अदालतमा गाईलाई उभ्याएर मुद्धाको छिनोफानो गरियो !

सोमवार, असार २, २०७६



एजेन्सी । अदालत एक सरकारी निकाय हो । जसले कानुनको शासन अनुसार न्यायिक प्रशासनले नागरिक, आपराधिक र प्रशासकीय मामिलामा कार्य गर्दछ । अदालतमा कुनै पनि मुद्धाको छिनोफानो गर्नको लागि वादी प्रतिवादी, साक्षी आदिको रुपमा मान्छेहरु नै अदालतमा उपस्थित भएको वा पेश गरिन्छ ।

तर यसपटक फरक भयो । मान्छेलाई होइन, एक जनावरलाई अदालतमा उपस्थित गराएर मुद्धाको छिनोफानो गरियो  ।भारतको उत्तर-पश्चिमी प्रान्त राजस्थानमा गाइलाई अदालतमा उपस्थित गराएर  मुद्धाको छिनोफानो गरिएको छ  ।

गाईको स्वामित्वका विषयमा चलिरहेको एक मुद्धाका क्रममा सो गाईलाई नै अदालतमा उपस्थित गराइएको हो ।राजस्थानको जोधपुरस्थित अदालतमा गाईलाई उपस्थित गराएका बखत न्यायाधीशले फैसला सुनाएका छन् ।

विगत एक वर्ष देखि स्थानीय श्याम सिंह र ओमप्रकाश नामका दुई व्यक्तिबीच उक्त गाइको मालिक को हो ? भन्ने विषयमा विवाद चलिरहेको थियो। यस विषयमा स्थानीय पुलिस चौकीमा उजुरी पनि परेको थियो । तर गाई दुवैले आफ्नो हो बताएपश्चात यो मुद्धा थप विवादित बन्न पुग्यो । मुद्धा मिलाउन स्थानीय प्रहरीले अनेक कोसिस गर्यो । तर पुलिस चौकीमा विवाद मिलाउन सकिएन । अन्ततः गत अप्रिलमा सो विवादले अदालतमा प्रवेश पायो ।

अदालतमा पेशीको दिन सो गाईलाई इजलासमा पेश गरियो । तर त्यसदिन न्यायाधीश आफ्नो नियमित इजलास कोठाबाट बाहिर अदालत परिसरमा गाई बाँधिएको ठाउँमा आएरै इजलास खडा गरे ।

त्यसपछि उनले सो गाईको नजिकै आफुलाई मालिक दाबी गर्ने दुवै जना वादी प्रतिवादीलाई उभ्याए । त्यसपछि उनले पालैपालो गाईलाई समाएर घुमाउन तथा सुम्सुम्याउन लगाए । उनले दुवै जनाप्रति गाईले देखाउने प्रतिक्रियालाई निकै गम्भीर ढंगले हेरे । अदालतमा दुवै पक्षको बयान पनि लिइयो । गाईको भौतिक पहिचानीकरण समेत गरिएको थियो ।

यी सबै प्रक्रिया पश्चात् न्यायाधीशले आफ्नो फैसला सुनाए । जस अनुसार उक्त गाईका वास्तविक मालिक ओमप्रकाश रहेको ठहर गर्दै उक्त गाई ओमप्रकाशलाई हस्तान्तरण गर्न समेत अदालतले आदेश दिएको छ ।

गाई कसको हो भन्ने विषय विगत नौ महिना देखि विवादित थियो । विवादित समय अवधि भित्रै गाईले एउटा बाछो पनि जन्माएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata