ध व्यक्तिको स्केच बनायो, त्यो पनि परिवारकै सदस्यसँग मिल्दोजुल्दो थियो ।

घटनामा संलग्न व्यक्ति भाग्न सक्ने आशंकामा जिल्लाका सम्पूर्ण नाकामा शील गरियो । संदिग्ध व्यक्तिको खोजी भइरहेका बेला घटनास्थलबाट केही किलोमिटरको दूरीमा एक युवकको शव भेटिएको खबर आयो ।

प्रहरी टोली पुगेर हेर्दा घटनामा बाँच्न सफल बालिकाले दिएको हुलिया अनुसारकै व्यक्ति थिए । मिक्लाजुङ-८ मा भेटिएका उनको पहिचान मानबहादुर माखिमको रुपमा भयो । उनी परिवारकै सदस्य अर्थात घटनामा मारिएका बमबहादुरका कान्छा ज्वाइँ हुन् ।

आत्महत्या गरेको नजिकै भेटियो खुकुरी:

यता, मानबहादुर झुण्डिएको नजिकै रगत लागेको धारिलो हतियार फेला परेको प्रहरीले जनाएको छ । धारिलो हतियार फेला परेसँगै नौ जनाको सामूहिक हत्यामा माखिमको नै संलग्नता हुन सक्ने थप आधार फेला परेको छ । यस्तै माखिमले लगाएको कपडा पनि रगतले लतपतिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

viber_image_2019-05-21_14-31-11-2

प्रहरीले सर्च गर्ने क्रममा नजिकै रगत लत्पतिएको खुकुरी र लुगा भेट्यो । ‘प्रमाणै भेटिएपछिचाहिँ हामी घटना उनैले गराएको भन्ने निष्कर्षमा पुग्यौं’, अनुसन्धान अधिकारी भन्छन्, ‘यद्यपि, केही पाटो बाँकी छ कि भनेर अनुसन्धान गर्ने काम भइरहेको छ ।’

मानबहादुर भाग्न खोजेका थिए ?

अनुसन्धान अधिकारीका अनुसार  मानबहादुरले सोमबार राति झापामा रहेका केही आफन्तलाई फोन गरेको देखिएको छ । यो फोन सम्पर्क दुई परिवारका सदस्यहरुको विभत्स हत्यापछि नै भएको अनुमान गरिएको छ ।

उनले फोन सम्पर्क गरेकाहरुलाई प्रहरीले अनुसन्धानको दायरामा ल्याएको छ । प्रारम्भिक कुराकानीमा बताए अनुसार मानबहादुरले ५ हजार रुपैयाँ सापटी मागेका थिए । ‘पुरानो रोग बल्झियो भन्दै उनले पैसा मागेका रहेछन्’, अनुसन्धान अधिकारी भन्छन् ।

घटनापछि सीमापारि वा अन्यत्र भाग्न पैसा मागेको हुनसक्ने अधिकारीहरुको आशंका छ ।

तर, घटनास्थलबाट करिब डेढ घन्टा हिँडेपछि नै उनले आत्महत्याको बाटो रोजे । रुखमा झुण्डिएको अवस्थामा उनको शव भेटियो ।

सुई मानबहादुरतिर:

सामूहिक हत्या कसले गर्यो भनेर प्रहरीले आधिकारिक रुपमा केही खुलाएको छैन । तर, छिमेकी र परिवारका अन्य सदस्यको बयान र घटनामा बाँच्न सफल सीताको बयानले आत्महत्या गरेका मानबहादुरले हत्या गरेको हुनसक्ने आधारहरु देखाएका छन् ।

मानबहादुर र श्रीमती मनकुमारी फियाकबीच विगत केही वर्षदेखि पारिवारिक विवाद हुँदै आएको बताइएको छ । पारिवारिक विवादका कारण श्रीमती माइतीमा बस्दै आएकी थिइन् ।

सामान्य परिवारका मानबहादुरको श्रीमतीसँग सम्बन्ध राम्रो नभएको र झगडा भइरहने गरेकाले सम्बन्ध विच्छेदको अन्तिम तयारी समेत चलिरहेको थियो ।

यता, सीताले पनि घटनामा एक जना मात्र आक्रमणकारी देखेको बायन दिएको कारण मानबहादुरले पारिवारिक रिसिबीका कारण हत्या गरेको हुनसक्ने प्रहरीको भनाई छ ।

द्फ्दस्फ्फ्द

एकान्तमा घर, कसैले जानकारी पाएन:

गत राति धनराजको घरमा   जस्मिता शेर्मा(धनराजको श्रीमती) को उपचारका लागि धामी राखिएको थियो । धामीलाई धनराजले आफ्नै घरमा बस्ने जिद्दी गरे पनि धामीले मानेनन् । एकान्तमा रहेका दुवै घरमा एक–एक जनामात्रै पुरुष सदस्य थिए । धनराजको घरभन्दा माथि वडा कार्यालय तथा एउटा घर छ तर धनराजको कच्ची घर तल्लोपट्टि फर्किएका कारण घटना स्थानीयले राति जानकारीसमेत पाएनन् । बमबहादुरको घरको छेउमा दुई वटा घर रहे पनि एउटामा एक वृद्ध महिला र अर्कोमा एक युवतीमात्रै बस्दथे । प्रहरी अनुसन्धानले पनि एकान्तको मौकामा सबैमाथि खुकुरी प्रहार भएको देखाएको प्रहरी निरीक्षक पौडेलले उल्लेख गरे ।

नुनमा सिसाको टुक्रा हालेर मार्ने प्रयास:

जब दुई परिवारका ९ जनाको विभत्स हत्या भएको खबर फैलियो, स्थानीयवासीले खानामा सिसाको धुलो हालेको एउटा घटना सुनाए । यसलाई हत्याकाण्डसँग जोडेर हेरिएको छ र, परिवारका सदस्यहरुको हत्या प्रयास यसअघि पनि भएको आशंका गरिएको छ ।

अघिल्लो आइतबार धनराज शेर्माको भान्साघरको नुनमा सिसाका टुक्रा मिसिएको पाइएको थियो । यस क्रममा धनराजका दुई छोरीसहित केही स्थानीय महिला घाइते भएका थिए ।

लघु उद्यम प्रवद्र्धन कार्यक्रमअन्तर्गत धनराजको श्रीमती जस्मिता शेर्मा प्रशिक्षक थइन् । उनैले आफ्नो घरमा नास्ता बनाई प्रशिक्षार्थीलाई खुवाउथिइन् । शिक्षक लुइँटेलका अनुसार सिसाका टुक्रा भेटिएको कुरालाई धनराजले प्रहरीसम्म पुर्याएनन् । बिरामीहरु हालैमात्र फिदिमस्थित समर्पित अस्पतालमा उपचार गरी फर्किएका थिए । “सिसाका टुक्रा लगाएर धनराजको पूरै परिवार मार्ने योजना थियो कसैको”, स्थानीय हरेन्द्र फियाकले भने, “त्यो सम्भव नभएपछि सामूहिक हत्या भएको हुनसक्छ ।”

शव उठाई धरान पठाइयो:

प्रमुख जिल्ला अधिकारी मुरारी वस्तीका अनुसार प्रदेश प्रहरी कार्यालय तथा जिल्ला प्रहरी कार्यालयको प्रहरी टोलीको अनुसन्धानपछि नौवटै शवको मुचुल्का उठाई परीक्षणका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ । “साँझ मुचुल्का बनाई सकिएको छ”, प्रजिअ वस्तीले भने, “भोलिबाट थप अनुसन्धान र शव परीक्षणको काम अघि बढाउन निर्देशन दिएको छु ।” घटनाको अनुसन्धानका लागि तालीमप्राप्त कुकुरसहित सङ्घीय प्रहरी एकाइ धरानबाट प्रहरी वरिष्ठ उपरीक्षक शरद खत्री नेतृत्वको टोली घटनास्थलमा खटिएको थियो ।

घटनाको समग्र अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयले अनुसन्धानका लागि काठमाडौंबाट पठाएको एसपी उमाप्रसाद चर्तुवेदीको टोली पठाएको छ भने प्रदेश र जिल्लाबाट पनि टोली खटिएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank