कोरोना जितेकी पानादेवीलाई नगरपालिकाले शौचालय बनाइदिने

आइतवार, बैशाख १४, २०७७



विश्वभर महामारीका रूपमा फैलिएको कोरोनालाई हराउने कैलालीको लम्किचुहा नगरपालिका–१ लम्की भुरुवाकी पानादेवी विकलाई नगरपालिकाले शौचालय बनाइदिने भएको छ ।

शनिबार गरिएको अन्तर्वार्तामा उनले आफू घरमा एक्लै बसेको तर शौचालय नहुँदा जङ्गल जानुपर्ने बाध्यता रहेको बताएको पढेपछि नगरपालिकाका प्रमुख महादेव बजगाईँले विकका घरमा शौचालय बनाइदिने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

नगर प्रमुख बजगाईँले भने, ‘हामी जाँदा उहाँले शौचालयको समस्या भन्नुभएको थिएन । तर, अन्तर्वार्ता पढेर थाहा पाएँ । पानादेवी विकको घरमा नगरपालिकाले शौचालय बनाइदिन्छ । उहाँलाई अन्य कुनै समस्या भए हामीलाई खुलस्त भने हामी समस्या समाधान गर्ने प्रयत्न गर्छौँ ।’

आफ्ना घरमा नगरपालिकाले शौचालय बनाइदिने कुरा सुनेपछि विक खुसी भएकी छिन् । ‘मेरो एउटै सपना थियो शौचालय बनाउने, त्यो सपना नगरपालिकाले पूरा गरिदिने भयो, निकै खुसी छु’ उनले भनिन्, ‘नगरपालिकाका मेयर तथा वडाअध्यक्षलाई धेरै धेरै धन्यवाद दिन्छु, सबैभन्दा धेरै धन्यवाद राष्ट्रिय समाचार समितिलाई मेरो तर्फबाट ।’ रासस

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments