दोहोरो कमिसन, नक्कली कारोबार

बैदेशीक रोजगारीमा ठगि

सोमवार, चैत्र १२, २०७४

- भगवान खड्का / भूपेन्द्र शाह ठकुरी



काठमाडौं । जाजरकोटका दिनेश बुढा रोजगारीकालागि मलेसिया जान २ लाख ४० हजार रुपैयाँ म्यानपावर कम्पनीलाई बुझाउँदै छन् । एक लाख ४० हजार रुपैया बुझाई सकेका उनले बाँकी एक लाख रुपैँया पनि बुझाउने तयारी गरिरहेका छन् । क्याराभान म्यानपारवरले महिनामा ५० हजार कमाई हुने भन्दै उनलाई पैसातिर्ने भएमात्रै पठाउन सकिने नभए सम्भव नहुने बताएपछि उनी राम्रो पैसा कमाई हुने लोभमा पैसा तिर्न बाध्यभए ।

म्यानपावरले मलेसियामा रहेको रोमान्टीक कम्पनीमा राम्रो कमाई हुने र ओभर टाईम कामगर्न मिल्ने भएकाले दुई लाख ४० हजार रुपैँया दिर्नै पर्ने भन्यो । तर म्यानपावरलाई बुझाएको रकमबारे उनी खुलेर बोल्न मान्दैनन । म्यानपावर तथा एजेन्टले भनेका छन् ‘हामीलाई बुझाएको पैसाबारे भने तपाई जानपाउनु हुने छैन ।’ म्यानपावर संञ्चालिका गोलकुमारी श्रेष्ठले उनलाई थप १ लाख रुपैया लिएर आएको केही दिनमा नै विदेश उड्ने बताएकी छन् ।

कुवेतमा जानका लागि काभ्रेका मनिष दुवाडीले पनि १ लाख १६ हजारका बुझाई सकेका छन् । गार्मेन्ट कम्पनीमा कपडा सिलाइको काममा लगाउने र ९० कुवेती डिनार केडी दिइने भनिएको छ । त्यही काममा गएका व्यक्तिबाट बुझ्दा कसैले पनि ६० केडी भन्दा नपाएको थाहापाए पछि उनी अब नजाने तयारीमा छन् । बुझाई सकेको पैसा फिर्ता मागिरहेका छन् तर कम्पनीले दिएको छैन । म्यानपावर व्यवसायीहरुले दुईतर्फबाट नाफाखान खोजेको छन् । यसको कार्यान्वयन र प्रभावकारी अनुगमनको जिम्मेवारी पाएको सरकारी निकाय वैदेशिक रोजगार विभागमार्फत पनि कुनै काम हुन सकेको देखिन्न ।

केपीशर्मा ओली नेतृत्वको सरकारले फ्रि भिषा फ्रि टिकटलाई कार्यान्वयनमा ल्याउने आन्तरिक छलफल गरिरहेको छ । श्रम तथा रोजगार मन्त्रालयका सचिव लक्ष्मणप्रसाद मैनालीले मन्त्री गोकर्ण विष्टले त्यसलाई कार्यान्वयन गर्न छलफल गरिरहेको जानकारी दिए । ‘फ्रि भिषा, फ्रि टिकट कार्यान्वयनमा ल्याउने विषयमा सरकारले नयाँ ढंगले छलफल गरिरहेको छ’ सचिव मैनालीले नेपालपाटीसँग भने, ‘मन्त्री ज्यू छलफलमा हुनुहुन्छ यसमा केहीदिनमा निर्णय हुनेछ । ’

नक्कली रसिद

सरकारले सेवाशुल्क बापत बढीमा २० हजारमात्रै लिनपाउने व्यवस्था गरेको छ । तर, कम्तिमा७ ० हजारदेखि २ लाख रुपैँया सम्म तिरिरहेका छन् । बाहिर देखाउनको लागि १०–१२ हजारको रसिद बनाइदिन्छ । पैसा तिरेको प्रमाण नहुँदा कारवाही गर्न पनि अप्ठ्यारो परिरहेको वैदेशीक रोजगार विभागको भनाई छ । वैदेशिक रोजगार विभागमा अहिले एक दिनमा कम्तिमा २० उजुरी परिहेको रोजगार विभागको तथ्याङ्कले देखाएको छ । सुरुमा पैसा तिरेको कामदारले नभन्ने तर ठगिएपछि मात्रै उजुरी गर्दा कारवाहीमा समस्या परेको वैदेशीक रोजगार विभागका निर्देशक मोहनअधिकारीको भनाई छ ।

‘विदेश जानुअघि कामदारले केहीपनि भन्दैनन’ अधिकारीले नेपालपाटीलाई भने, ‘फर्केर आएपनि उनीहरुसँग सबै पैसा तिरेको रसिदवा प्रमाण हुँदैन, जसकाकारण व्यवसायी वा एजेन्ट उम्कन सजिलो भएको छ ।’ सरकारले २०७२ जेठ २६ गते मलेसिया तथा खाडी मुलुकमा जाने कामदारले भिसा र टिकटको रकम तिर्नु नपर्ने निर्णय गरेको थियो । बहराइन, कतार, साउदी अरब, यूएई, ओमान, कुबेत र मलेसियाजाने नेपाली कामदारकालागि रोजगारदाता कम्पनीले भिषा एवं आउनेजाने हवाइ टिकटको खर्च समेत व्यहोर्ने तथा कामदारको तलबबाट कुनै पनि खर्च नकटाउने सर्तमा मात्र श्रम स्वीकृति दिने निर्णय गरेको थियो ।

दोहोरो कमिसन

कामदार पठाए बापत नेपालका म्यानपावर कम्पनीले रोजगारदाताबाट सेवाशुल्क (कमिसन) पाउँछन् । उताका कम्पनीले भिषा फ्रि मै पठाउने गर्छ । यहाँ मेनपावर त्यसलाई बेच्ने गर्छन । नेपाली युवाहरु जसरी पनि विदेश जानुपर्ने लाइनमा लागेपछि व्यवसायीले त्यसकै फाइदा उठाइ रहेका छन् । म्यानपावरले श्रम बनाउन पनि लाग्ने भन्दा तेब्बर बढी पैसा लिइरहेका छन् । सरकारी निर्णय अनुसार रोजगारदाता कम्पनीले कामदारको टिकट र भिसा रकम बेहोर्ने भएपछि मात्र विभागले स्वीकृति दिनुपर्छ । रोजगारदाताले कमिसन उपलब्ध नगराएको आधिकारिक जानकारी विभागलाई दिएमात्र १० हजार रुपैयाँ लिन पाउँछन् । म्यानपावर कम्पनीले त्यसको रसिद अनिवार्य दिनुपर्छ । तर त्यो प्रक्रिया थाहा पाएर पनि रोजगारीमा जानेहरुले शुल्क तिरिरहेका छन् विदेश गइरहेका छन् । टिकट र भिषा फ्रि गरेपछि रोजगारीमा जान कामदारले ओरिएन्टेसन, मेडिकल, बिमा र कल्याणकारी कोषका लागि करिब ८ हजार रुपैयाँमात्र तिर्नुपर्छ । म्यानपावर कम्पनी र एजेन्टहरूले जथाभावी रकम लिन्छन् र रसदि दिदैनन ।

म्यानपावर कम्पनीले विभागबाट पूर्वस्वीकृति लिएपछि कामदार चाहिएको भन्दै विज्ञापन प्रकाशित गर्छन् । जसमा, कसैले सेवा शुल्क नलाग्ने र कुनैले १० हजार रुपैयाँ लाग्ने उल्लेख गरेका हुन्छन् विज्ञापन कानुनी प्रक्रियाअनुसार आउँछ तर काम र तलब राम्रो छ भनेर म्यानपावर र एजेन्टले पैसा असुल्ने गर्छन । तर तिरेको रकमको रसिद कामदारले नपाउँदा विभागलाई मुद्दा हेर्न समस्या देखिएको छ ।

अन्तर्राष्ट्रिय श्रम संगठनको महासन्धि १८१ अनुसार कामदार भर्नाकालागि रोजगारदाताले कुनै शुल्क लिन पाउँदैनन् । नेपालमा म्यानपावर कम्पनीहरूको अस्वस्थ प्रतिस्पर्धा र विदेशमा रोजगारदातासँग ‘डिल’ गर्न नसक्दा उतैका बिचौलिया मार्फत कामगर्दा पनि कमिसन बुझाएर यता असुल्ने गरिरहेको वैदेशीक रोजगार व्यववसायीलेनै स्वीकार गर्छन । बैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङ सरकार र व्यवसायी मिलेर तत्काल समाधानगर्नुपर्ने बताउँछन् ।

उजुरी बढ्दै

नेपालमा म्यानपावर व्यवसायीको संख्या७ सय ५३ छ । गतआर्थिक बर्षमा संस्थागत रुपमा म्यानपावर कम्पनीविरुद्ध १ हजार ४ सय ५० उजुरी परे, जसबाट ९ करोड रुपैयाँ म्यानपावर कम्पनी तथा अन्य व्यक्तिगत गरी १५ करोड रुपैयाँ क्षर्तीपुर्ती बिभागले उपलब्ध गराइसकेको छ । त्यसकालागि पीडितले उजुरी दिनुपर्छ ।

कुन देशमा कति लाग्छ ?

सरकारले देश अनुसार लाग्ने लागत तोकेको छ । बिदेशस्थित कम्पनीले इजाजतपत्रवाला संस्थाहरुलाई सेवाशुल्क रकम प्रदान नगरेको अवस्थामा मात्र माथिउल्लेखित सेवाशुल्क वापत अधिकतम १० हजार सेवाशुल्क लिनपाइनेछ । तर बैदेशिक रोजगारमा पठाउने म्यानपावरले तोकेभन्दा ५० गुणासम्म रकम अशुलीगर्दै आएका छन् । वैदेशिक रोजगारीको लागिकुन देशमा जान कति खर्च लाग्छ ?

मलेशिया – १० हजार
जापान– ५० हजार
बहराइन – १० हजार
कुबेत–१० हजार
लेबनान – ७० हजार
ओमन– १० हजार
पोल्याण्ड – ८० हजार ४ सय
कतार – १० हजार
रशिया– ८० हजार
साउदी अरब – १० हजार
दुवै – १०हजार

689 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank