मतगणना कहिलेदेखि ?

मङ्लबार, बैशाख २६, २०७४



निर्वाचन आयोगले ३१ वैशाखमा हुने स्थानीय तह निर्वाचनको मतगणना १ जेठबाट सुरु गर्ने तयारी गरेको छ । मतदान सम्पन्न भएको दिन बेलुकासम्म जिल्ला निर्वाचन कार्यालयमा मतपेटिका ल्याई १ जेठबाट गणना सुरु गर्ने आयोगले जनाएको छ । दुर्गम क्षेत्रका मतपेटिका आउन समय लाग्ने भएकाले हेलिकोप्टरमार्फत छिटोभन्दा छिटो ल्याएर गणना गर्ने तयारी भइरहेको छ ।

स्थानीय तह निर्वाचन ऐनमा तत्काल मतगणना गर्नुपर्ने व्यवस्था भएकाले १ जेठबाटै गणना सुरु गरिने आयोगका सचिव गोपीनाथ मैनालीले बताए । उनका अनुसार मतपेटिका निर्वाचन अधिकृतको कार्यालयमा ल्याइसकेपछि कार्यतालिका प्रकाशित गरी गणना सुरु गर्ने गरी काम भइरहेको छ ।

स्थानीय तह निर्वाचन ऐनको मतगणनाको व्यवस्थाअनुसार मतदान भएका सबै मतपेटिका बुझिसकेपछि मतगणना सुरु गर्नुपर्नेछ । मतगणना गर्ने स्थान तोकी निर्वाचन अधिकृतले सूचना प्रकाशन गर्नुपर्नेछ । ‘स्थानीय तहको कुनै पदको निर्वाचनका लागि मतदान गर्न निर्धारित सबै मतदान केन्द्रमा मतदानको लागि प्रयोग गरिएका सबै मतपेटिका प्राप्त गरिसकेपछि निर्वाचन अधिकृतले मतगणना गर्ने मिति र समय तोकी उम्मेदवारको जानकारीका लागि सूचना प्रकाशन गर्नु पर्नेछ’ ऐनमा उल्लेख छ ।

कहाँ कहाँ हुन्छ मतगणना ?
निर्वाचन आयोगका अनुसार ३४ जिल्लाका २८३ स्थानीय तहमा मतगणना हुनेछ । निर्वाचन अधिकृत रहेको कार्यालयमा मतपेटिका जम्मा गरेपछि मतगणना सुरु गरिनेछ । त्यसका लागि मुख्य निर्वाचन अधिकृतले कार्यतालिकासहितको सूचना जारी गर्नेछ । त्यसपछि २८३ स्थानीय तहको निर्वाचन अधिकृतको कार्यालयमा मतगणना हुनेछ ।

अधिकांश पुरुष उम्मेदवार
२८३ स्थानीय तहको निर्वाचनममा उम्मेदवारी दिएका ४९ हजार ३३७ मध्ये १९ हजार ३३२ महिला उम्मेदवार छन् । आयोगले तयार गरेको अन्तिम तथ्यांकअनुसार कुल उम्मेदवारमध्ये पुरुष ६०.८२ प्रतिशत र महिला ३९.१८४ प्रतिशत छन् । आयोगका अनुसार नगरपालिका प्रमुख तथा गाउँपालिकाको अध्यक्षमा पुरुष एक हजार ७२३ जना र महिला १५७ जना रहेका छन् । त्यसैगरी, नगर उपप्रमुख तथा उपाध्यक्षमा पुरुष २५७ र महिला एक हजार १२७ उम्मेदवार छन् । त्यसैगरी, वडाध्यक्षमा १० हजार २९६ पुरुष र महिला ४४८ जना रहेका छन् । यस्तै, वडा सदस्य दुईजनाका लागि पुरुष १७ हजार ७२९, महिला ९५१, महिला वडा सदस्य नौ हजार ८३ जना र दलित महिला वडा सदस्यमा सात हजार ५२६ जनाको उम्मेदवारी कायम रहेको छ ।आजको नयाँ पत्रिका दैनिकबाट

485 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank