नेकपामा समानान्तर छट्पटी, अनिष्टको सङ्केत

नेपालपाटी टिप्पणी

मङ्लबार, कार्तिक ५, २०७६

- दीपेन्द्र पाण्डे



समस्या पछि समस्यामा पर्दै आइरहेका पूर्व सभामुख महरा र काँग्रेस नेता कृष्णप्रसाद सिटौला नर्भिक अस्पतालमा दिल खोलेर कुरा गरेको समाचार मिडियाको सम्पत्ति बनिसकेको छ । दुई कृष्णको ३० वर्षे लामो राजनीतिक सम्बन्ध प्रगाढ रहेको मान्नेहरू नर्भिकको बेडमा भएको भलाकुसारी महत्वपूर्ण नरहेपनि अर्थपरक भने मान्दै छन् । विगतमा पूर्व एमाले अध्यक्ष ओलीबाट राजनीतिक दाउपेचको सिकार बन्दै राजनीतिक मञ्चमा देखिन प्राविधिक कठिनाइ बेहोरेका कृष्ण सिटौला र प्रचण्डको आशीर्वादबाट अकस्मात शक्ति प्राप्त गरेका महराको बुझाइमा प्रधानमन्त्री ओलीप्रतिको समान धारणा वर्तमान समयमा अर्थपरक हुन् गएको हो । आफ्नो राजनीतिक जीवन धरापमा पार्ने खेलमा प्रधानमन्त्रीको हात देख्न पुगेका महराले झापाली कृष्णसँग नबोलेरै धेरै बताएका छन् । प्रधानमन्त्री ओलीप्रति असहमत सम्पूर्ण मानिसहरूलाई विवादमा तान्ने, फिल्मी शैलीमा उनीहरूको राजनीति ड्यामेज गर्ने अभियान प्रधानमन्त्रीले शुरु गरेको महशुस गर्ने दुई कृष्णको भलाकुसारी र व्यक्त धारणाहरू झनै डरलाग्दो देखिएको छ ।

प्रधानमन्त्रीले महरालाई सभामुख बनेदेखि गुनासो र असहमति राखेको, अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन कम्प्याक्ट(एमसीसी) परियोजना संसदबाट अनुमोदन गर्न दबाब दिएको, संसद्मा काँग्रेसलाई प्रधानमन्त्रीले दिएको उपाधि ‘निम्छरो’ शब्द रेकर्डबाट हटाएको कारणले आज आफ्नो यस्तो हविगत बनाइएको भन्ने महराको आरोपले मुलुकको राजनीति दाउपेचबाट चल्दै गरेको पुष्टि भएको छ । महराले सिटौलासँग व्यक्त गम्भीर आरोप झनै डरलाग्दो देखिन्छ । प्रधानमन्त्री ओली ‘आफूसँग असहमत नेतालाई प्रतिशोध राख्नु हुँदो रहेछ ।’ भन्दै माओवादी शिविरमा भएको भ्रष्टाचारको विषय उठान गर्दै मानसिक तनाव दिने गरेको गुनासोले नेकपाभित्र सल्किएको भुसको आगोको स्तर झल्किएको छ ।

परिस्थिति यस्तो निर्माण गरिएको छ, महराहरूको निम्ति माधव नेपाल पराइ र कृष्ण सिटौला नजिक हुन् पुगेका छन् । पीडितको साथी पीडित एकै ठाउँमा भन्ने फर्मुला समेत लागू हुन हिच्किचाएको वर्तमान अवस्थामा प्राविधिक रूपमा नेकपा एक छ । पार्टीगत सोच र स्वार्थहरू समान छैनन्, व्यक्तिगत सोच र कुर्सी स्वार्थहरू समानान्तररुपमा फैलिएका छन् । नेकपामा ‘स्थायी लकिर र शङ्का’ ढलान भएका छन् । जसलाई मेट्न वर्तमान नेतृत्वबाट करिब असम्भव देखिन्छ । नेकपाभित्र नयाँ गुट ‘पूर्व’ भन्ने देखा परेको छ । विगतमा ओली, प्रचण्ड, माधव भनेजस्तै ढङ्गबाट वर्तमानमा पूर्व एमाले गुट, पूर्व माओवादी केन्द्र गुट मात्र होइन शक्ति गुमाएका र प्राप्त गरेकाहरू नेकपामा नयाँ नयाँ गुट जन्माउन व्यस्त छन् । पछिल्लो समय सभामुख चयन त्यसैको सिकार बन्दै गरेको नबोले पनी बुझिने विषय हो भन्ने राजनीतिक विश्लेषकहरूको धारणा छ ।

पछिल्लो समय अध्यक्ष प्रचण्डमा विचित्रको तर गम्भीर वैचैनी देखापारेको छ । उनको अभिव्यक्ति र बडी ल्याङग्वेजले नेकपाको राजनीतिमा ठुलै अनिष्टको सङ्केत गरेको छ । निर्वाचनपूर्व गरिएको पूर्व एमाले र माओवादी केन्द्रले बाडिचुँडी खाने भद्र सहमति लत्याइएको महशुस अध्यक्ष प्रचण्डले गर्दै आइरहेका छन् । जङ्गबहादुर राणाले बेलायत सवारीमा  भाइ बम बहादुरलाई प्रधानमन्त्री बनाउँदै आफ्ना प्रतिद्वन्द्वीलाई सँगै बेलायत लिएर गएकै ढङ्गबाट प्रधानमन्त्री ओलीले खेल खेलेको महशुस अध्यक्ष प्रचण्डले आफ्नै सह-योद्धासँग गरेका भलाकुसारीहरू मिडियामा चुहिइसकेका छन् । प्रधानमन्त्री ओलीले पार्टी एकताको लामो समय नेकपामा पूर्णता दिने कार्य थाँती राख्दै आफ्नो एकल वर्चस्व कायम गर्ने चाहनामा स्वास्थ्यको कारण आइपरेको समस्या अत्यन्त चलाखीपूर्ण ढङ्गले समाधान गर्दै शक्ति आर्जन गर्न सफल भएको प्रचण्ड बुझाई झनै गम्भीर छ ।

वामदेवको कारण एक समय अल्पमतमा परेका अध्यक्ष ओली रकमी कुरा र काम गर्दै नेकपाको शक्ति सन्तुलनमा जोगिएसँगै नयाँ खेलको शुरु गरेको पूर्व माओवादी केन्द्र खेमाले बुझ्न बाध्य भएको छ । अध्यक्ष प्रचण्डका अत्यन्त विश्वास पात्र पूर्व सभामुख महराको  कमजोरी चलाखीपूर्वक आमजनतासम्म पुर्‍याउने कार्यमा प्रधानमन्त्री ओलीको अदृश्य हात रहेको प्रचण्ड र महराको समान बुझाई छ । माधव नेपालको डिमोसन गर्दै पूर्व एमाले पङ्क्तिमा र महराको अवसानसँगै प्रचण्ड पङ्क्तिलाई साइजमा राख्ने नवीन खेल शुरु भएको बुझ्नेहरू नेकपाको राजनीतिमा ‘रानीबेल’ कसले तोड्ने भन्ने अनिश्चित बन्दै छ । उधारो आश्वासन र उपाध्यक्ष पद दिएको कमरेड वामदेवको बुझाई र प्रधानमन्त्रीको स्वास्थ्यमा आएको सकारात्मक प्रभाव पछि अध्यक्ष प्रचण्डको छटपटाहट जायज नै मान्नु पर्दछ । प्रचण्डको अनुपयुक्त दबाब र अभिव्यक्तिलाई अध्यक्ष ओलीले आफूलाई लखेटेको महसुस गर्नु नेकपाको निम्ति झनै अनिष्ट हुने मान्न सकिन्छ ।

अध्यक्ष प्रचण्डले आफूलाई अधिकार दिन ओलीले इन्कार गरेको साथै आफ्ना हितैषीहरूको कमजोरी खोज्न शुरु गरेको महशुस गर्दै आफूलाई कमजोर बनाउन षडयन्त्र शुरु गरिएको अभिव्यक्ति दिएका छन् । अझ आलोपालो सरकारको नेतृत्व गर्ने समझदारी हुनेमा उनी विश्वस्त हुन् सकेका छैनन् । अधैर्य मन लिएर सचिवालय सदस्य इश्वर पोखरेलको  निवाससम्म पुग्ने,  सडक र जङ्गलको राजनीति गर्दा कठिन जीवन बिताउन सक्ने तर सत्तामा पुगेपछि विचित्रको सुविधा भोगी हुने कम्युनिष्ट चरित्र उल्लेख गर्ने, आवश्यक परे र कार्यकर्ताले साथ दिए फेरी जङ्गल जान सक्ने जस्ता उतारचढावपूर्ण क्रियाकलाप उनीबाट हुनुले अध्यक्ष ओली प्रचण्डसँग रुष्ट रहेको मान्न सकिन्छ ।

चार अङ्कमा सभासद, तीन अङ्कमा मन्त्री र छ जना प्रधानमन्त्री उत्पादन गर्न सक्ने नेपाली वाम आन्दोलन वर्तमान समय शरीर मात्र भीमकाय बनाएर बसेको छ । समाजवाद र समृद्धि गायत्री मन्त्रकै शैलीमा कण्ठस्थ पारेका वाम नेताहरू आशीर्वाद बिना कहिँकतै नपुग्ने अवस्थामा रहेका छन् । संसदीय र हिँसागत राजनीतिको दौरान वामआन्दोलनले कमाएको नकारात्मकता वर्तमानमा कुर्सी दाउपेचको मसला बन्न पुगेको छ । आर्थिक अनियमितता र यौनसँग जोडिएका असङ्ख्य घटनाहरू जति लुकाए पनि देखा परेको पर्यै छ । नेकपाको कमजोरी भित्र पर्ने तथ्य बुझेर पनि नेतृत्वले शुद्धीकरण अभियानलाई समेत लुकाएको छ । माओवादी हिंसाको समय छाडा छोडिएको आर्थिक अराजकता र यौन दुरुपयोग पछिल्लो समय कसैको राजनीति समाप्त गरिदिने कारण बन्दै गरेको महशुस व्याप्त हुँदैछ । नेकपाको राजनीतिमा विचित्र ढङ्गले हाबी भएको कुर्सी राजनीतिले ठुलै अनिष्ट नबेहोरेसम्म थामिने छाँटकाँट देखिएको छैन ।

नौलो जनवाद, समाजवाद र साम्यवादको नशामा झुम हुँदै गरिएको उग्र वामभड्कावको कारण जीवनको अत्यन्त उर्वर र रोमाञ्चक समय जेलमा व्यतीत गर्न परेको पीडा वर्तमानका प्रधानमन्त्रीले नबुझे कसले बुझ्लान् ? १४ वर्षीय जेलवासमा गुमाएका सम्पूर्ण आशा, उमङ्ग र रसरङ्ग फिर्ता लिन नपाएपनि कुर्सीको असीम आनन्द लिन किन पछि पर्ने ? अव्यक्त धारणाहरू व्यवहारमा प्रकट भएको महशुस राजनीतिमा कटु सत्य बनेर स्थान जमाएको छ । वर्तमानमा प्राप्त नेकपाको राजनीतिक सफलता आफ्नै बलबुतामा ल्याएको मान्ने प्रधानमन्त्रीको फिल्मी सोच यदाकदा प्रकट भएकै छन् । नेकपाको भविष्य जस्तोसुकै भए पनि आफ्नो जीवनको तमाम सपना किन खराब गर्ने भन्ने नवीन सोच डरलाग्दो ढङ्गले झाँगीदै गइरहेको छ । पार्टी र जनता केवल भन्ने कुरा न हुन् भन्ने धारणा दुवै अध्यक्षहरूमा समान र समानान्तर ढङ्गले अघि बढेको छ । व्यक्तिगत कमजोरीको इट्टामा निर्मित राजनीतिक घर भत्काइदिने सोच हाबी भएको वर्तमान समयमा नेकपा राजनीति सही ढङ्गले चल्न करिब मुस्किल देखिन्छ । दुई सदस्यीय नेकपामा टाउको मिले सबै मिल्छ भन्ने सोच नै घातक अवस्थामा पुगिसकेको मान्न जति ढिला हुन्छ, त्यति नै नेकपाको आयू छोट्टिने कारण बन्नेछ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata