चन्दा संकलन गरेर अनाथका लागि आवास बनाउँदै अभियान्ता

बुधबार, बैशाख २६, २०७५



बाजुरा ।  अनाथ बालबालिकाका लागि बुढीगंगा नगरपालिका–२ ब्रह्मतोला मलातीमा आवास गृह निर्माण हुने भएको छ ।  कान्छो सामाजिक अभियान्ता केपी खनाल नेतृत्वको टोलीले चन्दा संकलन गरी भवन निर्माण गर्न लागेका हुन् ।

अनाथ बालबालिकाका लागि शैक्षिक वातावरण केन्द्र कन्सन बाजुराको स्वामित्व रहने गरी भवन निर्माण हुन लागेको अध्यक्ष बहादुर थापाले बताएका छन् । पालन पोषण र शिक्षा आर्जनबाट वञ्चित अनाथ बालबालिका लागि लक्षित गरेर भवन निर्माण गर्न लागिएको हो ।

भवनको क्लीन काष्ठमाण्डप कान्छो अभियान्ता केपी खनालले शिलान्यास गरेका छन् । १८ वर्षका खनालले आफ्नै अगुवाईमा भवन निर्माण गर्ने संकल्प सहीत भवनको शिलान्यास गरेका हुन् । भवन निर्माणका लागि ४० लाख बढीको लागत अनुमान गरिएको छ ।
९ जना अनाथ बालबालिकालाई शिक्षा, स्वास्थ्य र संरक्षण दिँदै आएको कन्सन बाजुरा र बहादुर थापाको परिवारको परोपकारी कार्यमा संलग्न हुने र अनाथ बालबालिकाको उज्वल भविष्यका लागि भवन निर्माण अभियानमा साथ दिन लागेको अभियान्ता केपी खनालले बताए ।
अनाथका लागि आवास निर्माण अभियानमा खनाल सहीत रामकृष्ण ढकाल, कन्सन बाजुराका संस्थापक गणेश थापा लगायत लागि परेका छन् । भवनका लागि हालसम्म सामाजिक सञ्जाल मार्फत ७ लाख बढी संकलन भईरहेको र त्यो मध्ये ३ लाख नगद नै खातामा जम्मा भईसकेको अभियान्ता केपी खनालले बताए ।

खनाल भवन शिलान्यासका लागि बाजुरा आएका हुन् । कन्सन बाजुरा २०७२ सालमा स्थापना गरिएको हो । आमा बुबा नभएका र साहरा विहीन अनाथ बालबालिकाको संरक्षण र उनीहरुको शिक्षा स्वास्थ्य उपचारका लागि सयोगार्थ कन्सन बाजुरा स्थापना गरिएको अध्यक्ष बहादुर थापाले बताए ।

सुरुमा अध्यक्ष थापाकै परिवारले ४ जना बालबालिका घरमै राखेर पालन पोषण गरेका थिए । हालपनि संस्थागत रुपमा कन्सन बाजुराले अगुवाई गरेपनि खानपान, शिक्षादिक्षा र संरक्षण सबै बलबहादुर थापा, बहादुर थापाकै परिवारले गरिरहेका छन् ।

घरमै राखिएका अनाथ बालबालिकालाई आवश्यक आवास गृहका लागि जति रकम लाग्छ, सबै संकलनका लागि जिम्मेवारी आफूले लिने शिलान्यास कार्यक्रमममा केपी खनालले उद्घोष गरेका छन् । भवन निर्माणका लागि स्थानीय भीम थापा, दल थापा, जस थापा, गगी थापा, केशरसिंह थापा, ध्वज थापा, नन्द थापा, लाल थापाले जमिन सहयोग गरेका छन् ।

कन्सन बाजुरामा राखिएका नौ जना बालबालिका बसन्त बाल मैत्री आधारभुत विद्यालयमा अध्ययन गरिरहेका छन् । शिक्षा, स्वास्थ्य उपचार, संरक्षण र खान बस्नको सबै व्यवस्था कन्सन बाजुरा र अध्यक्ष बहादुर थापाको परिवारले गरिरहेको छ ।

औपचारिक कार्यक्रमका बीच धार्मीक विधी पूर्वक भवनको शिलान्यास गरिएको हो । छात्रा, छात्र र खान पकाउने गरी तीन वटा भवन निर्माण गर्ने तयारी गरिएको छ । आमा बुबा नभएकै कारण शिक्षा पढ्नबाट वञ्चित भएका र बेसाहारा हुन पुगेका बालबालिकाको साहराका रुपमा स्थापीत गर्ने गरी अभियान सञ्चालन गरिने कन्सन बाजुराका संस्थापक गणेश थापाले बताए ।

हाल जिल्ला भित्रै अनाथ बालबालिकालाई राख्ने गरिएको छ । वर्षको २ जना बढाउने गरिएपनि यो वर्ष तीन जनाको खबर आईसकेको महासचिव पदम भण्डारीले बताएका छन् । अनाथका लागि स्थानीय ब्रह्मतोला गाउँबासीले पनि साग तरकारी, चामल, पीडो दिएर सहयोग गर्ने गरेका छन् । परोपकार नै ठूलो धर्म भएकोले धर्म आर्जनका लागि ब्रह्मतोलाका स्थानीय अनाथलाई सहयोग गर्नु पर्ने गाउँका अगुवा पदमबहादुर थापाले बताएका छन् ।
को हुन् केपी अनाल 

अछाममा जन्मीएका केपी खनाल हाल कैलालीमा बस्ने गर्दछन् । उमेरले १८ वर्ष पुगेका खानल १० वर्षको उमेर देखि नै सामाजिक सेवामा लागेका थिए । टिकापुरमा रहेको रेडियो नमस्तेमा बाल कार्यक्रम सञ्चालन गर्ने बेला देखिनै सेवामा लागेको खानलको भनाई छ ।
भारतको मुम्वईमा मजदुरी गरेका खनालले २०७४ सालको दशै दशा नहोस कसैको भन्ने अभियान चलाएर ४ लाख रकम संकलन गरी कैलालीका अति विपन्न ५५ परिवारलाई सहयोग गरेका थिए ।

khanal

लगत्तै तिहारमा भोकै छ हुम्ला नामक अभियान चलाएर हुम्ला स्थित अदानचुली गाउँपालिकाका २२ परिवारलाई ५ दिनको पैदल हिँडेर आफैले राहत सामाग्री वितरण गरेका थिए । गएको पौष २७ गतेबाट क्लीन काष्ठमाण्डप अभियान चलाएर एकसाथ १७ सय बढी अभियान्तालाई जम्मा गरेर सरसफाइ अभियान चलाएका थिए ।

त्यस लगत्तै म बदलिन्छु मेरो देश बदलिन्छ भन्ने अभियान सञ्चालन गरिरहेका खनालले यसै महिनादेखि अनाथ बालबालिकाका लागि आवास गृह निर्माण अभियान सुरु गरेका छन् । परोपकार र सेवा नै आफ्नो गन्तव्य हुने खनालको भनाई छ ।

96 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank