नेपाल टेलिकमको रिचार्जमा शतप्रतिशत बोनस

बुधबार, चैत्र १२, २०७६



काठमाडौं । नेपाल टेलिकमले मोबाइल सेवाकोे प्रयोगलाई थप सहज बनाउन रिचार्जमा शतप्रतिशत बोनस दिने भएको छ । चैत १३ देखि ७ दिनसम्म यो सुविधा रहने टेलिकमले जनाएको छ ।

बोनसको व्यवस्थाअनुसार नेपाल टेलिकमको जीएसएम तथा सीडीएमएको प्रिपेड तथा पोस्टपेड सेवामा रिचार्ज कार्ड वा एमपोसबाट रिचार्ज गर्दा रिचार्ज गरेको रकमको शतप्रतिशत बराबर बोनसका रूपमा प्राप्त हुनेछ । यसरी प्राप्त गरेको बोनस रकमबाट प्याकेजबाहेकको दररेटअन्तर्गत नेपाल टेलिकमको नम्बरमा कल गर्न, एसएमएस पठाउन तथा डाटा प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ । तर उक्त बोनस रकमबाट ब्यालेन्स ट्रान्सफर गर्न वा प्याकेज खरिद गर्न वा गिफ्ट पठाउन सकिने छैन ।

रिचार्ज कार्ड प्रयोग गरी रु. ५० र १०० को रिचार्ज गर्दा प्राप्त हुने बोनस रकम २ दिनभित्र खपत गरिसक्नु पर्छ भने रु. २०० र ५०० को रिचार्जमा प्राप्त हुने बोनस रकम ४ दिनभित्र खपत गरिसक्नु पर्नेछ । त्यसैगरी रु. १००० को रिचार्जमा प्राप्त हुने बोनस रकम ६ दिनभित्र खपत गरिसक्नुपर्ने टेलिकमले जनाएको छ ।

एमपोस वा विद्युतीय रिचार्जअन्तर्गत रु. १० देखि रु. ९९ सम्मको रिचार्जमा प्राप्त हुने वोनस २ दिनभित्र खपत गरिसक्नु पर्नेछ । साथै रु. १०० देखि रु. ४९९ सम्मको रिचार्जमा प्राप्त हुने बोनस ४ दिनभित्र खपत गरिसक्नु पर्नेछ । यसैगरी रु. ५०० देखि रु. ९९९ सम्मको रिचार्जमा प्राप्त हुने बोनस ८ दिनभित्र खपत गर्नुपर्ने हुन्छ भने रु. १००० वा सो भन्दामाथिको रिचार्जमा प्राप्त हुने वोनस १० दिनभित्र खपत गरिसक्नु पर्ने टेलिकमले जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments