भीम रावलप्रति प्रधानमन्त्री ओलीको कटाक्ष : पार्टीमा नयाँ कविको जन्म भयो

शनिबार, पुस १२, २०७६



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्थायी कमिटी सदस्य भीम रावलप्रति कटाक्ष गरेका छन् । शनिबार नेकपानिकट प्रेस संगठनका पदाधिकारीहरूको शपथ ग्रहण कार्यक्रममा प्रधानमन्त्री ओलीले गर्नकै लागि पार्टीमा नयाँ नयाँ कवि जन्मिएको बताएका हुन् ।

नेता रावलले केही दिनअघि नेकपा स्थायी कमिटी बैठकमा नेकपा र राजपाबीच भएको राष्ट्रियसभामा तालमेलसम्बन्धी सहमतिप्रति व्यङ्य गर्दै ‘धुँवाले छोपिँदै दियो’ शीर्षकमा कविता वाचन गरेका थिए । सोही कविताको जवाफमा प्रधानमन्त्री ओलीले भने, ‘पार्टीको सफलतामा बोल्न नसक्ने नेताहरु विरोधमा मात्रै बोलिरहेको देख्दा अचम्म लाग्छ ।’

नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले रावलले कुण्ठा बोकेर विरोध गरेको आरोप लगाउँदै भने, ‘पार्टीको नेता भएर पार्टीले गरेको राम्रा कामबारे नबोल्ने, विरोध मात्रै गर्दा कसैको प्रेस्टिज माथि उठ्दैन, कुण्ठामात्रै बोकेर पार्टीमा बस्दा कसैको भलो हुँदैन ।’

उनले ७० वर्षको अनुभवका आधारमा मुलुकको नेतृत्व गरिरहेको बताउँदै देशलाई डुब्न नदिने बाचा पनि गरे । ‘७० वर्षको अनुभवले मुलुक चलाएको हुँ,’ ओलीले भने, ‘कुनै पनि हालतमा देशलाई डुब्न दिन्नँ । उनले नेकपा नेतृत्वको सरकारले धेरै राम्रा काम गरेको दाबी समेत गरे ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments