निर्वाचनको समीक्षा गर्दै कांग्रेस नेताहरुले भने, पार्टी सिद्धान्तबाट सञ्चालन हुनुपर्छ

सोमवार, चैत्र १२, २०७४



काठमाडौँ । प्रतिनिधिसभा/प्रदेशसभा सदस्य निर्वाचनमा नेपाली काँँग्रेसको लोकप्रिय मतमा अग्रस्थान नै आएको तर प्राविधिक रुपमा सिट संख्या कम आउँदा आत्तिहाल्नु पर्ने अवस्था नआएको काँग्रेसका केन्द्रीय सदस्यहरुले चुनावी विश्लेषण गरेका छन् ।

तीनै तहका निर्वाचनको चुनावी समीक्षा र अगामी दिनमा नेकाले लिने रणनीतिका बारेमा शुक्रबारदेखि शुरु भएको केन्द्रीय कार्यसमितिको बैठकमा आज बोल्ने केन्द्रीय सदस्यले निर्वाचनपछिको परिस्थितिका बारेमा आ–आफ्नो धारणा राखेका थिए ।

उनीहरुले आगामी दिनमा पार्टीभित्र मौलाउँदै गएको गुटबन्दीलाई अन्त्य गर्दै पार्टी व्यक्तिबाट भन्दा सिद्धान्त, निष्ठा र आदर्शबाट सञ्चालन गर्नुपर्ने सुझाव नेतृत्वलाई दिएका थिए ।

विशेषगरी प्रतिनिधिसभा र प्रदेशभसभा सदस्य निर्वाचनमा पार्टीले आन्तरिक कारणले धेरै सिट गुमाउनुपरेको धारणा बैठकमा राख्दै आगामी दिनमा पार्टीलाई जीवन्त बनाइराख्न संगठन र कार्यशैली परिवर्तन गर्नुपर्ने खाँचोसमेत औँल्याएका थिए ।

बैठकमा आफ्नो धारणा राख्दै केन्द्रीय सदस्य रमेश लेखकले निर्वाचनमा प्राविधिक रुपमा पार्टीले पराजय भोगे पनि लोकप्रिय मतमा अग्रस्थानमै रहेको धारणा राखेका थिए । पार्टीका मुख्यसचिव कृष्ण पौडेलका अनुसार उनले आगामी दिनमा पार्टी संगठनलाई चुस्त बनाउन खाँचो रहेको कुरामा जोड दिएका थिए ।

अर्का केन्द्रीय सदस्य गोविन्द भट्टराईले पार्टीभित्रको एकतालाई अझ बलियो बनाउँदै पार्टीको सिद्धान्त र व्यवहारमा फरक हुन हुनु हुँदैन भनेका थिए । बैठकमा लक्ष्मी परियार र डिला सङ्ग्रौलाले अगामी दिनमा पार्टीलाई गतिशील बनाउन नेतृत्वको ध्यानाकर्षण गराएका थिए ।

नेका पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री देउवाको अध्यक्षतामा पार्टी कार्यालय सानेपामा शुरु भएको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, संसदीय दलका उपनेता विजयकुमार गच्छदारलगायत नेता तथा केन्द्रीय सदस्य सहभागी छन् ।

बैठकको शुरुको दिन शुक्रबार पार्टीका पूर्वमहामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलले निर्वाचनमा पराजयको प्रमुख कारण सभापति देउवाका कार्यशैली भएको आरोप लगाएका थिए भने अर्का नेता डा नारायण खड्काले यसको बचावट गरेका थिए ।

शनिबारको बैठकमा केन्द्रीय सदस्यहरु नरहरि आचार्य, दिलेन्द्रप्रसाद बडू, जीवनबहादुर शाही, नवीन्द्रराज जोशी, गुरुराज घिमिरे, कल्याण गुरुङ, वीरबहादुर बलायर र हरिप्रसाद नेपालले आ–आफ्नो धारणा राखेका थिए । बैठक जारी छ ।

133 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank