एक टुक्रा पुरानो कागज

मङ्लबार, मंसिर ३, २०७६



पृथ्वीले घटाएको सानो अंश
जब कान्तिपुरको
भित्रीपृष्ठमा
कुनै विज्ञापनले ओगट्न नसकेको ठाउँ
एकाएक भरिन्छ
हार्दिक श्रद्धाञ्जली र समवेदना बनेर
**
म जिन्दगीको पाना पल्टाउँदै
औँलाहरू फेरी एक पटक गन्न थाल्छु
र कतै चुक्छु मेरा गन्तीका दिनहरू
आफन्तहरूको भिडमा एउटा मौन
पहिले भन्दा २१ ग्राम हलुको शरीर
रातो अबिर
पहेँलो पीताम्बर
चन्दनको सुगन्धित धूप
बाटो छोड्ने बटुवाहरू
वैकुण्ठ बास होस् भन्ने
ओरालोको किराना पसलकी वृद्ध आमा
मृत्युमा हतारिएर श्रद्धाञ्जली व्यक्त गर्ने जमात
आगो, खरानी र स्मृति
**
वर्षौँपछि
किलोको भाउमा बेचिन लागेको
कुनै पुरानो किताबको बिचमा
केही छ कि पल्टाउँदै गर्दा
झरेको एक टुक्रा
पहेँलिसकेको पुरानो कागज
*******
त्यसदिन बडो जतनसँग
कैँचीको धारले
मिलाई मिलाई काटेको किनारा
धारसँग त्यस कागजले सोसेको
दुई थोपा आँसुका थुँगाहरू
सिँगारिएको शब्दहरू बिचमा
मुस्कुराएको तस्बिरमा चढाएको
अन्तिम श्रद्धाञ्जली
कसैको पाइलाको आवाजसँग
हतार हतार लुकाएको यादहरू
एक टुक्रा कागजसँगै
भुक्लुक्क उम्लिएको भावनाहरू
र सदाको लागी बन्द गरिदिएको त्यस किताब
***
हो म….
त्यही श्रद्धाञ्जली लेखिएको
कतै राखिएर बिर्सिएको
नहराएको एक टुक्रा पुरानो कागज हुँ

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata