नेकपा शक्तिसन्तुलनमा उथलपुथल !

नेपालपाटी टिप्पणी

सोमवार, भदौ २, २०७६

- दीपेन्द्र पाण्डे



तत्कालिन एमाले अध्यक्ष झलनाथ खनाललाई तटस्थ राख्दै कमरेड वामदेवसँग शक्ति र सुविधा बाँडफाँड गर्ने गोप्य मन्त्रणा गर्दै एमालेको नवौं महाधिवेशनमा कमरेड ओली मैदानमा ओर्लिए। पुर्व सहमतिलाई अक्षरस पालना गर्दै कमरेड वामदेव गौतम ओलीलाई अध्यक्ष बनाउन एउटा युद्धकै शैलीमा खटे। आफ्नो तर्फबाट कमरेड ओलीको निम्ति सबै शक्ति परिचालन गरेका कमरेड गौतमले अध्यक्ष ओलीबाट सहमति पालना नभएको महशुस मात्र गरेनन। राजनीतिक अस्तित्वको लडाई लड्न समेत विवश बनाइए ।

अनेक उतारचढाव देख्दै र सहदैं अध्यक्ष ओलीको विचित्रको घेराबन्दीमा परेको महशुस गरेका कमरेड वामदेव गत संसदीय निर्वाचनमा अकल्पनिय पराजय भोगेसँगै भूमिकाको खोजीमा भौंतारिएका थिए । ‘वानेश्वर’ र ‘रामवीर’ तीरलाई अध्यक्ष ओलीले निरर्थक एवम धरासायी बनाउने कमरेड ओलीको सफलता पछि निरास वामदेव उचित मौका कुरेर बस्दै थिए।पछिल्लो कालखण्डमा प्रधानमन्त्री ओलीको आफ्नै शैलीको कारण पार्टी सचिवालयमा अल्पमतमा परेसँगै बदलिएको शक्तिसन्तुलन र अध्यक्ष ओलीको स्वास्थ्यको कारण वामदेवको आवश्यकता अचानक ओलीको निम्ति वाध्यात्मक बनी दियो ।

कमरेड प्रचण्डको ‘फडको’ मिसाइलबाट भरमार सिकेका कमरेड वामदेव ओलीको मजबुरीको फाइदा उठाउन तयार हुँदा नेकपा राजनीतिको शक्तिसन्तुलन रातारात परिवर्तन हुन पुगेको छ। करिब १४ महिना देखी अध्यक्ष ओलीले खोजेको उत्तराधिकारी फेला नपरेको समयमा सिंगापुर उपचारबाट फर्किनासाथ द्रुतगतिमा सम्पन्न गरिएका पार्टीका काम हेर्दा राजनीतिले वाध्यात्मक परिवर्तनको संकेत गरेको देखिन्छ। पार्टीभित्र एकपक्षीय ढंगले शासन चलाई रहेका कमरेड ओली पछिल्लो समयमा पार्टीभित्रका असन्तुष्ट कमरेडहरुलाई वाध्यात्मक व्यवस्थापन गर्न राजी हुनुले नेकपामा ठूलो उथलपुथल हुँदै गरेको मान्न सकिन्छ। अध्यक्ष ओलीको स्वास्थ्य कमजोर भएपनि ‘ओली गुट’को स्वास्थ्य कमजोर हुन नदिने रणनीति अनुरुप खोजिएको उपयुक्त पात्र कमरेड वामदेव नै हुनसक्ने निचोड पछि कमरेड ओली ‘द्रुतगति’मा दिन दुई गुना रात चौ गुना पुरस्कृत गर्दैछन । फलस्वरुप संगठन विभाग, पार्टी उपाध्यक्षमा बढुवा गर्दै कमरेड ओलीले एक चरणको ॠण तिरेका छन । जसले नेकपा राजनीतिमा नयाँ तरङ्ग निम्त्याएको छ ।

वरियता विवाद, झलनाथलाई सम्मान :

अध्यक्ष ओलीले व्याक्तिगत हितलाई ध्यान दिँदै पार्टी एकताको समयमा जन्माएको वरियता विवाद एकपटक पुन: उजागर हुँदै छ ।  प्रतिबन्धित माले कालमा सिपि मैनालीलाई राजनीतिक ‘कु’ गरेसँगै उदाएका झलनाथ, मदन भण्डारीको उदयसँगै ‘राजनीतिक बादल’मा लुक्न विवश बनाइए । कमरेड  भण्डारीको निधन पछी बाध्यात्मक सहयोग लिए पनि कमरेड ओलीले माधव र खनालबीच सम्बन्ध सुमधुर  बन्न दिएनन् । पार्टी एकताको  १४ महिना पछि नेकपाले बिउँतिने कोशीस गर्नासाथ सुसुप्त अवस्थामा रहेको वरियता विवाद जुर्मुराएको छ । निवर्तमान अध्यक्षलाई दोस्रो दर्जामा राख्ने पुर्व एमालेमा बसाइएको परम्परा नेकपा निर्माणसँगै नियोजित तवरले खल्बल्याइयो। दुई पार्टीका अध्यक्षलाई नेकपा अध्यक्ष बनाउदै जन्माइएको नेकपामा दोस्रो दर्जाका नेता झलनाथ खनालको वरियता विचित्र ढंगले खोस्दै कमरेड नेपाललाई दिइयो। उक्त कार्यको डटेर विरोध गरिरहेका नेता खनालले पार्टीमा वरियता सम्बन्धी प्रस्ताव विधिवत रुपमा पेश गरेपछि नेकपा राजनीति नयाँ मोडमा प्रवेश गरेको छ ।

स्कूल विभाग प्रमुखमा ईश्वर पोखरेल र संगठन विभाग प्रमुखमा वामदेव चयन हुँनासाथ वरियता सम्बन्धी विवाद मुखरित हुनु र कमरेड पोखरेलले ‘कमरेड झलनाथ खनाल हाम्रो पार्टीको वैधानिक वरिष्ठ नेता हो ।’ भन्नुले नेकपा राजनीतिमा ‘नयाँ खिचडी’ पाक्दै गरेको देखिन्छ ।  ‘कमरेड खनालले त्रुटि सच्याउनुपर्ने कुरा गम्भीरतापूर्वक उठाउनुभयो। यो विषय बैठकको एजेण्डा बनेको छ, आगामी बैठकमा गम्भीर छलफल हुन्छ।’ भन्ने कमरेड पोखरेलको धारणा पछी खनाल, गौतम र पोखरेल एकै कित्तामा पुगेको अनुमान गरिदै छ ।

 नेपालको ‘पासा’ :

विगतमा ओली – प्रचण्डले पन्छाउँदै आएको प्रस्ताव गत शुक्रबार अचानक छलफलमा ल्याइनुलाई प्रचण्ड – नेपालले अर्थपूर्ण रुपमा लिएका छन । आफ्नो वरियता खोस्ने राजनीतिक चालबाजीलाई सुक्ष्म ढंगले विश्लेषण गर्दै कमरेड नेपालले पासा फ्याकेका छन । विगतमा पार्टी अध्यक्ष खनाललाई चक्मा दिँदै ओली – गिरिजा बाबुको समर्थनमा प्रधानमन्त्री बन्न सफल नेपालको राजनीतिले मन बिझाएका खनाल गौतम – प्रचण्डलाई साथ लिदै प्रधानमन्त्री बने पनि टिक्न सकेनन। पुर्व एमाले कालको राजनीति नेकपाको वरियता विवादमा प्रवेश गर्ने गराउने खेल कमरेड नेपालले फालेको ‘पासा’मा सजिलै देखा पर्छ । पुर्व एमालेका तीन उपाध्यक्षहरु अष्टलक्ष्मी साक्य, युवराज ज्ञवाली र भिम रावललाई सचिवालय सदस्य बनाउनु पर्छ भन्ने नेपाल ‘पासा’लाई प्रचण्ड – ओलीले समर्थन गर्ने अवस्था नरहेको हुँदा तत्कालको निम्ति झलनाथले बाजी मार्दै जितेको वरियताको ‘पिलो’ले केहि समय नेकपामा दु:ख दिनेछ  ।

रक्षात्मक नेपाल !

विधि, विधान,प्रकृया, नीति, नियम, सिद्धान्तको वकालत गर्नासाथ दुई अध्यक्ष एकहुने अवस्थाबाट आजित बनेका नेपाल ठूलो पेलानबाट पनि समाप्त भएनन । ओली- प्रचण्डको शक्तिको अगाडि रक्षात्मक बनेका नेपाल पछिल्लो शक्तिसन्तुलन पछि नयाँ समस्यामा फसेका छन । सेक्टरकाण्ड पछि दोस्रो स्थानको अनुभव नलिएका प्रचण्ड नेकपा निर्माणसँगै नाम मात्रको अध्यक्ष रहे पनि ओलीसँग ‘टसल’ गरेर भन्दा पनि लेनदेन बाटै फाइदा लिन तम्सेका छन । वामदेव गौतम ओलीसँग टाढिएपछि नेकपामा निर्णायक बनेका नेपाल पछिल्लो समय वामदेव ओली कित्तामा समावेश  भएसँगै फेरि एकपटक रक्षात्मक बन्न पुगेका छन । नेकपा राजनीतिमा उचित समयमा उठाइने मदन भण्डारी र ‘जबज’को पेलानलाई सकार्दा वा नकार्दा नोक्सान मात्र देखेका नेपाल, ओली – प्रचण्डको पछिल्लो लेनदेन पछि फेरि एकपटक अस्तित्वको लडाई लड्न  बाध्य हुँदै छन ।

पश्चातापको मुल्य पाउँदै प्रचण्ड :

नेकपा निर्माण गर्दा आलो पालो बैठकको अध्यक्षता गर्ने भन्दै नेकपा अध्यक्ष बनेका प्रचण्ड १४ महिना पुग्दा पनि बैठकको अध्यक्षता गर्न पाएका छैनन । असीमित धैर्य गर्दै बामदेव र झलनाथलाई तताउन सफल हुँदा पनि कमरेड नेपालले ओलीविरुद्ध ‘राजनीतिक हथौडा’ हान्न तयार नभएपछी पार्टी एकताको बारेमा सार्वजनिक गुनासो गर्दै ओलीसामू लम्पसार पर्न राजी भएको जनाउँ दिए । फलस्वरुप निकट भविष्यमा स्वास्थ्य उपचारको निम्ति सिंगापुर जान बाध्य अध्यक्ष ओलीले गत शुक्रबार पार्टी र सरकारको जिम्मा लिन आग्रह गरेसँगै नेकपा हाँक्ने अवसर पाउँदै छन । वामदेव मार्फत आफ्नो गुटको व्यवस्थापन गरेसँगै प्रचण्डलाई दिइने राजनीतिक ‘स्पेस’ पछि पार्टी एकता गरेकोमा मिडियासामू पश्चाताप गरेको पुरस्कार ओलीबाट प्राप्त गर्दै छन ।

कास्की उपनिर्वाचन र वामदेव :

पुर्वमन्त्री रविन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएसँगै रिक्त भएको कास्कीमा कमरेड वामदेव गौतमलाई उम्मेदवार बनाउने अध्यक्ष ओलीले संकेत गरिसकेका छन । पार्टी एकताको दौरान कमरेड प्रचण्डसँग सत्ता र शक्तिको बाँडफाँड गरेको चार बुँदेलाई भुत्ते बनाउने अध्यक्ष ओलीको रणनीतिक सोच अनुरुप कमरेड वामदेव गौतम कास्की चुनाव लड्न जानेछन । कमरेड गौतमलाई निर्वाचनमा विजयी बनाउँदै प्रचण्ड – नेपालको विरुद्ध राजनीतिक लडाई लड्ने ओली चाहना नबोलेर नै प्रकट भएको छ ।

उदाउँदै वामदेव :

०५१ साल तिर भण्डारीले भनेको भन्दै भन्ने गरिन्थ्यो, ‘ओलीलाई  जिम्मा लगाए लुलो हुन्छ, वामदेवलाई जिम्मा लगाए पार्टी धुलो हुन्छ ।’ लुलो कमरेड ओलीले आफ्नो चतुराँई प्रयोग गर्दै नेकपा एमालेको अध्यक्ष मात्र भएनन । दुई-दुई पटक मुलुकको प्रधानमन्त्री समेत बन्न सफल भए। आफ्नो सफलताको निम्ति वामदेवसँग गरेका वाचा कबुल ओलीले बिर्सीदिए। फलस्वरुप वामदेव गौतम ओलीसँग चिढिदैं टाढा पुग्दा नेकपामा ओली ‘लुलो’ हुन पुगे। आफ्नै कार्यशैलीको कारण पार्टी र सरकारको ‘कमजोर पर्फमेन्स’को कारण  सकियो भनिएका वामदेवको ॠण तिर्न कमरेड ओली विवश बने । प्रधानमन्त्री एवम अध्यक्ष ओलीले जीवनमा कसैको ॠण खाएर नमर्ने विचार गर्नासाथ कमरेड वामदेव एकाएक शक्तिशाली बन्न पुगेका छन । ओलीसँग जुधेर भन्दा मिलेरै जाँदा दिन दिनै थपिदैं गरेको गौतमको शक्तिमा पार्टीको उपाध्यक्ष, संगठन विभाग प्रमुख र किसान महासंघको अध्यक्ष मात्र हैन कास्की –२ को सभासद बन्दै प्रधानमन्त्री सम्मको यात्रा तय गरे अनौठो नहुन पनि सक्छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata