निर्भया बलात्कार काण्डका चारै जना अभियुक्तलाई फासी

शुक्रबार, चैत्र ७, २०७६



एजेन्सी । सन् २०१२ मा भएको निर्भया सामूहिक बलात्कार घटनाका चार दोषीलाई आज बिहानै फासी दिइएको भारतीय सन्चार माध्यमले जनाएका छन् ।

बलात्कार आरोपी अक्षय ठाकुर, विनय शर्मा, पवन गुप्ता र मुकेश सिंहलाई शुक्रबार बिहान दिल्लीको तिहाड जेलमा फासी दिइएको हो । उनीहरु चारैजनालाई सन २०१३ मा बलात्कार घटनामा दोषी ठहर गर्दै फासीको सजाय सुनाइएको थियो ।

भारतको राजधानी दिल्लीको तिहाड जेलमा शुक्रबार बिहान उच्च सुरक्षा सतर्कताबीच दिइएको फासी पछिल्लो पाँच वर्ष यताकै पहिलो घटना हो । यसअघि सन २०१५ मा भारतमा फासीको सजाय दिइएको थियो ।

सन् २०१२ को डिसेम्बर १६ मा भारतको राजधानी दिल्लीमा ६ जनाले आफ्ना केटा साथीसँग बसमा घर फर्किँदै गरेकी २३ वर्षकी मेडिकल छात्रालाई बसमा बलात्कार तथा निर्मम कुटपिट गरी गुडिरहेको बसबाट बाहिर फालेका थिए । २३ वर्षीय ती युवतीको उपचारका क्रममा दिल्लीमा निधन भएको थियो । सो घटनाको भारतभरी व्यापक विरोध भएपछि सरकारले बलात्कार विरुद्ध नयाँ कानून ल्याएको थियो ।

व्यापक विरोधकै बीच प्रहरीले घटनामा संलग्न भएका ६ जनालाई पक्राउ गरेको थियो । त्यसमध्ये रामसिंह नाम गरेका अभियुक्त सन् २०१३ को मार्चमा जेलमै मृत भेटिएका थिए । उनले आत्महत्या गरेको खुलेको थियो।

यस्तै घटना भएका बेला १७ वर्षका रहेका अर्का एक सन् २०१५ मा जेलबाट छुटेका थिए । उनी नाबालक रहेकाले तीन वर्षको सुधारात्मक जेल सजाय काटेर रिहा भएका हुन् ।

चार अभियुक्तले आफू पछिल्लो समय आफूहरुको सजाय कम गरी जन्मकैदीको मात्रै सजाय दिन माग गर्दै सर्वोच्च अदालतमा अपिल गरेका थिए । अदालतले उनीहरुको अपिल खारेज गरेको थियो ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments