आयल निगमले १५ करोड लाभांश बाँड्ने

शनिबार, जेष्ठ ६, २०७४



नेपाल आयल निगमले लगानीकर्तालाई लाभांश वितरण गर्ने निर्णय गरेको छ । निगमको शुक्रबार सम्पन्न ३५औँ साधारणसभाले ५० प्रतिशतका दरले लगानीकर्तालाई लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

निगमका निमित्त नायब प्रबन्ध निर्देशक नागेन्द्र साहका अनुसार ५० प्रतिशतका दरले लाभांश वितरण गर्दा करिब १५ करोड रुपैयाँ खर्च हुनेछ । निगमले आर्थिक वर्ष ०७२-७३ मा कमाएको १ अर्ब ५८ करोड सञ्चित मुनाफाबाट लाभांश वितरण गर्ने निर्णय गरेको साहले जानकारी दिए । आर्थिक वर्ष ०५८-५९ देखि निरन्तर नोक्सानीमा गुज्रिएको निगमले त्यसयता पहिलोपटक लाभांश वितरण गर्न लागेको हो ।

आयल निगममा सरकारको ९८.३७ प्रतिशत सेयर छ । त्यसपछि नेपाल बैंक लिमिटेडको ०.२३ प्रतिशत, नेसनल ट्रेडिङ लिमिटेडको ०.७८ प्रतिशत, वाणिज्य बैंक लिमिटेडको ०.१५ प्रतिशत र राष्ट्रिय बिमा संस्थानको ०.४७ प्रतिशत सेयर रहेको छ ।

निगम सञ्चालक समिति सदस्य तथा आपूर्ति मन्त्रालयका सहसचिव सूर्यप्रसाद श्रेष्ठले लगानीकर्ता सरकारी निकायलाई निगमले लाभांश वितरण गर्नु स्वागतयोग्य भएको बताए । उनले भने, ‘सरकार र सरकारी निकायले लगानी गरेका थिए, निगमले त्यसको प्रतिफल दिन लागेको हो ।’

०७१ असोजमा पेट्रोल र डिजेलमा स्वचालित प्रणाली लागू गरेपछि निगमले निरन्तर नाफा आर्जन गरिरहेको छ । त्यसअघि निगम चरम आर्थिक नोक्सानीमा थियो । आव ०५८-५९ देखि ०७०-७१ सम्म निगमले सरकार, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र विभिन्न वाणिज्य बैंकबाट ३७ अर्बभन्दा बढी ऋण लिएको थियो भने सो अवधिमा करिब ३५ अर्ब सञ्चित नोक्सानी बोकेको थियो । स्वचालित प्रणाली लागू भएपछि नाफा आर्जन गरेको निगमले ऋण भुक्तानी र र सञ्चित नोक्सानी भरपाई गरी लाभांश वितरणको निर्णय गरेको हो ।

चुक्ता पुँजी २० अर्ब पुर्यार्उने तयारी
पुस ०२७ मा स्थापना भएको निगमको सुरुवातमा अधिकृत पुँजी १ करोड रहेकोमा बढाएर हाल ३० अर्ब पुर्याइएको छ । त्यस्तै चुक्ता पुँजी सुरुवातमा १० लाख रहेकोमा बढाएर ९ करोड ६७ लाख १५ हजार रुपैयाँ पुर्याइएको छ । साधारणसभाले चुक्ता पुँजी बढाउन पहल गर्ने निर्णय गरेको छ । वार्षिक रूपमा १ खर्बभन्दा बढी रकमको पेट्रोलियम कारोबार गर्ने निगमको चुक्ता पुँजी अत्यन्त थोरै रहेकाले बढाएर २० अर्ब पुर्याउने तयारी भइरहेको निमित्त नायब प्रबन्ध निर्देशक नागेन्द्र साहले जानकारी दिए ।

‘हामीले तीन महिनालाई पुग्ने भण्डारणस्थल बनाउन लागेका छौँ, त्यसका लागि ५०–६० अर्ब रुपैयाँ खर्च हुन्छ,’ उनले भने, ‘यति धेरै लगानी गर्नुपर्ने र वार्षिक खर्बभन्दा बढी रकमको कारोबार गर्ने संस्थाको चुक्ता पुँजी अहिले अत्यन्त न्यून हो । त्यसैले बढाएर २० अर्ब रुपैयाँ कायम गर्नुपर्छ भन्ने हो ।’

लाभांश बाँडेर सकारात्मक सन्देश दिन चाहन्छौँ
नागेन्द्र साह
निमित्त नायब प्रबन्ध निर्देशक
नेपाल आयल निगम
सरकार स्वामित्वको यस संस्था विगत केही समयदेखि नाफामा सञ्चालन भइरहेको छ । यसमा सरकार र सरकार स्वामित्वका अन्य संस्थाको लगानी छ । नाफा आर्जन भइरहेका वेला लगानीकर्तालाई लाभांश वितरण गर्नुपर्ने सोच राखेका हौँ । हामीले लाभांश वितरण गर्दा लगानीकर्तालाई पनि प्रतिफल पाइरहेको आभास हुन सक्छ । लगानीकर्तामा सकारात्मक ऊर्जा थप्नका लागि हामीले गत आर्थिक वर्ष ०७२÷७३ को सञ्चित मुनाफाबाट लाभांश वितरणको निर्णय गरेका हौँ ।

407 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank