नेतान्याहूको सत्ता ढल्ने सम्भावना

बिहिबार, अशोज २, २०७६



एजेन्सी । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहू १० वर्षपछि सत्ताबाट बाहिरिने सम्भावना देखिएको छ । मंगलबार भएको निर्वाचनको परिणामअनुसार नेतान्याहू नेतृत्वको लिकुड पार्टीले संसदमा ३२ सिटमात्रै जित्ने सम्भावना देखिएको छ ।

इजरायली संसद नेसेटका लागि भएको निर्वाचनमा बेनी ग्यान्टसको विपक्षी ब्लु एन्ड ह्वाइट पार्टीले ३३ सिट प्राप्त गर्ने देखिएको छ । त्यसैले दुवैले जितको दाबी गर्न सकेका छैनन् ।

दुवै नेता भावी सरकार गठनका लागि अन्य दलहरुसँग छलफलमा व्यस्त छन् । निर्वाचनको पछिल्लो परिणामनुसार नेतान्याहूको दक्षिणपन्थी गठबन्धनले ५६ सिट हात पार्ने देखिएको छ भने विपक्षी गठबन्धनले पनि ५५ सिटमा अगाडि छ ।

यो बहुमतका लागि आवश्यक ६१ सिटभन्दा कम भएकाले दुवैले सरकार बनाउनका लागि गठबन्धनमा सामेल नरहेका दलहरुलाई ल्याउनुपर्ने हुन्छ ।

यो निर्वाचनमा नेतान्याहूको नेतृत्वको सरकारमा विगतमा विदेश र रक्षामन्त्री समेत भइसकेका एभिगडोर लिभरम्यान पुनः सत्ताको किंगमेकरका रुपमा देखिएका छन् ।

उनको इजरायल बेतेनु पार्टीले ९ सिटमा जित हात पारेको छ । अहिलेको अवस्थामा उनको समर्थन बिना दुवै गठबन्धनले सरकार बनाउन सक्नेछैनन् ।

इजरायलको इतिहासमा १ सय ६० दिनको अन्तरालमा दुई पटक चुनाव भएको यो पहिलो घटना हो ।

करिब ९५ प्रतिशत मतगणना सम्पन्न हुँदा इजरायलको इतिहासमा सबैभन्दा लामो समय सत्तामा बसेका बेन्जामिन पुनः प्रधानमन्त्री बन्ने सम्भावना कमजोर देखिएको छ ।

उनले प्रधानमन्त्री बन्नका लागि अब आफ्नो गठबन्धनमा नरहेको कम्तीमा पनि एउटा दललाई सामेल गराउनुपर्नेछ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments