नेपाली सेनालाई बदनाम गर्ने नियोजित समाचार प्रति घोर आपत्ति

बिहिबार, कार्तिक ७, २०७६



काठमाडौं । नेपाली सेनाले ‘द्धन्द्वकालमा यौन हिंसा पीडित युवतीको बयानः कुकुरबाट बलात्कार गराईयो’ भन्ने समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले आज(बिहिबार) एक विज्ञप्ति जारी गरी सो समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । उक्त समाचार बुधबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

उक्त समाचारमा उल्लेखित जघन्य प्रकृतिको घटना सम्बन्धमा हालसम्म नेपाली सेनाको कुनै पनि निकायमा उजुरी नपरेको प्रष्ट्याएकोे छ । विज्ञप्तिमा भनिएको छ, ‘उल्लेखित घटनाको सम्बन्धमा तत्कालिन अवस्थामा विविध कारणहरुबाट पीडितले नेपाली सेनाको कुनै पनि निकायमा उजुरी गर्न नसक्ने अवस्थाको अनुभुति गरेको भएमा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय मानव अधिकारसंग सम्बन्धित संघ संस्थाहरु लगायत मिडियाकर्मीहरुमार्फत उजुर गर्न सक्ने अवस्था विद्यमान रहेको भएतापनि सो को उपयोग नगरी करीब दुई दशक पश्चातमात्र सो घटना सार्वजनिक गरिएबाट नेपाली सेना जस्तो राष्ट्रकै संवेदनशील संस्थाप्रति लक्षित रहि गलत नियतवश सुनियोजित रुपमा समाचार सम्प्रेषण भएको आशंका गर्न सकिने अवस्थालाई नर्कान सकिन्न ।’

सेनाले जनाएको छ, नियोजित रूपमा सम्प्रेषित घटना घटनाबारे सत्यतथ्य पत्ता लगाउन नेपाली सेनाको पूर्ण सहयोग रहने छ । नेपाली सेनाले आफूसँग उपलब्ध भएका कुकुरहरूलाई समाचारमा सम्प्रेषण भएबमोजिमको कार्यका लागि तालीम दिने नीति र क्षमता नरहनुका साथै त्यस प्रकारका अपराधजन्य कार्य गर्ने कुनै औचित्यसमेत नरहेको व्यहोरा उल्लेख गरेको  छ ।

पीडित युवतीको नाम गोप्य राखिएको बारेमा सेनाले प्रतिबद्धता व्यक्त गर्दै भनेको छ- “माओवादी द्वन्द्वकालमा घटाईएको भनिएको उक्त घटनाको उजुरी सत्यनिरुपण तथा मेलमिलाप आयोग समक्ष पीडितले गर्न सक्नेछिन ।”  पीडितलाई निर्धक्कसँग उजुरी दिन आह्वान गर्दै भनेको छ- “उजुरी परेको खण्डमा यथोचित छानबिन गरी सत्यतथ्य पत्ता लगाइ सार्वजनिक गर्न नेपाली सेना प्रतिबद्ध एवं तत्पर रहेको छ ।”

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments