पहिलो चरणमा शुक्रबार प्रवासका नेपालीहरु स्वदेश फर्किँदै

शुक्रबार, जेष्ठ २३, २०७७



काठमाडौं । सरकारले वैदेशिक रोजगारीका लागि विभिन्‍न देश पुगेका र कोरोना महामारीका कारण समस्यामा परेका नेपालीलाई स्वदेश फिर्काउने तयारी थालेको छ । जसअन्तर्गत म्यानमारमा समस्यामा परेका नेपालीलाइ शुक्रबार स्वदेश फर्काइँदै छ ।

पहिलो चरणमा आउन लागेका ती नेपालीलाई म्यानमारकै सैनिक विमानले नेपाल ल्याउन लागेको हो । उक्त विमान नेपालमा रहेका बर्मेली नागरिकलाई लिन आउँदा नेपाल सरकारले बर्मामा फसेका नेपालीलाई स्वदेश फर्काइ दिन आग्रह गरेपछि उनीहरु फर्काउन लागिएको हो । यसरी फर्काइएकाहरुलाई होल्डिङ् सेन्टरमा राखिने र त्यसपछि क्‍वारेन्टाइन तथा होटलहरुमा राख्‍ने तयारी छ ।

नीहरु नेपाल आउँदा कोभिड–१९ संक्रमण नभएको स्वास्थ्य परिक्षण रिपोर्ट देखाएर मात्र आउन पाउने छन् ।  नेपाल सरकारले व्यवस्था गरेको होल्डिङ् सेन्टर तथा १४ दिने क्‍वारेन्टाइनमा बस्नुपर्ने र थप सात दिन होम क्वारेन्टाइनमा बस्‍नु पर्नेछ ।

उनीहरुलाई विमानस्थलमा उत्रिएपछि सुरक्षा निकायले बसबाट बसुन्धरास्थित यति पार्टी प्यालेसमा राखिने छ । यो सरकारले तोकेको होल्डिङ सेन्टर हो । त्यहाँ उनीहरुलाई नेपाल टेलिकमले निशुल्क सिमकार्ड उपलब्ध गराउने छ र होल्डिङ केन्द्रमा नै फेरि स्वास्थ परीक्षण गरिने छ ।

उनीहरुलार्ई उपलब्ध सिमकार्ड चालु गराई ६० दिनसम्म अनिवार्य प्रयोगमा ल्याउनु पर्नेछ र आफ्नो मोबाइलमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको “हाम्रो स्वास्थ्य एप डाउनलोड गरी क्‍वारेन्टाइनमा रहँदाको अवधिमा नियमित स्वास्थ्य विवरण अद्यावधिक गर्नुपर्ने छ ।

उनीहरु त्यहाँ रहुन्जेल तोकिएका अन्य स्वास्थ्य तथा सुरक्षा सम्बन्धी मापदण्ड पालना गर्नु पर्ने बताइएको छ ।

उनीहरु केहि समय होल्डिङ केन्द्रमा बसे पछाडि उनीहरुलाई  सम्बन्धित नगरपालिका वा गाउँपालिका जान पाउने छन् । ती व्यक्ति सम्बन्धित स्थानीय तहको क्वारेन्टाइनमा १४ दिन बसेपछि पीसीआर परीक्षण गरेर घर जान पाउनेछन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments