न्युजिल्यान्डको पहिलो पराजय,१९९२ दोहोर्‍याउने बाटोमा पाकिस्तान !

बिहिबार, असार १२, २०७६



एजेन्सी । इंग्ल्यान्डमा जारी विश्वकप क्रिकेटमा न्युजिल्यान्डले हार व्यहोरेको छ । सेमिफाइनल पुग्ने सम्भावनालाई जिवितै राख्ने क्रममा न्युजिल्यान्डलाई ६ विकेटले पराजित गरेको छ । जारी विश्वकपमा न्युजिल्यान्डको पहिलो पराजय हो । यसलाई पाकिस्तानले सन् १९९२ को विश्वकपमा गरेको प्रदर्शनसँग तुलना गरिएको छ ।

त्यस समयमा पनि पाकिस्तानले यस्तै नतिजा निकाल्दै विश्वकप नै जितेको थियो । न्युजिल्यान्डले दिएको २३८ रनको लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले खराब सुरुवातका बाबजुद जित दर्ता गरेको हो । दुवै ओनरलाई सस्तैमा गुमाए पनि पाकिस्तानका लागि बाबर आजमले शतक प्रहार गर्दै जित दिलाए ।

१२७ बलको सामना गरेका बाबरले ११ चौका प्रहार गरे । बाबरको विश्वकपमा पहिलो शतक हो भने शतक प्रहार गर्ने पाकिस्तानका दोस्रो युवा खेलाडी हुन् । उनी म्यान अफ द म्याच भए । त्यस्तै, पाकिस्तानको जितमा हरिस सोहइलले ६८ र मोहम्मद हफिजले ३२ रनको योगदान दिए । न्युजिल्याण्डका बोल्ट, फर्ग्युसन र विलियम्सनले एक एक विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले खराब सुरुवात गरेको थियो । तर न्युजिल्यान्डका लागि जेम्स निशाम र कोलिन डि ग्रान्डहोमले उत्कृष्ट प्रदर्शन गर्दै सम्मनजनक योगफलतर्फ अघि बढाए । निशाम ९७ रनमा अविजित रहे भने ग्रान्डहोमले ६४ रनको योगदान दिए । उनीहरुले १३२ रनको साझेदारी गरे ।

स्कोरबोर्डमा ५ रन हुँदा पहिलो विकेट गुमाएको न्युजिल्यान्डले ८३ रन हुँदा पाँच विकेट गुमाइसकेको थियो । न्युजिल्यान्डका लागि कप्तान केन विलिम्यसनले ४१ रन बनाए । बलिङतर्फ शाहिन शाह अफ्रिदीले तीन विकेट लिए ।

यो जितपछि पाकिस्तान पाकिस्तान सात खेल खेल्दै तीन खेलमा जित, तीन खेलमा हार र एक खेलमा पानीको कारण अंक बाँड्दै ७ अंक बनाएको छ । पाकिस्तानले अब अन्तिम दुई खेलमा अफगानिस्तान र बंगालदेशसँग खेल्न बाँकी छ । बंगलादेशलाई हराउन सके पाकिस्तानको सेमिफाइनल यात्रा तय हुनेछ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata