आयोजकमाथि नेपालको बलियो जित, थाइल्यान्ड ९ विकेटले पराजित

बुधबार, फाल्गुन २१, २०७६



काठमाडौं । एसीसी इस्टर्न रिजन टि ट्वान्टी पुरुष क्रिकेट प्रतियोगितामा बुधबार नेपालले आयोजक थाइल्यान्डविरुद्ध सहज जित निकालेको छ । युवा ब्याट्सम्यानद्वय कुशल मल्ल र पवन सर्राफको आक्रामक ब्याटिङमा नेपालले  थाइल्यान्डलाई ९ विकेटले हराएको हो ।

थाइल्यान्डको बैंकक स्थित टेर्डथाई क्रिकेट मैदानमा थाईल्यान्डले प्रस्तुत गरेको ६७ रनको लक्ष्य नेपालले ५.३ ओभरमा १ विकेट गुमाउँदै पुरा गर्यो । यो नेपालले टि२० आईमा सबैभन्दा चाँडो लक्ष्य पूरा गरेको हो । नेपालको जितमा युवा ब्याट्सम्यान तथा ओपनर कुशल मल्ल १८ बलमा ५ चौका र २ छक्का सहित ३६ रनको अविजित इनिङ खेल्दै सहज जित दिलाए ।

त्यस्तै पवन सरार्फले १० बलमा २ चौका र ३ छक्का सहित २७ रनमा अविजित रहे । आजको खेलमा नेपालले ओपनर पारस खड्का र कुशल मल्ललाई पठाएको थियो । दोस्रो ओभरको तेस्रो बलमा पारस खड्का ठूलो सटको धुनमा अघि बढेर खेल्नेक्रममा ९ रनमा स्टम्पिङ आउट भए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको थाइल्यान्डले निर्धारित २० ओभरमा सम्र्पूर्ण विकेट गुमाउँदै ६७ रन बनायो ।

थाइल्यान्डका लागि हिनोन जोर्डानले सर्वाधिक १३ रन बनाए । त्यस्तै नविद पठानले ८ रन बनाए । बलिङतर्फ नेपालका लागि करण केसीले सर्वाधिक तीन विकेट लिए । त्यस्तै अविनाश बोहोराले दुई विकेट लिँदा भुवन कार्की र सन्दीप लामिछाने समान एक–एक विकेट लिए ।

नेपालले अन्तिम खेल शुक्रबार सिंगापुरसँग खेल्ने छ । नेपाल पहिलो खेलमा मलेसियासँग २२ रन र दोस्रो खेलमा हङकङसँग ४३ रनले पराजित भएको थियो ।

साथै आज हुने अर्को हङकङ र सिंगापुरको नतिजाले ठूलो प्रभाव पार्ने छ । हङकङले सिंगापुरलाई हराएको खण्डमा नेपालको एसिया कप छनोट खेल्ने सम्भावना कायमै रहने छ । सिंगापुरले जित्दा नेपालको एसिया कप छनोट खेल्ने सम्भावना सकिने छ । साथै नेपालले अन्तिम खेलमा सिंगापुरलाई फराकिलो अन्तरले हराउनुपर्छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments