नेतालाई बित्थामा !

मङ्लबार, असार १७, २०७६

- राकेश कार्की



 

नेतालाई बित्थामा

बनाइदिएको कान

सुन्दै नसुन्नेलाई

सुन्ने त जनताहरू हुन् ।

 

नेतालाई बित्थामा

गोडा जोडिदिएको

हिँड्दै नहिँड्नेलाई

कार, हवाइजहाज र

करोडौँको हेलिकोप्टर चढ्नेलाई ।

पसिना चुहाएर पुछ्दै

हिँड्ने त जनता हुन् ।

 

जनतालाई बित्थामा

मुख बनाइदिएको

न खान पाउछन्

न बोल्न पाउछन्

बोल्ने त नेताहरू हुन् ।

 

जनतालाई बित्थामा

हात बनाइदिएको

न गर्नलाई देशमा

काम पाउछन्

न पैसा गनेर

गोजीमा राख्न पाउछन्

हात चलाइरहने त नेता हुन् ।

कति कति बजेटमा

कति कति योजनाहरुमा

तलब र भत्ताहरूमा

सही गरिरहन्छन् ।

 

खुल्ला मंच पनि

भाडामा दिए भन्छन्,

बिचरा पीडित जनताले

यसो आफ्नो बोली

राख्ने ठाउँ

अनि कसरी बोलुन जनता !

 

नेताहरूले त

टेलिभिजनको “टक शो” मा

मजाले घोक्रो फुलाउन पाउछन्

चर्का चर्कीले कस्सी कस्सी

कान बन्द गरेर

मुख मजाले चलाको चलाइ

पटटट बोली रहन्छन् ।

 

त्यसैले त कहिलेकाहीँ यस्तो लाग्छ

नेताले कान सुनेदेखि

हिमाल, पहाड र मधेश हिँडेदेखि

अनि

जनतालाई हात र मुख चलाउन दिए देखि

देश र जनतामा केही आशा

केही खुसी

केही विश्वास

पलाउथ्यो कि ?

 

 

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank