एमाले र माओवादी विघटन, नेकपाको पहिलो बैठक बालुवाटारमा बस्यो

बिहिबार, जेष्ठ ३, २०७५



काठमाडौँ । नेकपा एमाले र नेकपा माओवादी केन्द्र विघटन भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको दुवै दलको संयुक्त बैठकमा विघटनको घोषणा गरिएको हो ।नेकपाका केन्द्रीय सदस्यहरुले बालुवाटारमा सामुहिक सपथ लिएका छन् ।  त्यसअघि अध्यक्षद्धय केपी ओली र प्रचण्डले एकाअर्कालाई सपथ गराएका थिए ।

यस्तो सपथ
म……. नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्यको जिम्मेवारी लिइरहेको यस महत्वपूवर्ण घडीमा सहिदको रगतद्वारा रञ्जित पार्टी झण्डा सामु उभिएर प्रतिज्ञा गर्दछु:

म पार्टीको मार्गदर्शक सिद्धान्त, कार्यक्रम र नीतिलाई दृढताका साथ अनुशरण गर्दै पार्टी विधानलाई इमान्दारिताका साथ पालना गर्नेछु । पार्टीको गोपनीयता तथा एकता जोगाउँदै स्वच्छ एवम् नैतिक आचरणयुक्त जीवन बिताउने छु र सबैखाले प्रतिक्रियावादी शक्ति, गलत विचार र गलत व्यवहारका विरुद्ध दृढतापूर्वक जुझिरहनेछु ।

–नेपाली क्रान्ति जिन्दावाद !
– मार्कसवाद–लेलिनवाद जिन्दावाद !
–अमर सहिदहरु लालसालम !
–नेपाल कम्युनिष्ट पार्टी–जिन्दावाद ! जिन्दावाद ! !

बैठकले एमाले र माओवादी केन्द्रको नाममा रहेका सबै सम्पत्ति नयाँ पार्टीमा सर्ने निर्णय भएको छ ।

बैठकमा एकता प्रक्रियाका बारेमा एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले जानकारी गराएका छन् । बैठकमा दुवै पार्टी विघटन भएको र नयाँ पार्टी गठन गरिएको जानकारी दिइएको थियो ।

यसअघि प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रसँगको पार्टी एकताका बारेमा केन्द्रीय समितिको बैठकलाई जानकारी गराएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको एमाले केन्द्रीय समितिको अन्तिम बैठकमा अध्यक्ष ओलीले ऐतिहासिक आवश्यकता र जनचाहनाबमोजिम दुई पार्टीको बीचमा एकता भएको बताए ।

उनले टुटफुटको विगतको इतिहासलाई समेत आफूहरुले नजिकबाट नियालेको र भोगेको भन्दै देश र जनतालाई समृद्धिको दिशामा अगाडि लैजाने लक्ष्यका साथ एकता प्रक्रिया अगाडि बढेको जानकारी गराएको एमाले प्रचार विभाग प्रमुख एवं सचिव योगेश भट्टराईले जानकारी दिए ।

ओलीले एकता प्रक्रियालाई सार्थक निष्कर्षमा पु¥याउन भएका प्रयासका बारेमा केन्द्रीय समितिलाई जानकारी गराउँदै आगामी दिन एकताबद्ध भएर जानसमेत केन्द्रीय सदस्यहरुसँग आग्रह गरे ।

संघीय संसद्, प्रदेश, स्थानीय तहमा समेत वाम शक्तिको सुविधाजनक बहुमत रहेको सन्दर्भ जोड्दै अध्यक्ष ओलीले दुई ठूला पार्टीको एकताले स्वदेशी तथा विदेशी समुदायमा समेत खुशीको सञ्चार भएको बताए ।

उनले एकीकृत पार्टीले माक्र्सवाद र लेनिनवादलाई मार्गदर्शक सिद्धान्तका रुपमा अंगिकार गर्ने र तत्कालीन कार्यक्रमका रुपमा ‘समाजवाद उन्मुख जनताको जनवाद’ लाई अंगिकार गर्ने सहमति भएको जानकारी दिएका थिए ।

नौजनाको हेडक्वार्टर 
एमाले र माओवादी केन्द्रको एकतापछि नौ सदस्यीय हेडक्वार्टर बन्ने भएको छ । एकता संयोजन समितिमा रहेका आठजना र थप एक सदस्य रहने गरी सो व्यवस्था गरिएको भट्टराईले जानकारी दिए ।

एकता संयोजन समितिमा रहेका केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’, झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, ईश्वर पोखरेल र रामबहादुर थापा हेडक्वार्टरमा रहनेछन् । सो समितिमा विष्णु पौडेललाई थप गरिएको छ । पौडेललाई संगठनको काम गर्ने गरी महासचिव एवं नारायणकाजी श्रेष्ठ पार्टी प्रवक्ता रहने सहमति भएको छ ।

माओवादीको केन्द्रीय सचिवालय बैठक
यस्तै, पार्टी एकताका बारेमा माओवादी केन्द्रको सचिवालयको बैठकमा अध्यक्ष प्रचण्डले पार्टी एकताको विषयमा जानकारी गराएका छन् । प्रचण्डको निवास खुमलटारमा बसेको बैठकमा एकताका बारेमा जानकारी गराइएको थियो । बैठकमा स्थायी समिति र केन्द्रीय समितिमा रहने सदस्यका बारेमा छलफल भएको थियो ।

280 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank