अतिक्रमणबारे भारतसँग वार्ता शुरु भइसक्यो : मन्त्री ज्ञवाली

मङ्लबार, कार्तिक २६, २०७६



परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतद्वारा अतिक्रमित कालापानी क्षेत्र फिर्ता गर्नेबारे भारतसँग वार्ता  शुरु भइसकेको बताएका छन् । भारतले जारी गरेको नयाँ राजनीतिक नक्सामा नेपाली भूभाग लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई पारेपछि नेपालमा त्यसको चर्को विरोध भइरहेको छ ।

यही सन्दर्भलाई ध्यानमा राखेर मिनी संसद्समेत भनिने प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले सोमबार परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई बोलाएर छलफल गरेको थियो ।

संसदीय समितिमा परराष्ट्र सचिव शंकारदास वैरागीसहित उपस्थित भएका मन्त्री ज्ञवालीले भारतले नयाँ नक्सामा नेपाली भूमिसमेत समेटेको सन्दर्भ, सो भूमि नेपालकै हो भन्ने प्रमाणित गर्ने नेपालसँग भएका प्रमाण र नेपालले अब चाल्ने कदमबारे ‘ब्रिफिङ’ गरेका थिए ।

मन्त्री ज्ञवालीले भारतले कालापानी क्षेत्रमा अतिक्रमण गरेको नेपाली भूमि फिर्ता गराउन भारतसँग वार्ता थाल्न सम्पर्क शुरु भइसकेको सांसदहरूलाई जानकारी गराएका थिए । ‘भारतसँग हाम्रो सम्पर्क शुरु भइसक्यो,’ मन्त्री ज्ञवालीले भने, ‘दिल्लीस्थित नेपाली दूतावासले भारतीय विदेश मन्त्रालयसँग वार्ता थालिसकेको छ ।’

परराष्ट्रमन्त्री ज्ञवालीको भनाइलाई पुष्टि गर्ने गरी सोमबार नै भारतस्थित नेपाली दूतावासले ट्वीट गर्दै राजदूत नीलाम्बर आचार्यले शुक्रबार भारतीय विदेश सचिव विजय गोख्लेसँग भेट गरेको जानकारी दिएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata