कांग्रेस बैठक पटक–पटक स्थगित, अब कहिले बस्ला बैठक ?

शुक्रबार, भदौ २९, २०७५



काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक भदौ ९ गते बोलाइयो । तर, भदौ २१ गतेका लागि बैठक सारियो । त्यो बैठक पनि स्थगित गरेर २८ भदौमा बोलाइयो ।

कार्यसम्पादन र निर्वाचन समिति गठन लगायतका विषयमा सहमति जु्ट्न नसकेपछि बैठक फेरि स्थगित गरियो । कांग्रेसले बैठक शुक्रबार बस्न सक्ने जनाएको थियो । अब शुक्रबारको बैठक पनि टरेको छ ।

अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित भएको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ । समितिमा रहने नेताको नाम रामचन्द्र पौडेल पक्षले नदिएका कारण बैठक स्थगित भएको सभापति शेरबहादुर देउवा पक्षीय एक नेताले दावी गरे । २९ सदस्यीय कार्यसम्पादन समितिमा पदाधिकारी बाहेक १० जनासम्मको नाम दिन देउवाले पौडेललाई आग्रह गरेका छन् । तर, पौडेलले नाम दिएका छैनन् ।

सिनियर नेतालाई संयोजक नबनाइ फलानो नै हुनुपर्ने भन्ने अडान सभापतिले लिएपछि समस्या भएको पौडेल पक्षको दावी छ । देउवाले अनुशासन समितिको संयोजक भीष्मराज आङदेम्बेलाई बनाउने सोच बनाएका छन् । पौडेल पक्षले बलबहादुर केसीलाई अनुशासन समितिको संयोजक बनाउनुपर्ने अडान राखेको छ ।

अनुशासन, कार्यसम्पादन, निर्वाचन समिति विभाग गठन र क्रियाशील सदस्यताको विषय पनि टुंग्याउनुपर्ने अडानमा पौडेल र कृष्ण सिटौला पक्ष छन् ।

कांग्रेसका पूर्वमहामन्त्री समेत रहेका केन्द्रीय सदस्य कुलबहादुर गुरुङले अर्को बैठक बारे जानकारी नआएको बताए । रामचन्द्र पौडेल शुक्रबार नै विदेश जाने कार्यक्रम रहेकाले कांग्रेस बैठक अन्योलमा परेको एक केन्द्रीय सदस्यले बताए । पौडेल युरोप भ्रमणमा निस्कदैछन् ।

606 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank