सुदुरपश्चिममा ‘ओल्के पर्व’ उल्लासपूर्वक मनाइँदै

आइतवार, भदौ १, २०७६



काठमाडौं । डडेल्धुरासहित सुदुरपश्चिमका विभिन्न जिल्लाहरुमा ओल्के पर्व उल्लासपूर्वक मनाइँदैछ । काँक्रा, भाण्टा, मुला, दही, पिँडालुका पात र हरियो सागपात आफन्तजनलाई बाँडेर यस पर्व मनाइँदै आइएको छ ।

साउनको अन्तिम दिन र भदौको पहिलो दिनमा विशेष महत्वका साथ ओल्के पर्व मनाइने परम्परा रहिआएको छ। साउने झरी सकिए लगत्तै दैवी प्रकोपबाट बाँचिएको खुशियालीमा सुदुरका पहाडी जिल्लामा ओल्के पर्व मनाउने चलन छ।

के हो ओल्के ?

ओल्के भन्नाले ’उपहार’ वा ’कोसेली’ भन्ने बुझिन्छ। आफू भन्दा ठूलाबडा मान्यजन वा ज्येष्ठ नागरिकलाई सम्मान स्वरुप कर्कलाको भित्री पात, फलफूल आदि दिनु, मिठो-मसिनो खानु, हातमा मेहेन्दी लगाउनु यस पर्वको विशेषता हो।

यस पर्व कुनै धार्मिक वा पौराणिक उत्प्रेरणाबाट प्रभावित नभई यस भेगका बासिन्दाको मौलिक पर्वका रुपमा पनि रहिआएको छ। गाउँका मुखिया तथा मान्यजनको घरमा हरियो सागपात दिएर वर्षायाममा दैवी प्रकोपबाट बाँचिएको खुशीयालीमा सद्भाव बाँड्ने गरिन्छ।

वर्षायाममा दादुरा, झाडापखाला, हैजा, लुतो, कुष्ठरोगजस्ता रोग लाग्ने भन्दै ति रोगबाट बाँचिएको खुसी साट्न पनि यो पर्व मनाइएको स्थानीयवासीहरु बताउँछन् ।

बुढी हालेको र बुढी पोल्ने :

ओल्केको अर्थ आफूभन्दा ठूलो र सम्मानित घरपरिवार वा व्यक्तिलाई दिइने सगुन वा उपहार हो। ओल्के चाडको दिन गाउँ नजिकको डाँडामा जम्मा भएर रूखबिरुवाका हाँगा र झ्याङ काटेर एक ठाउँमा थुप्रो बनाउने गरिन्छ। यसलाई स्थानीय भाषामा ‘बूढी हालेको’ भनिन्छ।

यसरी बनाइएको थुप्रोलाई असोज संक्रान्तिका साँझ गाउँका सबै जना ‘बूढी हालेको’ भेला भएर पोल्ने गर्छन्। यसलाई ‘बूढी पोल्ने’ भनिन्छ। बूढी पोल्ने काम सकिएसँगै गाउँमा अनिष्ट एवं कुनै रोगको महामारी नआउने विश्वास छ ।

द्वापर युगमा राक्षसनी पुतनाले राजा कंशको आदेशमा भगवान श्रीकृष्णलाई दूधको रुपमा विष खुवाएर मार्न लागेको बेला भगवान श्रीकृष्णले थाहा पाएर उल्टै राक्षसी पुतनाको स्तन चुसी मारेको खुशीयालीमा समेत यो परम्परा बनाउने चलन बसी आएको जनविश्वार रही आएको छ ।

पश्चिमा संस्कृतिको बढ्दो प्रभावस्वरुप नेपाली समाजमा सदियौंदेखि मनाइँदै आएका कतिपय चाड पर्वहरु विस्तारै हराउन थालेकाले आफ्नो ऐतिहासिक सभ्यता र संस्कृतिको पहिचान बोकेका चाडपर्वको संरक्षणका लागि सरोकारवाला जाग्नुपर्ने समय आएको स्थानीय बताउँछन्।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata