मन्त्रीपरिषद बैठक पूर्व ओली-प्रचण्डबीच भेटवार्ता

मङ्लबार, माघ २८, २०७६



काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भइरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या आएपछि नेकपा सचिवालयको अध्यक्षता कसले गर्ने भन्ने विषयमा छलफल भइरहेको स्रोतले जनाएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भइरहेको भेटघाटमा पार्टी एकता टुङ्ग्याउने, जनयुद्ध तथा जनआन्दोलनका शहीदहरुको स्मृति दिवस लगायतका विषयमा समेत छलफल हुने जनाइएको छ ।

माघ १५ देखि १९ गते सम्म जारी नेकपा केन्द्रिय सदस्यको बैठकले पार्टी एकताको बाँकी काम १५ दिन भित्र टुङ्ग्याउनु पर्ने निर्णय पारित गरेका थिए । साथै पूर्व माओवादीले फागुन २ गते मनाउँदै आएको जनयुद्ध दिवसका बारेमा समेत छलफल हुने भएको हो । अध्यक्षद्वयको बैठकले नयाँ आइजीपी कसलाई बनाउने भन्नेबारे समेत छलफलको एजेण्डा रहेको बालुवाटार स्रोतले जनाएको छ ।

सर्वेन्द्र खनालको पदावधी सकिदै , काे बन्दैछ त नयाँ आईजीपी ?

प्रहरी महानिरीक्षक ‘आईजीपी’ सर्वेन्द्र खनालको पदावधी आजबाट सकिएको छ । ३० वर्षे सेवा हद पूरा भएसँगै उनको पदावधि सकिएको हो । खनालको पदावधी सकिएसँगै २७ औं आईजीपी नियुक्तीको तयारीमा सरकार जुटेको छ । आईजीपी नियुक्ती गर्ने विषयमा छलफल गर्न आज दिउसो मन्त्रीपरिषदको बैठक बोलाइएको छ ।

आईजीपी नियुक्त गर्ने विषयमा सोमबार प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रामबहादुर थापाबीच  छलफल भएको थियो । आजबाट आइजीपी खनाल, तीनजना एआइजी र १८ जना डिआइजीले एकै साथ अवकाश पाएका छन् ।

नयाँ महानिरीक्षकमा अब डिआइजीबाट  हुनेछ । महानिरीक्षक खनाल अवकाशमा जाने भएपछि नयाँ आइजीपीका लागि दौडधुप भइरहेको छ । २७ औँ प्रहरी महानिरीक्षकका लागि प्रदेश १ का डिआइजी ठाकुर ज्ञवाली, सुदूरपश्चिम प्रदेशका डिआइजी तारिणीप्रसाद लम्साल र प्रहरी प्रधान कार्यालयका डिआइजी सूर्यप्रसाद उपाध्यायबीच प्रतिस्पर्धा छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments