एनआईसी एसिया बैंकको कामु सिईओमा न्यौपाने नियुक्त

शनिबार, चैत्र ३, २०७४



काठमाडौँ । एनआईसी एसिया बैंकको कामु प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा रोशन कुमार न्यौपाने नियुक्त भएका छन् । बैंक संचालक समितिको शनिबार बसेको बैठकले प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसालले दिएको राजीनामा स्वीकृति गर्दै बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत न्यौपानलाई कामु सिईओमा नियुक्त गरेको हो ।

न्यौपानले बैंकको दीर्घकालीन योजना तथा रणनीति तर्जुमा र कार्यान्वयनमा अत्यन्त कुशल तथा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएकाले थप जिम्मेवारी दिइएको बैंकले जनाएको छ । प्रमुख आन्तरिक लेखापरीक्षकको रुपमा तत्कालीन बैंक अफ एशिया नेपाल लिमिटेडबाट बैंकिङ्ग क्षेत्रमा प्रवेश गरेका न्यौपाने एनआईसी एशिया बैंकलाई देशकै अग्रणी बैंकहरु मध्येको एक बैंकको रुपमा स्थापित गराउने अभियानका मुख्य अभियन्ता समेत रहेका छन् ।

एनआईसी एसिया बैंकसँग १० लाख भन्दा बढि सेवाग्राही जोडिएका छन् । १८४ शाखा तथा १८७ एटीएमसहित निजी क्षेत्रको सवैभन्दा बढी शाखा सञ्जालबाट बैंकले बैंकिङ्ग सेवा प्रदान गरिरहेको जनाएको छ ।

नवनियुक्त कामु सिईओ न्यौपानले बैंकका ग्राहक महानुभावलाई उत्कृष्ट, सरल एवं सुलभ बैकिङ्ग सेवा प्रदान गर्ने बताएका छन् । सर्वाङ्गिण आर्थिक समृद्घिका लागि एक उत्कृष्ट बैंक पनि साथी पनि बन्ने बैंकको महाअभियानमा सदा प्रतिवद्ध रहन ग्राहक कर्मचारी तथा बैंकसँग प्रत्यक्ष एवम् अप्रत्यक्ष तवरबाट जोडिएका सबैमा उनले अनुरोध समेत गरेका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments