जब श्रीपेचमा सजिएर निस्किए पृथ्वीनारायण शाह,..

आइतवार, पुस २७, २०७६



गोरखा । आइतबार देशभर पृथ्वी जयन्ती मनाइरहँदा गोरखामा झुल्किए पृथ्वीनारायण शाहको भेषमा सजिएर एकजना पुरुष । पृथ्वीनारायणकै झल्को दिने गरी श्रीपेच पहिरिएर, ढाल, तरबार बोक्दै दौरा सुरुवालमा सजिएर एक औंला ठड्याउँदै गोरखा संग्रहालय आसपास एक्कासी देखिएका व्यक्ति हुन्- ओमबहादुर श्रेष्ठ ।

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा  गोरखा नगरपालिका–१ का पदेँलीका ६२ वर्षीय ओमबहादुर श्रेष्ठ विगत तीन वर्षदेखि यसरी जनमानसबीच देखिने गरेका छन् । उनी कसैसँग बोल्दैनन् । बरू बेलाबेला तरबार चलाउँछन् । पृथ्वीनारायणकै झल्को दिने गरी औंला ठड्याइरहन्छन्।

टोलटोलबाट झाँकीसहित र्‍याली कार्यक्रम स्थलतर्फ बढ्दै थियो। उनलाई पृथ्वीनारायणको भेषमा देखेपछि र्‍यालीका सहभागी उनीसँग सेल्फी खिच्नेहरू भिड लाग्यो ।

गोरखा नगरपालिकामै नगर प्रहरीको जागिर खाएर ५८ वर्षको उमेरमा अवकाश पाएका उनले पृथ्वीनारायणलाई नयाँ पुस्ताले नभुलुन् भनेर यस्तो गरेको बताए ।

‘गोरखा महोत्सवदेखि पृथ्वीनारायणको भेषमा हिँड्न थालेको हुँ’, उनले भनेका छन्, ‘पृथ्वीनारायणले देशलाई दिएको योगदानलाई कसैले भुल्न हुँदैन । अब हुने औपचारिक कार्यक्रममा बोलाएमा म यसैगरी प्रस्तुत हुनेछु ।’

उनले पृथ्वीनारायण शाहलाई भुल्नु देशलाई नै भुलेजस्तो हुने पनि बताए । ‘मलाई केही चाहिँदैन तर पृथ्वीनाराण शाहलाई भुल्न हुँदैन’, उनले भने, ‘पृथ्वीनाराणलाई राज्यले पनि सम्मान दिन सक्नुपर्छ ।’ श्रेष्ठ पहिलोपटक नवौं गोरखा महोत्सवमा यस्तै भेषभूषामा देखिएका थिए।

ओमबहादुरले पृथ्वीनाराणयको भेषमा निस्कन काठको तरबार बनाएका छन् भने सानो नाङ्लोलाई ढालमा परिणत गरेका छन् । बाबियो र बिजुलीको बल्ब कभरबाट मुकुट बनाएका छन् । श्रीपेचमा मोती पत्थरहरु लगाइएको छ । श्रीपेचलाई टल्काउन रंगरोगन गरिएको छ ।

उनलाई पृथ्वीनारायणको योगदान भावी पुस्ताले बिर्सन्छ कि भन्ने चिन्ता छ । ‘पृथ्वीनारायणप्रति हामीले सम्मान दिन सकेनौं कि भन्ने लागेको छ,’ उनले भने, ‘एकता दिवसमा सरकारले विदा दिएन । हुन त स्थानीय सरकार (गोरखा नगरपालिका) ले बिदा दिएको छ ।’

उनले यो पहिरन गोरखामै सिलाएका हुन् । ‘यो लुगा सिलाउँदा १०/१२ हजार रूपैयाँ खर्च लाग्यो,’ श्रेष्ठले भने, ‘व्यक्तिगत खर्चमै लुगा सिलाएको हुँ।’ उनले यो पहिरन किन लगाएको भनेर ठट्यौली गर्नेलाई पृथ्वीनारायण मेरा हजुरबा हुन् भन्ने गरेका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments