तलब नपाएपछि कर्मचारी तनावमा

बिहिबार, अशोज २५, २०७५



काठमाडौं  । खारेजीमा परेका र फाजिल भएका दोलखाका साविक सरकारी कार्यालयका दुई सय ५० निजामती कर्मचारीले दसैं सुरु हुँदा पनि तलब पाएका छैनन् । चार महिनायता उनीहरुले तलब नै नपाएपछि आक्रोश पोख्न थालेका छन् । वन कार्यालयका एक कर्मचारीको दुखेसो यस्तो छ, ‘चार महिना भइसक्यो नयाँ ठाउँ कसरी हामी बाँचेका छौँ ? दसैंको मुखमा अरुले तलब खाए हामी हेरेरै बस्नु परेको छ । घर जाने भाडा समेत छैन ।’

उनले प्रश्न गरे, ‘यसरी कति दिन कर्मचारीले काम गर्न सक्छन् ? तलबविना कुन मुख लिएर घर जाने ?’ साविकका डिभिजन सहकारी, भेटनरी, महिला विकास, सिञ्चाई, खानेपानी लगायतका कार्यालयमा कार्यरत कर्मचारीको अवस्था पनि यस्तै छ ।

सरकारको निर्णय बमोजिम खारेजीमा परेका र फाजिल भएका जिल्ला स्तरीय सरकारी कार्यालय तथा प्रदेश सरकार मातहतका कार्यालय तथा स्थानीय तहमा कार्यरत दुई सय ५० निजामती कर्मचारीले दसैं सुरु हुँदासमेत तलब भत्ता नपाएका हुन् ।

दोलखाका जिल्ला समन्वय अधिकारी तुलसीनाथ गौतम भने कर्मचारीलाई तलब कहाँबाट भुक्तानी गराउने भन्ने स्पष्ट नभएको बताउँछन् । मंगलबारसम्म पनि दुई सय ५० जनाभन्दा बढी निजामती कर्मचारीको तलब भत्ता कहाँबाट र कसरी भुक्तानी गर्ने अन्योल भएको गौतमको भनाइ थियो ।

जिल्ला कर्मचारी व्यवस्थापन समितिले निर्णय गरेर स्थानीय तहमा समायोजन गरिएका कर्मचारीलाई भने शोध भर्ना गर्ने गरी स्थानीय तहबाट तलब भत्ता भुक्तानी गरिएको समन्वय अधिकारी गौतमले जानकारी दिए । अन्नपूर्णपोष्टबाट

42 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank