६ महिनामा १४ प्रतिशत मात्रै खर्च

शनिबार, पुस २८, २०७५

- पदम राज भट्ट



धनगढी। कैलालीमा संघीय सरकारले कार्यान्वयन गर्ने योजनाहरुमा विकास बजेट खर्चको अवस्था विगतका बर्षहरुभन्दा झनै निराशाजनक रहेको छ । चालु आर्थिक बर्षको ६ महिना पुरा हुनै लाग्दा समेत संघीय सरकारले कार्यान्वयन गरिरहेको योजनामा १४ प्रतिशत मात्रै विकास बजेट खर्च भएको छ।

कैलाली जिल्लामा संघीय सरकारले मात्रै ५ अर्व १३ करोड भन्दा बढिको विकास बजेट खर्च गर्नुपर्ने छ तर नयाँ संरचनामा कार्यालय र कर्मचारी व्यवस्थापनमै अन्यौलता रहेकै वेलो बजेट कार्यान्वयनमा समस्या भईरहेको छ। कैलालीमा संघीय सरकारले कार्यान्वयन गर्ने योजनाको प्रगति निराशाजनक देखिएको हो। संघीय सरकारका ५ अर्व १३ करोड वढीका योजनाहरु रहेपनि चालु आर्थिब वर्षको ६ महिना हुन लाग्दा ७२ करोड १४ लाख मात्रै विकास बजेट खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालय कैलालीले जनाएको छ ।

विकास बजेट निराशाजनक रहेकोमा सेवा सुविधा तथा तलब भत्तामा भने ४१ प्रतिशत रकम खर्च भईसकेको छ । २२ अर्व ५० करोड रकममध्ये ९ अर्व २६ करोड रकम सेवा सुविधामा खर्चिदा विकास बजेटको ५ अर्व १३ करोड रकममध्ये ७२ करोड १४ लाख रकम मात्रै खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालय कैलालीका कोष नियन्त्रक मदनराज पाण्डेयले जानकारी दिए ।

अघिल्लो आर्थिक बर्षको यो अवधिमा २५ प्रतिशत विकास बजेट खर्च भएकोमा चालु आर्थिक बर्षमा ११ प्रतिशत कम बजेट खर्च भएको हो । राष्ट्रिय गौरवका आयोजनाहरुको प्रगति पनि आशा गरे अनुसारको हुन सकेको छैन् । मोहना पुल अत्तरीया सडक आयोजनाले ४० करोडमा १९ करोड ८१ लाख अर्थात ४८ प्रतिशत बजेट खर्च हुँदा अरु आयोजनाले प्रगति सन्तोषजनक छैन् ।

संघीय आयोजना कार्यान्वयन ईकाई ईकाईले हालसम्म १ अर्व ६४ करोड वजेट रहेकोमा ३८ करोड ३५ लाख अर्थात २२ प्रतिशत रहँदा रानीजमरा कुलरिया सिंचाई आयोजनाको २ अर्व १२ करोडमध्ये १३ करोड ४३ लाख अर्थात साढे पाँच प्रतिशत मात्रै रकम खर्च भएको छ । हुलाकी सडक आयोजनाको प्रगति भने एक प्रतिशत पनि पुग्न सकेको छैन् ।

४० करोड बजेट रहेको हुलाकीले १९ लाख ८१ हजार अर्थात शुन्य दशमलव ५ प्रतिशत मात्रै विकास बजेट खर्च गर्न सकेको छ । लामो समयसम्म कार्यालय प्रमुख नभएकोले काम हुँदा पनि भुक्तानी हुन नसकेकोले विकास बजेट खर्चको अवस्था कम देखिएको हुलाकी सडक आयोजनाका प्रमुख राम पुकार जैसवालले दावी गरे ।

संघीय सरकारका आयोजना कार्यान्वयन गर्न कैलालीले ५ अर्व १३ करोड विकास बजेट पाएको छ। तर पहिलो ६ महिना हुन लाग्दा भने त्यस्को १४ प्रतिशत अर्थात ७२ करोड १४ लाख मात्रै खर्च गरिएको छ। संघीय सरकारले विनियोजन गरेको विकास बजेट खर्च नहुनुको कारण नयाँ संरचनामा देखिएको अन्योलतालाई लिईएको छ।

अधिकासं बजेट कार्यान्वयन गर्ने संयन्त्र खारेज भएका भएर नयाँ संरचनामा काम अगाडी वढेको छ भने नयाँ संरचनामा कर्मचारी बाडफाड हुँदा विकासे अड्डाहरुमा कर्मचारीको ठुलो समस्या देखिएको कोष तथा लेखा नियन्त्रण कार्यालय कैलालीका कोष नियन्त्रक मदनराज पाण्डेयको बुझाई छ ।

तीन तहको सरकार आएपछि विकास निर्माणका योजनाले गति पाउँला र समृद्धिको मार्ग तय होला भन्ने आशा गरेका जनतामा आएको विकास बजेट पनि खर्च नहुँदा निराशा बढ्दै गएको छ। अव बाँकी रहेको ६ महिनाको अवधिमा पनि आर्थिक बर्षको अन्त्यमा ठुलो विकास बजेट सिद्धाउने परिपाटीमा कुनै सुधार नआउने पक्का देखिएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments