हेडसर नियूक्तिमा सकस !

नेपालपाटी टिप्पणी

मङ्लबार, साउन १४, २०७६

- भूपेन्द्र शाह



काठमाडौं । विश्वको वाम आन्दोलन रक्षात्मक भइरहेको अवस्थामा नेपाली वामहरुद्वारा  मुलधारको राजनीतिमा स्थापित भइराख्ने रणनीति अनुरुप वाम एकतालाई मूर्त रुप दिने प्रक्रिया थालियो । फलस्वरुप तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रले तमाम असमझदारीलाई थन्काउदै चुनावी साझेदारी गर्दै मैदानमा उत्रिए । साझा चुनावी घोषणापत्र तयार गर्दै निर्वाचनमा होमिएका दुई वाम पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन पश्चात पार्टी एकता गर्ने  भाषण दिँदा प्राप्त उर्जा संसदीय अंक गणितमा बदल्न सफल भए ।

निर्वाचन पश्चात प्राप्त संसदीय सफलताले जन्माएको अभिमानकै बीच दुवै पार्टीका कार्यकर्ताहरुले दिएको दवाब स्वरूप केपी ओली र प्रचण्ड आन्तरिक लेनदेन गर्दै पार्टी एकता गर्न तयार भए । आन्तरिक बाध्यता र विदेशी प्रभावलाई चलाखीपूर्वक एकताको रातो कार्पेटले छोप्दै २०७५ साल जेठ ३ गते नेकपाको घोषणा गर्न दुई नेता राजी भए ।

फरक फरक पृष्ठभूमीबाट आएका दुई वाम पार्टी बाध्यात्मक रुपले एक हुन् बाध्य भएपनि पार्टीलाई आफ्नो स्वार्थ अनुरुप कब्जा गर्नु उनीहरुको एक मात्र लक्ष्य रहेको नबोलेरै व्यवहारमा देखिएको मान्न  १४ महिनासम्म अल्झिएको पार्टीको पूर्ण एकतालाई लिन सकिन्छ । सत्ता संचालन र  वाम एकता गर्न जनताले स्पष्ट बहुमत दिएसँगै बाध्यात्मक रुपले हतारिएका दुई नेता सत्ता र पार्टी सञ्चालनको जिम्मेवारीमा भने नराम्रोसँग चुकेका छन् । जसको कारण  नेकपामा पार्टीका थुप्रै काम अलपत्र अवस्थामा छन । पार्टी एकता घोषणा गरेको करिव १४ महिना बितिसक्दा पनि ६०-४० को ह्यांगओभरबाट मुक्त हुनुको सट्टा गुटगत प्रवृत्तिले थला परेका छन् ।

पार्टी एकताकाको सम्पूर्ण जिम्मा नौ सदस्यीय सचिवालयलाई सुम्पेको भए पनि नेकपाका दुई पाइलटका कारण एकता अझै टुङ्गिन सकिरहेको छैन । केन्द्रिय सदस्य, प्रदेश इन्चार्ज र अध्यक्ष, जिल्ला इन्चार्ज र सहइन्चार्ज टुङ्ग्याउन सफल नेकपामा हाल हेडसर अर्थात नेकपाको स्कुल विभाग कसले लिने भन्ने बारेमा विचित्रको  ‘सकस’ देखिएको छ ।

स्कुल विभागमा पूर्व एमालेबाट इश्वर पोखरेल र घनश्याम घुसालले दावी गर्दै आएका छन भने पूर्व माओवादी केन्द्रबाट पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठको दाबी रहेको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले इश्वर पोखरललाई अघि सार्ने वित्तिकै स्थायी कमिटी सदस्य घनश्याम भुसालले  आफू पूर्व एमालेको नौं महाधिवेशनबाट स्कुल विभाग हाँकेको स्मरण गराएका छन् ।

स्कुल विभाग टुङ्ग्याउन असफल सचिवालय बैठक पटकपटक स्थगित हुनुले नेकपा भित्र पाकेको आन्तरिक खिचडी ‘निशाना  कहिँ तीर कहिँ’ भन्ने भनाइसँग ठ्याक्कै मेल खान्छ । प्रजातन्त्र प्राप्तिसँगै संसदीय राजनीतिको आहालमा डुबेको पूर्व एमाले र लोकतान्त्रिक गणतन्त्रको नाममा हिंसाको भरमार खेती सम्पन्न गर्दै संसदीय आहालमा डुब्न हतारिएको माओवादी केन्द्रमा स्कुल विभागको निम्ति यति ठूलो रडाको मच्चिनु आफैंमा अनुपयुक्त र असान्दर्भिक मान्न सकिन्छ । जुनसुकै विचार, सिद्धान्त वा कार्यक्रम भने पनि एक मात्र लक्ष्य कुर्सि प्राप्ति रहेको दुई वामको मिलनको केन्द्रबिन्दु आम मानिसले बुझीसकेको अवस्थामा स्कुल विभागको लडाई केवल जुँगाको लडाई शिवाय केहि होइन भन्ने मान्न आम कार्यकर्ता तयार नै छन् ।

आगामी महाधिवेशन केन्द्रित राजनीति र दुई नेताको गुटगत स्वार्थलाई जसरी भएपनि आफ्नो पक्षमा ढाल्ने रणनीतिको शिकार बनेको नेकपा आन्तरिक राजनीति जति छिपाए पनि खुल्ला किताब बनिसकेको छ । पटकपटक गृहकार्य नपुगेको भन्दै बहुमूल्य समय खेर फाल्न तम्सिएको नेतृत्वको असली स्वार्थ आगामी महाधिवेशन केन्द्रित रहेको बुझ्न नेता योगेश भट्टराईको ट्वीट सहयोगी हुनेछ । ३२ विभाग मध्ये स्कुल विभागमा कुरा नमिलेपछि नेकपा नेता भट्टराईले ट्वीट मार्फत दुनियाँमा गूरुलाई मर्यादित रुपमा लिएको भए पनि विश्व विद्यालयका कतिपय शिक्षकका कारण आस्था घटिरहेको टिप्पणी गरे । उनले स्कुल विभागले पार्टी प्रतिको आस्था र विश्वास कायम हुनेमा विश्वास व्यक्त गरेका छन् ।

नेकपाका दुई पाइलट मानिएका अध्यक्षद्वय नै स्कुल विभाग नटुंग्याइकन विदेश भ्रमणमा निस्कने भएपछि कार्य विभाजन प्रक्रिया अझै केहि समय लम्बिने निश्चित भएको छ । पार्टी अध्यक्ष प्रचण्ड मंगलबार दुबई प्रस्थान गरेका छन भने अर्का अध्यक्ष केपी शर्मा ओली १८ गते सिंगापुर जाने  जनाइएको छ । साउन महिना भित्रै पार्टी एकताका सम्पूर्ण काम टुंगाउने  प्रतिबद्धता व्यक्त गरेका अध्यक्षद्वय नै विदेश सवार हुनेभएपछि तत्कालको लागि नेकपा पूर्ण एकता अलपत्र बन्ने चिन्ताले कार्यकर्ता निराश भएका छन् ।  हेडसर नियुक्ति गर्न सकसमा परेका अध्यक्षद्वय स्कुल र विद्यार्थीलाई अलपत्र छाडेर हिडेपनि नेकपाको एकताले ढिलो-चाँढो पूर्णता पाउनेमा कार्यकर्ताहरु ढुक्क छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata