१० सेकन्डको वितण्डा : २५ जनाको मृत्यु, ४ सय बढी घाइते

पाकिस्तानमा भूकम्प

बुधबार, अशोज ८, २०७६



एजेन्सी ।  पाकिस्तान प्रशासित अजाद कश्मीरको मिरपुर क्षेत्रमा हिजो(मंगलबार) बेलुका गएको शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेको संख्या २५ पुगेको छ । हिजो बेलुका ५.८ म्याग्निच्युडको भूकम्प जाँदा अन्य ४ सय घाइते भएका छन् भने भौतिक संरचनामा ठूलो क्षति पुगेको छ ।

भूकम्प बेलुकापख गएको हुँदा रातको समयमा उद्धार कार्य राम्रोसँग हुन नसकेको अधिकारीहरुले बताएका छन् । त्यसपछिको परकम्पका कारण मानिस झन् त्रसित छन् । भूकम्प ४.३३मा गएको थियो भने पहिलो परकम्प  ४ बजेर ४३ मिनेटमैै गएको पाकिस्तानको सरकारी निकायले जनाएको छ । झेलममा गएको पहिलो परकम्प ३ दशमलब ४ रेक्टर स्केलको भएको जनाइएको छ । २४ घण्टाको अवधीमा अन्य परकम्प पनि जान सक्ने अधिकारीहरुले अनुमान गरेका छन् ।

भूकम्पका कारण काश्मीरसहित राजधानी इस्लामाबाद, पञ्जाब, पेसावर लगायतका क्षेत्रको जनजीवन प्रभावित बनेको छ । मृत्यु हुनेमा केही महिला तथा बालबालिका समेत रहेका छन् । घाइतेमध्ये धेरैको अवस्था गम्भीर रहेकाले मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ ।

भूकम्पका कारण सयौं भवनमा क्षति पुगेको छ भनते ग्रामीण क्षेत्रमा टेलिफोन तथा विद्युत सेवा अवरुद्ध बनेको छ । प्रभावित क्षेत्रमा उद्धार तथा राहतको कामलाई तीव्रता दिइएको छ ।

भूकम्पको केन्द्र राजधानी इश्लामाबादबाट ११९ किमी दक्षिण पूर्वको झेलम क्षेत्र हो । सो क्षेत्र मिरपुरमा नै पर्छ । प्रधानमन्त्री कार्यालय मातहतको राष्ट्रिय विपद व्यवस्थापन प्राधिकरणले परकम्प गइरहन सक्ने भएकोले सतर्क रहन भनेको छ ।

मिरपुर भारतको नजिकै रहेको छ । पाकिस्तानका प्रधानमन्त्री इमरान खान संयुक्त राष्ट्र संघको ७४ औं महासभामा भाग लिन अहिले अमेरिकामा छन् । उनले आफ्नो देशमा आएको विपद्प्रति दुःख व्यक्त गर्दै उद्धारमा खटिन मातहतका निकायलाई निर्देशन दिएका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata