पाकिस्तान विरुद्ध कठोर नीति लिन ट्रम्पलाई सल्लाह

बुधबार, माघ २६, २०७३



काठमाडौं । वाशिङटनका मुख्य थिंक ट्याङ्कहरुले दक्षिण एशियाली मुस्लिम बहुल राष्ट्र पाकिस्तानप्रति कठोर नीति अख्तियार गर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सुझाव दिएका छन् ।

यस सम्वन्धमा उनीहरुले राष्ट्रपतिलाई १८ पानाको गोप्य रिपोर्ट बुझाएका छन् । त्यसमा यस्तो सल्लाह दिएको छ कि, पाकिस्तानले तत्कालनै अफगान, तालिवान र हक्कानी नेटवर्कलाई मदत गर्न रोकोस् । मदत नरोकिए पाकिस्तानलाई आतंकवादलाई प्रायोजित गर्ने देशको रुपमा घोषित गर्नसकिनेछ ।

सूत्रका अनुसार यो रिपोर्ट नेसनल सेक्युरिटी काउन्सिल, गुप्तचर संस्था सीआईए, पेन्टागन र विदेश विभागलाई पठाइसकिएको छ । यो रिपोर्टको विशेष महत्व किन छ भने यसलाई हेरिटेज फाउन्डेसन र हडसन इन्स्टिच्युटको तर्फबाट जारी गरिएको हो, जुन ट्रम्प प्रशासनसँग निकै नजिक रहेको विश्वास गरिन्छ ।

यसलाई खासगरी अमेरिकामा पाकिस्तानका पूर्वराजदूत हुसेन हक्कानी र दक्षिण एशिया मामलाका जानकार लिसा कर्टिसले लेखेका हुन् । लिसा कर्टिस अमेरिकी विदेश मन्त्रालयको कुनै महत्वपूर्ण भूमिकामा नियुक्त हुन सक्ने सम्भावना पनि व्यक्त गर्न थालिएको छ ।

रिपोर्टमा ट्रम्प प्रशासनलाई भारत र पाकिस्तान बीचको तनावमा अझै तीव्रताको निम्ति तयार रहन भनिएको छ र परमाणु हतियारबाट सुसज्जित दुवै देशबीच युद्धको अवस्था नआओस् भन्नका खातिर पहिलेदेखि नै योजना बनाउन सल्लाह दिइएको छ । रिपोर्टमा भनिएको छ, ‘पाकिस्तानी अधिकारीहरु बन्द कोठाभित्र अक्सर भन्ने गर्छन् कि लश्कर ए तोयबा र जैश ए मोहम्मद जस्ता गुट अत्यन्त शक्तिशाली छन् र उनीहरुको जरा निकै गहिरो छ, त्यसैले उनीहरुविरुद्ध कारवाही गर्न उति सजिलो छैन ।

अमेरिकाले यी गुटहरुविरुद्ध कारवाही नगर्ने यी बहानाबाजीबाट सन्तुष्ट हुनुको साटो यो स्पष्ट गरिदिनुपर्छ कि ‘उसको जमीनमा सक्रिय सबै आतंकवादी गुटहरुका निम्ति उसलाई जिम्मेवार ठहर गरिनेछ ।’

‘पाकिस्तानका तर्फबाट अझै पनि समुचित कारवाही नभएको खण्डमा अमेरिकाले पाकिस्तानी फौज र आइएसआइका ती अधिकारीहरुको एउटा सूची बनाउनुपर्छ, जसको आतंकवादी गुटसँग सम्वन्ध छ र उनीहरुलाई अमेरिका आउन प्रतिवन्ध लगाइदिनुपर्छ,’ रिपोर्टमा भनिएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata