नेपाल–भारत सम्बन्ध मजबुत हुँदै छ : रणजीत राय

सोमवार, चैत्र १२, २०७४

अहिले नेपाल–भारत सम्बन्ध राम्रो छ । हालसालै पत्रकारहरूको प्रतिनिधिमण्डलबाहेक वाणिज्यमन्त्री मात्रिका यादव, अर्थमन्त्री युवराज खतिवडा दिल्ली आएर जानुभएको छ । कांग्रेस र एमालेका दुईवटा प्रतिनिधिमण्डल आएर फर्किएका छन् । नेपाल–भारत सम्बन्ध मजबुत हुँदै गएको यो सन्देश हो । नेपालमा संविधान जारीसँगै कार्यान्वयन भएको छ ।

केही चुनौतीबीच नेपाल अघि बढेको छ र नेपाल मजबुत हुँदै गएको छ । नेपालले विकासको गति लिनुपर्नेछ । भारतले लो इन्कम देशबाट मिडिल इन्कम देशमा आफूलाई उभ्याउनुपर्नेछ भने नेपालले अल्पविकसितबाट विकसित देशमा आफूलाई फड्को मार्नुपर्नेछ ।

अब कोसी, कर्णाली परियोजना अघि बढ्नुपर्छ । १० वर्षपछि जलविद्युत् उत्पादनको बहस सान्दर्भिक नहुनसक्छ, अहिले यसमा सुरु गर्नुपर्नेछ । अरुण तेस्रो सुरु हुँदै छ, माथिल्लो कर्णालीमा केही समस्या छन्, ती पनि हल होलान् ।

नेपालसँग अब भूराजनीतिक इस्यु छैन । वामपन्थी सरकार आएको छ, तर यसले आर्थिक साझेदारीमा केही फरक पर्दैन । चीनमा पनि वामपन्थी सरकार छ, त्यसले के फरक परेको छ ? भारत छिमेकका कुनै पनि सरकारसँग डिल गर्न तयार छ । यो अबको इस्यु नै होइन ।

नेपालले संसारसँग पहुँच बनाउने कुरामा केही समस्या छैन । चीनको नेपालमा व्यापार कलकत्ता हुँदै भएको यथार्थलाई बिर्सन मिल्दैन । यो यथार्थ छँदै छ, भौगोलिक रूपमा नेपाल–भारत सम्बन्धको यथार्थलाई कसैले नकार्न सक्दैन । नेपालले दुई छिमेकीबाट फाइदा कसरी लिने, उसले सोच्नुपर्छ ।

नेपाल जलविद्युत् क्षेत्रको विकास गर्न चाहन्छ कि चाहन्न ? स्पष्ट हुनुपर्ने समय आएको छ । सहकार्यका सन्दर्भमा नेपाल र भारत दुवैतिर खुला दिमागमा छलफल हुनुपर्छ । यस सन्दर्भमा बंगलादेश, नेपाल र भारतबीच सहकार्य गर्न सकिन्छ । द्विपक्षीय र उपक्षेत्रीय तहमा छलफल गरेर लाभ लिन सकिने अवस्था हुनसक्छ ।

भारतले नब्बेको दशकमा युरोपमा परियोजनाको प्रस्ताव बोकेर रोड सो गरेको थियो । नेपालले अब भारतमा यस्तै गर्नुपर्छ । लगानीका अवसर, परियोजनाको विवरण नै बोकेर प्रचार गर्नुपर्छ, भारतीय लगानीकर्ता आकर्षित हुनसक्छन् । औद्योगिक वातावरण भएको सन्देश दिनुपर्छ ।

के सोच्दै छ भाजपा ?
भाजपाका एक नेताले विगतमा नेपालप्रति बिग ब्रदर एटिच्युड (बडे भाइ मानसिकता) अपनाइएको, तर वर्तमान सरकारले त्यसलाई परिवर्तन गर्न खोजेको बताए । ‘नेपाल इक्वल कन्ट्री हो । नेपालसँग हाम्रो इक्वल ब्रदर रिलेसनसिप हो । नेपालसँग समानताका आधारमा सम्बन्ध स्थापित गर्ने हाम्रो सरकार र भारतीय जनता पार्टीको नीति हो,’ विदेशमन्त्री सुष्मा स्वराजसँग निकट ती नेताले नयाँ पत्रिकासँग भने, ‘वामपन्थी सरकारसँग त्यही आधारमा हामी सम्बन्ध सञ्चालन गर्छौँ ।’

एमाले र माओवादीको करिब दुईतिहाइ बहुमत आएपछि नयाँ सरकारसँग सहकार्य गरेर जाने गरी भारतले तयारी थालेको ती नेताले सुनाए । ‘निर्वाचनको परिणाम र जननिर्वाचित सरकारलाई सम्मान गर्दै सम्बन्ध विकसित गर्नुपर्छ भन्ने निष्कर्षमा भाजपा नेतृत्व पुग्यो, त्यही आधारमा प्रधानमन्त्री मोदीले ओलीजीसँग संवाद शृंखला अघि बढाउनुभयो र विदेशमन्त्री सुष्मा स्वराजलाई नेपाल पठाउनुभएको हो,’ उनले भने, ‘परिणामतः भारतले ओलीलाई दिल्लीमा शीघ्र स्वागत गर्दै छ । अब सम्बन्ध थप मजबुत हुनेछ ।’ नयाँपत्रिकाबाट

183 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank