उपसभामुखलाई फकाउँदै ओली-प्रचण्ड

शुक्रबार, पुस २५, २०७६



काठमाडौँ । तत्कालिन सभामुख कृष्ण बहादुर महरा बलात्कारको अभियोगमा मुछिएसँगै रिक्त रहेको सभामुख पद नेकपाकाे आन्तरिक राजनीतिको चपेटामा  परेको छ ।   सभामुख चयनको प्रक्रियामा सत्तारुढ दल भित्र लामो छलफल र वहस भइरहेको छ । सभामुख नहुँदा प्रतिनिधि सभाको नियमित कामकाज प्रभावित हुँदै आइरहेका छन् ।

पूर्व माओवादी केन्द्र र पूर्व एमाले पार्टीबीच विगतमा शक्ति बाँडफाँड गरिदा प्रधानमन्त्री पद एमालेलाई र सभामुख पद माओवादी केन्द्रलाई दिदै बनेको तात्कालिन समिकरणमा पार्टी एकतासँगै निरन्तरता नदिने प्रधानमन्त्री ओलीको चाहनाले वर्तमान संसद बन्धक बन्दैछ ।

सभामुख पदमा प्रधानमन्त्रीले रुचाएको पूर्व सभामुख सुभासचन्द नेम्वाङलाई पून: सभामुखको जिम्मेवारी दिने प्रधानमन्त्री ओलीको भित्री चाहना सतहमा आइसकेको अवस्थामा पूर्व माओवादी केन्द्र भित्र रणनीतिक छलफल चलेको कारण प्रचण्ड खुट्टा टेक्न बाध्य भएका छन ।

दुई अध्यक्षको बीचमा सभामुख पदलाई लिएर चलिरहेको रस्साकस्सीमा उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई समेत शक्ति केन्द्रको आर्शिवाद रहेको कारण सभामुख चयनमा नेकपा राजनीति नराम्रोसँग कचल्टीएको छ ।

प्रधानमन्त्रीले नेम्वाङ नै रोज्ने र सेरेमोनियल राष्ट्रपतिले वर्तमान उपसभामुखलाई रुचाउनु र अध्यक्ष प्रचण्डले पूर्व माओवादी खेमा भित्रबाट व्यक्ति चयन गर्न पाउनु पर्ने जिकिरको कारण सभामुख चयन प्रकृया विचित्रको चक्रव्यूहमा फसेको छ ।

विगतमा आधाआधी समय प्रधानमन्त्री पद बाँडफाँड गर्ने भद्र सहमतिलाई बीच बाटोमै छाड्दै कार्यकारी अध्यक्ष बन्न राजी प्रचण्डसमेत प्रधानमन्त्री ओलीलाई प्रधानमन्त्री र सभामुख मध्य एक पद रोज्न दबाव दिने परिस्थितिको कारण प्रधानमन्त्री ओली बाध्यात्मक रुपमा नयाँ चाल चाल्न बाध्य हुँदै गरेको संकेत एक नेताले नाम नबताउने शर्तमा नेपालपाटी डटकमलाई जनाएका छन ।

 संविधान अनुसार एउटै दलको सभामुख र उपसभामुख बन्न नपाउने प्रावधानका कारण उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई राजीनामा गराउन नेकपा अध्यक्षदवय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले उपसभामुखसँग छलफल गरिरहेका छन् ।

अहिले बालुवाटारमा उनीहरूबीच छलफल जारी रहेको स्रोतले जनाएको छ । सभामुख चयनका लागि ११ पुसमा डाकिएको प्रतिनिधिसभाको बैठक शिर्ष नेताहरुबीच सहमति जुट्न नसक्दा स्थगित गर्दै १६ पुसमा बाेलाइएकाे थियाे । दोस्रो पटक डाकिएको बैठकमा पनि नेकपा राजनीति अनिर्णित बनेकाे कारण संसद बैठक स्थगित भएको थियो । अर्को बैठक आइतबार डाकिएकाले सहमति जुटाउन उपसभामुख तुम्बाहाम्फेसँग अध्यक्षद्वयले भेटवार्ता गरिरहेका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments