२४ बर्षकी युवतीको स्नेही काखमा ३१ सन्तान

बिहिबार, चैत्र २२, २०७४

- बविता ढकाल



साँझको पाँच बज्नै लागेको थियो । गर्मीसंगै सुरु भएको हावाहुरी चल्ने मौसममा एक्कासी पानी पर्ला झैं भएर आकाशमा बादल मडारीरहेको थियो । ललितपुरस्थित कुसुन्ती हाइटमा रहेको एउटा पर्खालसहितको घरमा खुलेको आकाश जस्तै शान्त र निश्चलता देखिन्थ्यो । भर्खरकी युवती साना दुधे बालकदेखि प्रौढ उमेरका महिलाको रेखदेखमा ब्यस्त थिइन् । २१ जना महिला लहरै बसेर खाजा खाइरहेका थिए । केही केटाकेटी पनि । सबैलाई कतै न कतै सडकबाटै उठाएर ल्याइएको थियो ।

snehi 2

मानसिक सन्तुलन ठीक नभएकै अवस्थामा ‘नेपाल स्नेही काख’ संस्थाको घरमा पुगेका उनीहरु विस्तारै तङ्ग्रीदै छन् । यो एउटा यस्तो संस्था हो जहाँ मानसिक रोगबाट विक्षिप्त भएर सडकमा पुगेकाहरुलाई उद्दार गरिन्छ । २४ बर्षकी युवती श्रीनेहा पोखरेल तीनै बालबालिका र महिलाको अभिभावक बनेकी छिन् ।

shrineha 1

किन सेवामा ?
जीवनमा सम्हाल्न कठिन भनेकै मन र मस्तिष्क हो । दुवै विक्षिप्त भएर मानसिक सन्तुलन गुमाएका एकजनालाई मात्रै पनि सम्हाल्न झन कति कठिन होला ? तर श्रीनेहा त यिनीहरूसँग हरेकपल बिताउँदै छिन् । २५ टेक्दै गरेकी युवती यी सारा समस्याबीच रमाउन कसरी सकिन ? कुरा गर्दै जाँदा उनले त्यसको पनि राज खोलिन । १६ बर्षे किशोरावस्थामा कसैले बगिरहेको फोहर पानी खाएको देखेपछि पोलेको मन तीनै मान्छेको उद्धार र स्याहारपछि शान्त भएको थियो । एक गाँस भात खान पाए वापत देखिएको ती व्यक्तिको खुसीले श्रीनेहालाई समाजसेवा तिर डोर्याएको थियो । त्यहीबाट सुरु भयो सामाजिक सेवाको पहिलो औपचारिक यात्रा ।

एक दिन ‘भात खान मन छ ?’ भनेर सोधेँ । इच्छा व्यक्त गरेपछि घरमा गएर खाना पकाएर ल्याएँ । खाना खुवाउनुअघि हात धोइदिँदा उहाँ नराम्रोसँग रुनुभयो । त्यही उहाँको आँशुले मलाई कयौंको खुसी फर्काउने बाटोतिर मोडिदियो ।’ आमाले सञ्चालन गरकोे नवीकरण अनाथ असहाय बालउत्थानले पनि श्रीनेहालाई समाजसेवामा लाग्न प्रेरित गरिरहेको थियो ।

सामान्य परिवारमा जन्मिएकी श्रीनेहाले बुवाको माया पाउन सकिनन् । सानै छँदा बाबुको मृत्यु भयो । श्रीनेहाको सिंगो संसारका रुपमा आमाको यात्रा समाजसेवातिर थियो । पारिवारिक अवस्था र जिम्मेवारीले ८ कक्षामा नै जागिर गर्नुपर्ने बाध्यता थियो ।

यसरी जन्मियो स्नेही काख
एकजना पुरुषको उद्धार र उपचारपछि श्रीनेहाको मन सडकमा भेटिएका मानसिक सन्तुलन गुमाएका महिलातिर तानियो । एकजनालाई गरिएको त्यो उद्धारले चर्चा भएपछि बालुवाटारबाट फोन आयो ‘एक जना दिदी अर्धनग्न अवस्थामा बाटोमा हुनुहुन्छ । आउनुपर्यो ।’ लगत्तै बालुवाटार पुगेकी श्रीनेहाले उनको उद्धार त गरिन तर कहाँ राख्ने समस्या आइपर्यो । घरमा राख्नसक्ने अवस्था थिएन । साथीभाईको सहकार्यमा उद्धार गर्दा गर्दै ८, ९ जना पुगेपछि घरको आवश्यकताले नेपाल स्नेही काख नामक सस्था संचालन गर्ने निष्कर्षमा पुगिन् ।

आठ वर्षअघि स्थापना भएको नेपाल स्नेही काखको घरमा अहिले २१/२२ जनालाई राखिएको छ । जहाँ सडकमा विक्षिप्त अवस्थामा भेटिएकाहरुलाई उद्धार गरेर राखिन्छ । उनीहरुको स्वास्थ्य जाँच गराउनेदेखि बालबालिकालाई पढाउनेसम्मका काम श्रीनेहाको जिम्मेवारीमा छ । श्रीनेहा भन्छिन्, ‘हामीले यस्तो अवस्थामा पनि महिलालाई भेटेका छौं । जसलाई एचआईभी पोजेटिभ भएको थियो । कोहीलाई भिरङी लागेको थियो । कोहीको त गुप्ताङ नै कुहिएको थियो ।’

बलात्कार हुँदाहुँदैको महिलाको उद्धार गरेको नमिठो अनुभव पनि उनीसँग छ । ‘पहिला त लाग्यो आफ्नो मान्छेले लछारपछार पार्यो होला, तर हामी अलि नजिक गयौं । लछारपछार पार्दै गरेका ३ जना भागे ।’ उनले भनिन, ‘सोधेपछि मात्रै थाहा भयो उनीहरु बलात्कार गर्ने प्रयासमा रहेछन् । अनि उनलाई सँगै लिएर आयौं ।’ उनका अनुसार जतिपनि महिला र बालिकाको उद्धार हुन्छ । स्नेही काखले सडकमा भेटिएका महिला, पुरुष दुवैको उद्धार गर्छ तर आश्रममा भने बालिका र महिलालाई मात्र राखिन्छ ।

कसरी चल्छ अभियान ?
श्रीनेहा रंगकर्मी हुन् । उनले थुप्रै म्यूजिक भिडियोमा अभिनय गरेकी छिन् । सहयोगी हात र उनकै परिश्रमबाटै संस्था चलिरहेको छ । संस्थामा सातजना छन् । केशवप्रसाद रिजाल, रिमला पोख्रेल, प्रदीप पोख्रेल, रोनी श्रेष्ठ, राहुल श्रेष्ठ र सन्जोग श्रेष्ठ सबै जनाको लगाव उत्तिकै छ । उनीहरुले कमाएकोे पैसा खर्च गरेर संस्था चलेको छ । कहिलेकाँही कोही व्यक्तिहरु आफ्नो जन्मदिन, म्यारिज एनिभर्सरी, सेलिब्रेट गर्न सस्थामा पुग्नेहरुले पनि सहयोगको सानो बाटो जुराएको छ । स्नेही काखमा राखेका महिलालाई खाना खुवाउन मःम बेचेको संघर्ष पनि उनीहरुसँग छ । श्रीनेहा भन्छिन, ‘जो मानसिक रोगले विक्षिप्त छन्, उनीहरुलाई घरपरिवार र सरकारले उचित स्याहार र स्वास्थ्य उपचारको प्रवन्ध मिलाइदिनुपर्छ । सबै भन्दा ठूलो हात घरपरिवारकै हुन्छ ।’

‘मैले आजसम्म खेलेका म्युजिक भिडियो, सानो पर्दाका चलचित्र, नाटकलगायतको पारिश्रमिक पनि यहीँ खर्चिएको छु ।’ तीनै महिलातिर देखाएर मुस्कुराउँदै श्रीनेहाले जवाफ दिइन । घरभाडा र उपचारखर्चमा मासिक एक लाख २० हजार आवश्यक पर्छ । सहयोगी मन भएकाहरूले कहिलेकाहीँ दाल चामल किनेर पुर्याइदिने गर्छन् । उनी भन्छिन्, ‘यस्ता व्यक्तिहरु मायाको भोका हुन्छन्, उनीहरुलाई प्रेम दिने हो भने पनि आधा भन्दा बढी रोग ठिक हुन्छ ।’

578 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank