उपाधि उचाल्ने दाउमा न्युजिल्यान्ड र इंग्ल्यान्ड

आइतवार, असार २९, २०७६



एजेन्सी । आइसीसी विश्वकप क्रिकेटको फाइनल खेल आज हुँदैछ ।  न्युजिल्यान्ड र घरेलु टोली इंग्ल्यान्डबीच उपाधिको लागि  ‘क्रिकेटको घर’ लर्ड्स,  लण्डनमा प्रतिस्पर्धा हुँदैछ । हालसम्म क्रिकेटको उपाधि उचाल्न नपाएका यी दुई टिमबीचको खेल नेपाली समयअनुसार सवा ३ बजे शुरु हुनेछ ।

सन् १९९२ यता पहिलो पटक विश्वकपको फाइनलमा पुगेको इङ्ल्याण्ड र लगातार दोस्रो पटक उपाधि भिडन्त गर्न लागेको न्यूजील्याण्डबीचको खेल अति रोमाञ्चक हुने अनुमान गरिएको छ।

पहिलो पटक दुवै टिम उपाधि जित्ने लक्ष्यमा हुनेछन् । सेमिफाइनलमा १८ रनले भारतलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको न्युजिल्यान्डको उच्च मनोबल छ । घरेलु टोली इंग्ल्यान्डलाई पराजित गर्दै ऐतिहासिक दिन बनाउने लक्ष्यमा न्युजिल्यान्ड छ । विश्वकपको उपाधि जितेमा न्युजिल्यान्डले अहिलेसम्मकै सबैभन्दा ठूलो उपलब्धी हासिल गर्नेछ ।

यता, इंग्ल्यान्ड पनि आफ्नै घरेलु मैदानमा उपाधि जित्दै ऐतिहासिक जित बनाउन चाहन्छ । पाँच पटकको विजेता अष्ट्रेलियालाई ८ विकेटले हराउँदै इंग्ल्यान्ड फाइनलमा प्रवेश गरेको थियो ।

त्यसो त, लिग चरणको खेलमा न्युजिल्यान्डमाथि ११९ रनको जित निकालेको इंग्ल्यान्ड फाइनल खेलमा पनि त्यस्तै नतिजा निकाल्ने लक्ष्यमा छ ।

भारतलाई हराएको दुई टोली

प्रतियोगिता सुरु हुनु अगाडि इङ्ल्याण्डका पूर्वकप्तान माइकल भोनले ट्विटमा लेखेका थिए: “जसले भारतलाई हराउन सक्छ। त्यसैले यो विश्वकप जित्नेछ।”

संयोग निकै बलियो ठानिएको भारतलाई यो विश्वकपमा दुईवटा टोलीले मात्र हराउन सक्यो।

त्यही दुई टोलीबीच नै फाइनल हुन लागेको छ। इङल्याण्डले भारतलाई लिग चरणमा पराजित गरेको थियो भने न्यूजील्याण्डले सेमिफाइनलमा।

लिग चरणमा इङल्याण्डले न्यूजील्याण्डलाई एक सय १९ रनको फराकिलो अन्तरले हराएको थियो।

त्यसैले पनि होला विश्व क्रिकेट विज्ञहरूको झुकाव इङल्याण्डको पक्षमा देखिएको छ।

कोको खेल्नेछन् ?

न्युजिल्यान्ड : केन विलियमसन(क्याप्टेन), हेनरी निकोल्स, मार्टिन गप्टिल, रोस टेलर, कोलिन दि ग्राण्होम, कोलिन मुनरो, जिमी नीशम, मिचेल स्यान्टनेर, टॉम ब्लंडेल, टम लाथम(विकेट किपर), ईश सोढी, लक्की फर्ग्यूसन, मैट हेनरी, टिम साउथी, ट्रेन्ट बोल्ट

 

इंग्ल्यान्ड: इयोन मोर्गान(क्याप्टेन), जेम्स विन्स, जेसन रोय, जो रूट, बेन स्टोक्स, लियाम डावसन, मोईन अली, टम कुर्रन, जोनी बेयर्सटो, जोस बटलर(विकेट किपर), आदिल राशिद, क्रिस वोक्स, जोफरा आर्चर, लियाम प्लंकेट, मार्क वुड

टिकटको भाउ

इङ्ल्याण्डले सेमिफाइनल जिते लगत्तै लर्डसको फाइनल टिकटको भाउ ह्वात्तै बढेको स्थानीय पत्रपत्रिकाले लेखेका छन्।

पत्रिकाका अनुसार फाइनलको टिकटको भाउ १० हजार पाउण्डसम्म पुगेको छ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata