नेपाली सेनामा १ सातामा १६ जनालाई कारवाही

आइतवार, जेष्ठ १८, २०७७



नेपाली सेनाले अनुशासन र आचारण विपरीतका क्रियाकलाप हुने गरेको उजुरी परेसँगै छानबिन गर्न कारवाही तीव्र बनाएको छ । भ्रष्टाचारमा संलग्न उच्च सैनिक अधिकारी तथा कर्मचारीसमेत कारबाहीमा परेका छन् ।

यो १ हप्तामा सेनाले भ्रष्टाचार मुद्दामा अवकाश प्राप्त उपरथी १, सहायक रथी १, महासेनानी २, प्रमुख सेनानी १, सेनानीहरू गरी १६ जनाभन्दा बढी सैनिक कर्मचारीलाई कारबाही गरेको छ । समरी जनरल सैनिक अदालतले भक्तपुरस्थित सैनिक आवासीय महाविद्यालयका तत्कालीन सम्पर्क अधिकृत महासेनानीसहित पाँच जनालाई भ्रष्टाचार मुद्दामा कानुनी कारबाही गरेको हप्ता दिन नबित्दै शुक्रबार अवकाश प्राप्त उपरथीलाई पनि कारबाहीको फैसला सुनाएको छ ।

सैनिक हवाई महानिर्देशनालय गौचरनका तत्कालीन प्रमुख अवकाश प्राप्त (पाइलट) उपरथी सुधीर श्रेष्ठलाई सम्पत्ति र अनुशासन तथा आचरण सम्बन्धी कसुर गरेको अभियोगमा नसिहत दिनुका साथै भ्रष्टाचार गरेको ५८ लाख ९५ हजार ५ सय रूपैयाँ असुलको फैसला गरेको छ ।

सोही अभियोगमा संलग्न ८ सैनिक अधिकृतलाई सचेत र एक अधिकृतसहित ९ अन्य दर्जाका सैनिक कर्मचारीलाई सफाइ दिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । भ्रष्टाचार मुद्दामा उच्च तहका सैनिक अधिकृतलाई कारबाही गरिएको यो पहिलो घटना हो ।

सैनिक हवाई महानिर्देशनालयमा आर्थिक अनियमितता भएको सूचनाका आधारमा सत्यतथ्य छानबिन गर्न केही महिनाअघि गठित ‘कोर्ट अफ इन्क्वायरी बोर्ड’ले श्रेष्ठसहित १९ जनाविरुद्ध कानुनी कारवाही तथा असुल उपर गर्ने सम्बन्धी राय सहितको प्रतिवेदन पेस गरेको थियो ।

रथीको अध्यक्षतामा गठित समरी जनरल सैनिक अदालतले नेतृत्व तहमा रहँदा श्रेष्ठले कानुनको पालना नगरेको र आवश्यक प्रक्रिया तथा दायित्व पूरा नगरी सैनिक ऐन, २०६३ बमोजिमको कसुर गरेको प्रमाणित गर्दै ५८ लाख ९५ हजार ५ सय ९० रूपैयाँ असुलको फैसला गरेको हो ।

सोही मुद्दामा संलग्न अन्य आठ अधिकृतलाई प्राप्त जिम्मेवारी प्रभावकारी रूपमा सम्पादन नगरेको ठहर गर्दै सचेत गराउने, एक अधिकृत र अन्य दर्जाका नौ जनालाई अभियोग मागदाबीबाट सफाइ पाउने गरी फैसला सुनाएको छ ।

त्यस्तै, वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र पाँचखाल काभ्रेको प्रमुख हुँदा गरेका कार्यको विषयमा सहायक रथी प्रयोगजङ राणा र महासेनानी नवीन सिलवालमाथि अनुसन्धान शुरू गरेको सेनाले जनाएको छ ।  ग्गोरखापत्र दैनिक

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments