२ पटक तोडे ओलीले मोर्चाबन्दी

आइतवार, बैशाख २१, २०७७



प्रधानमन्त्री केपी ओलीले पार्टी सचिवालयमा आफूविरुद्ध निर्माण गर्न खोजिएको ‘गठबन्धन’ लाई २ पटक तुहाई दिएका छन्। अध्यक्ष दाहाल र बरिष्ठ नेता नेपालसँग एकता र संर्घषको नीति लिँदै आएका ओलीको कार्यशैली, पार्टी र सरकार सञ्चालनको विधिसँग सचिवालयका बहुमत सदस्य बेलबेला असन्तुष्ट बन्दै आएका थिए। त्यसयता ओलीलाई पार्टीमा कमजोर बनाउने योजनामा असन्तुष्ट नेताले गठबन्धन निर्माणको प्रयास नगरेका होइनन्।

पहिलो : झम्सिखेल गठनबन्धन तोड्न सफल

पहिलो पटक ओली विदेश रहेका बेला अध्यक्ष पुष्पकमल दाहाल, बरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठले २०७५ माघ १० मा झम्सिखेलमा ‘गोप्य बैठक’ बसेर ओलीसँग जुध्न मिलेर जाने रणनीति बनाएका थिए। त्यसबेला निर्माण भएको गठबन्धनलाई पनि निक्कै कसरतपछि ओलीले भत्काइदिएका थिए।

पार्टी एकताका क्रममा ओलीले आफू निकटलाई मात्र दोहोरो जिम्मेवारी दिएको, पार्टी बैठक बोलाउने तिर चासो नदिएकोे, विवादास्पद विधेयक सल्लाह बिनै ल्याएको, राजनीतिक नियुक्तिमा पार्टीमा छलफल नगरेको भन्दै नेताहरुले त्यसबेला गठवन्धन गरेका थिए। तर त्यो गठवन्धन तोडन ओलीले वामदेवलाई पार्टी उपाध्यक्ष बनाउने निर्णय गरेर तोडिदिएका थिए। त्यसबेला पनि ओलीले गौतमलाई आफनो पक्षमा तानेर गठबन्धन भत्काएका थिए।

त्यसपछि फेरि दाहाल र ओली पक्ष एकातिर र नेपाल अर्काेतिर बन्ने अवस्था आयो। झम्सिखेल गठबन्धनकै कारण नेपालको बरियता खोसिनेदेखि उनी सचिवालयमा एक्लै पर्ने अवस्था आएको थियो। ३ भदौ २०७६ सम्म आईपुग्दा झम्सिखेल गठबन्धन पूर्णरुपमा छिन्नभिन्न भएको थियो। त्यतिबेला ओलीलाई पाँच वर्षकै लागि सरकारको नेतृत्व, दाहाललाई पार्टीमा कार्यकारी अध्यक्ष, गौतमलाई विधान संशोधन गरी उपाध्यक्ष र संगठन विभाग प्रमुख र खनाललाई वरियता तथा नीति अध्ययन प्रतिष्ठानको जिम्मेवारी दिने समझदारीपछि माधव मात्रै एक्लिएका थिए।

दोस्रो : भैंसेपाटी गठबन्धन तोडन सफल

२०७६ मंसिर दो श्रो सातापछि फेरि झम्सिखेल गठबन्धनमै रहेका नेताहरु ओलीविरुद्ध संगठित हुन थाले। पार्टीमा कार्यकारी अधिकार पाए पनि दाहालले ब्यवहारिक अनुभूति गर्न पाएनन्। नेपाललाई त एक्लाउँदै ओली अगाडि बढेकै थिए। त्यहीं बीचमा पार्टीमा नयाँनयाँ प्रकरणहरु आए।

मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी), सभामुख चयन, गौतमको संसद् छिर्ने चाहना, संविधान संशोधन कार्यदलदेखि पार्टी विभाजनसम्मका अध्यादेश प्रकरणले पेचिलो विवाद नेकपाभित्र देखा पर्‍यो। त्यसपछि फेरि निर्माण भयो- भैंसेपाटी गठबन्धन। जहाँ झम्सिखेल गठबन्धनमै रहेका नेताको मोर्चाबन्दी थियो।

२३ पुसमा उपाध्यक्ष वामदेव गौतम निवासमा आफूविरुद्ध निर्माण भएको गठबन्धन ओलीले शनिबारको सचिवालय बैठकबाट भत्काउन सफल भए। तर यो गठबन्धन भत्काउन उनलाई निक्कै मुस्किल परेको थियो। यसपटक पनि उनले उपाध्यक्ष गौतमलाई आफूतिर तानेर गठबन्धन भत्काउन सफल भएका हुन्।

भैंसेपाटी गठबन्धनका कारण ओलीले सभामुख चयनमा आफनो निर्णय लाद्न सकेका थिएनन्। एमसीसी प्रकरणमा आफू अनुकुल निर्णय गराउन सकेका थिएनन्।

गौतमलाई राष्ट्रिय सभामा मनोनित गरेर लैजाने सचिवालयको निर्णय कार्यान्वयन गर्न आनाकानी गर्दै आउनु परेको थियो। पछिल्लो अध्यादेश प्रकरणसम्म आईपुग्दा निक्कै नै अप्ठायारोमा प्रधानमन्त्री ओली पुगेका थिए। अन्नपूर्ण पोस्ट

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments