आठ वर्षपछी नेपाल र भुटानबीच वाणिज्य वार्ता हुँदै

बिहिबार, भदौ १२, २०७६



काठमाडौं । द्विपक्षीय व्यापार सम्बन्धमा संवाद टुटेको आठ वर्ष पछि नेपाल र भुटानबीच तेस्रो वाणिज्य वार्ता बिहीबार काठमाडौंमा शुरु भएको छ । वार्तामा दुई देशबीचको वाणिज्य व्यापार सहजीकरणमा छलफल केन्द्रित हुने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

वार्तामा भुटानी प्रतिनिधिमण्डलको नेतृत्व भुटानी अर्थमन्त्रालयका व्यापार महाशाखा निर्देशक सोनाम तेन्जिङले गरेका छन् भने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व उद्योग–वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालले गरेका छन् ।

नेपाली वार्ता टोलिका प्रमुख सहसचिव ढकालका अनुसार वार्तामा नेपालले द्विपक्षीय व्यापार सम्झौता गर्ने गरी तयारी गरेको छ ।  ‘भुुटानी प्रतिनिधिमण्डलले तयारी कस्तो गरेको छ त्यसैका आधारमा ब्यापार सम्झौता तय हुनेछ,’ सहसचिव ढकालले भने ।

वार्तामा सहजीकरण गरिरहेकी उद्योग–वाणिज्य तथा आपूर्ति मन्त्रालयकी क्षेत्रीय व्यापार शाखा प्रमुख उपसचिव सिर्जना तिवारीका अनुसार आयात–निर्यातमा एक अर्को देशलाई दिन सकिने सहुलियतबारे वार्ता केन्द्रित हुनेछ ।

‘दुई देशबीचको व्यापार मार्ग, निर्यात र आयातमा अनुदान एवं कर छुट तथा दुई देशबीचको व्यापार बढाउन सरकारी तहबाट गरिने पहलमा छलफल हुनेछ,’ उपसचिव तिवारीले भनिन् ।

नेपाली व्यवसायीहरुले भुटानसँग गर्न सक्ने व्यापारबारे सुझाएका वस्तु किटेरै नेपालले भुटानसँग सहुलियत र कर छुटबारे प्रस्ताव राख्ने तयारी गरेको उपसचिव तिवारीले जानकारी दिइन् । नेपालबाट भुटानमा साबुन, चाउचाउ र चाउमिन मात्र निकासी हुने गरेको छ ।

यता, नेपालले भुटानबाट कोइला तथा निर्माण उपकरणहरु आयात गर्ने गरेको वाणिज्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार नेपालमा भुटानबाट एक अर्ब हाराहारीको आयात हुनेगरेको छ भने निर्यात १ करोड मात्रै छ । नेपाल भुटान द्विपक्षीय पहिलो व्यापार वार्ता सन् २०१० मा काठमाडौमा भएको थियो ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata