स्वर्णको लागि भइरहेको खेलमा नेपालको अग्रता

मङ्लबार, मंसिर २४, २०७६



काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग) को पुरुष फुटबलको स्वर्ण पदकका लागि भइरहेको खेलको दोस्रो हाफको सुरुमै नेपालले अर्को एक गोल  गर्दै २-१ अग्रता लिएको छ ।  नेपालका लागि सुनिल पालले दोस्रो गोल गरेका हुन् ।

दशरथ रंगशालामा जारी खेलमा नेपालका लागि खेलको १६औं मिनेटमा अभिषेक रिजालले गोल गर्दै नेपाललाई अग्रता दिलाए । खेलको ३७औं मिनेटमा भुटानका लागि छेटु ग्याल्जेनले गोल फर्काएर खेललाई  एक–एक गोलको बराबरीमा ल्याएका थिए।

सन् १९९३ मा नेपालले साग फुटबलमा पहिलो पटक स्वर्ण पदक जितेको थियो । त्यो बेला टिमका खेलाडी रहेका बालगोपाल महर्जन अहिले प्रशिक्षक छन् । यसअघि भारतमा भएको १२औंमा पनि नेपालले फुटबलतर्फको स्वर्ण पदक जितेको थियो । अघिल्लो संस्करणमा भारतलाई हराउँदै नेपालले स्वर्ण जितेको थियो ।

यो संस्करणमा भारत र पाकिस्तानले फुटबलमा भाग लिएनन् । अहिलेसम्म नेपाल पाँच पटक फाइनलमा पुगेको छ । भुटान भने सागको इतिहासमा पहिलो पटक फाइनलमा पुगेको हो ।

यसअघि  नेपालले भुटानलाई ४-० गोलले पराजित गरेको थियो । भुटानले जारी सागमा बंगलादेशलाई १–० ले, माल्दिभ्सलाई २–१ र श्रीलंकालाई ३–१ ले हराएर फाइनलमा आइपुगेको हो ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments