प्रधानमन्त्रीको गुनासो–संसदीय समितिले कामै गर्न दिएनन्

आइतवार, अशोज ५, २०७६



काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड)ले सरकारविरुद्ध प्रतिक्रियावादीहरु एकजुट भएको भन्दै मिलेर सामना गर्न सांसदहरुलाई निर्देशन दिएका छन् ।

शनिवार बसेको संसदीय दल बैठकमा प्रधानमन्त्रीसमेत रहेका ओलीले संसदीय समितिमा पनि आफ्ना सांसद कडा रुपले प्रस्तुत हुन नसकेको बताए । ‘संसदीय समितिमा तपाईंहरु अलि दृढ भएर उपस्थित हुुनुपर्छ,’ प्रधानमन्त्री ओलीको भनाइ उदृत गर्दै एक सांसदले भने, ‘अहिले प्रतिक्रियावादीहरु एक भएर सरकारलाई आक्रमण गर्ने काम भइरहेको तपाईंहरुले खोइ बुझेको ?’

सरकारको निर्णय र दिशाविपरीत संसदीय समितिले निर्देशन दिएको भन्दै ओलीले सरकारलाई असहयोग भएको गुनासो गरेका थिए । ‘त्यसै पनि चारैतिरबाट सरकार र पार्टीविरुद्ध हमला भइरहेको छ,’ उनले भने, ‘संसदीय समितिहरुले पनि सरकारको चाहनाविपरीतका निर्देशन दिइरहेका छन्, यसमा तपाईंहरु अलि चनाखो हुनुपर्यो ।’

नेकपाका अर्का अध्यक्ष प्रचण्डले पनि सत्तारुढ दल र सरकारविरुद्ध षड्यन्त्र भइरहेको बताए । ‘प्रतिक्रियावादी तत्वहरु सत्तारुढ दल र सरकारविरुद्ध एकजुट भएर लागेका छन्,’ दाहालको भनाइ उदृत गर्दै ती सांसदले भने, ‘त्यस्ता तत्वहरुको सबैले मिलेर सामना गर्नुपर्छ । यसमा तपाईंहरुको भूमिका झन् महत्वपूर्ण हुन्छ ।’

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments