बहिष्कार गर्ने घोषणापछि कांग्रेस बैठक स्थगित

बिहिबार, अशोज २५, २०७५



काठमाडौं  । कांग्रेसको बिहीबार बोलाइएको केन्द्रीय कार्यसमिति बैठक आन्तरिक विवादका कारण स्थगित भएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षबाट बैठक बहिष्कारको घोषणा भएपछि सभापति शेरबहादुर देउवा बैठक स्थगित गर्ने निर्णयमा पुगेका हुन् ।

नेविसंघको विधानको पूर्ण स्वीकृतिका लागि सभापति देउवाले बैठक बोलाएका थिए। आइतबारको बैठकले नेपाल विद्यार्थी संघ (नेविसंघ) मा ३२ वर्षे उमेर हद लगाउने निर्णयमात्रै गरेको थियो। अन्य व्यवस्थासहित विधानको पूर्ण स्वीकृतिका लागि बिहीबारको बैठक बोलाइएको हो। केन्द्रीय कार्यसमितिको बैठक अर्को सूचना प्रकाशित नहुँदासम्मका लागि भनेर स्थगित गरिएको छ। संस्थापन पक्षीय एक केन्द्रीय सदस्यले अब दसैंपछि मात्रै बैठक राख्ने योजनामा सभापति देउवा रहेको बताए।

आइतबारको बैठकमा सभापति देउवाले बहुमतको बलमा विधि र प्रक्रिया मिचेर निर्णय लिएको भन्दै एक दिनका लागि संस्थापनइतर पक्षले बैठक बहिष्कार गर्ने निर्णय लिएका थिए। नेविसंघ केन्द्रीय कार्यसमितिले सर्वसम्मत रुपमा पठाएको विधानलाई लत्याएर पार्टीमा अर्के विधान ल्याइएको भन्दै संस्थापनइतर पक्षले केन्द्रीय कार्यसमितिको निर्णयमा फरक मतसमेत लेखेको छ।

पार्टीको विधानअनुसार भातृसंस्थाले बनाएको विधानको मस्यौदालाई कांग्रेस केन्द्रीय कार्यसमितिले स्वीकृत दिने व्यवस्था छ। तर, पार्टी नेतृत्वले संघले सिफारिस गरेभन्दा फरक विधान प्रस्तुत गरेर विधि र प्रक्रिया मिचेको आरोप पौडेल र सिटौला पक्षले लगाउँदै आएका छन्। संस्थापन पक्षले भने संघको ११ औं महाधिवेशनमै ३२ वर्षे उमेर हद लगाउने निर्णय भएकाले त्यसलाई कार्यान्वयनमा ल्याइएको बताउँदै आएका छन्।

विधान नपाउँदा नेविसंघको अधिवेशनको तयारी भने शून्य छ। कात्तिक १६ देखि १८ सम्म संघको १२ औं महाधिवेशन राजधानीमा हुने तिथी तय भइसकेको छ। तर, महाधिवेशन सुरु गर्नका लागि प्रारम्भिक तयारी पनि सुरु भएको छैन।

132 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank